कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेप्टिक ट्यांकमा खस्दा चार बच्चाको मृत्यु

छुट्टी भइसकेपछि खेल्न फेरि विद्यालय गएका बेला दुर्घटना 
मनोज बडू

दार्चुला — नौगाड गाउपालिका ४, सिप्टीस्थित गणेश विनायक माविमा शौचालयको सेप्टिक ट्यांकभित्र खसेर चार बालबालिकाको मृत्यु भएको छ । ट्यांकमाथि थुपारिएको माटोमा खेल्दाखेल्दै खसेर पुरिँदा ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ९ वर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्नाको मृत्यु भएको हो । 

सेप्टिक ट्यांकमा खस्दा चार बच्चाको मृत्यु

प्रहरीका अनुसार दिउँसो पढीवरी घर र्फकेका उनीहरु फेरी खेल्न विद्यालय गएका थिए । '४/५ वर्ष पहिले बनेको शौचालयको सेप्टिक ट्यांकमाथि माटो थुपारिएको थियो, त्यहीँ खेल्दाखेल्दै बढी भारले भत्किँदा बालबालिका पुरिएको पाइयो,' सिप्टी चौकीका इन्चार्ज देवदत्त भट्टले भने ।


मंगलबार साढे ३ बजेतिर दुर्घटना हुँदा विद्यालय छुट्टी भइसकेको थियो । दिउँसो १ बजेपछि विद्यालय बन्द गरेर शिक्षकहरू बाटो लागेपछि नजिकै घर रहेका उनीहरू खेल्न गएका थिए । घटना थाहा पाएपछि उद्धारमा प्रहरी र स्थानीय खटिएका थिए । 'तर उनीहरूलाई निकाल्न ३ घण्टाभन्दा बढी लाग्यो,' वडा नं. ४ का लोकेश ठगुन्नाले भने, 'त्यतिञ्जेलमा निसासिएर उनीहरूको प्राण गइसकेको थियो ।' बालबालिकालाई माटोले थिचेको हुनाले उद्धारमा ढिलाइ भएको स्थानीयको भनाइ छ ।


गणेश विनायक माविमा यही वर्ष सांसद विकास कोषको ४० लाख बजेटबाट उपभोक्ता समितिले खेल मैदान निर्माण गरेको छ । खेलमैदान सम्याउने क्रममा निकालिएको माटो पुरानो शौचालयको सेप्टिक ट्यांकमाथि थुपारिएको थियो । स्थानीयका अनुसार ५ वर्षदेखि प्रयोग विहिन शौचालयको सेप्टिक ट्यांक करिब १२ फिट गहिरो थियो ।


सुदिशका बुबा जनकसिंह यार्सागुम्बा संकलनका लागि लेकतिर, अनुस्काका बुवा कृष्णसिंहका काम विशेषले धनगढी, युनिकाका बुवा मानसिंह मजदुरीका लागि भारततिर गएका छन् । निरुताका बुबा माने ठगुन्ना मात्र गाउँमा छन् । 'सबैको घरमा रुवाबासी चलेको छ,' स्थानीय जगतसिह ठगुन्नाले भने, 'कसरी घटना घट्योभन्दा पनि घर परिवारका सदस्यहरुलाई सान्त्वना दिनमै लागिपरेका छौं ।'

प्रकाशित : जेष्ठ २८, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?