हरेक बार, खाना चार

खाडाचक्र नगरपालिकाले कुपोषण हटाउन टोलटोलमा स्थानीय उत्पादनबाट सन्तुलित खाना बनाउन र खान सिकाइरहेको छ ।
तुलाराम पाण्डे

(कालिकोट) — आमा र बालबालिकामा कुपोषण हटाउन खाडाचक्र नगरपालिकाले ११ वटै वडामा ‘हरेक बार, खाना चार’ अभियान सुरु गरेको छ । स्थानीय खाद्य, तरकारी तथा फलफूल संकलन गरेर पकाउने र खाने विधिबारे टोलटोलमा प्रदर्शनी गर्दै अभियान सुरु गरिएको हो । 

नगरपालिकाले गाउँगाउँमा कोदो, हरियो साग, फर्सी र फापरको ढिँडो, हलुवा बनाउने विधि महिलालाई सिकाइरहेको छ । सेतो चामल, चाउचाउ र बिस्कुटले कुपोषण निम्त्याएको भन्दै सुनौलो हजार दिनका आमा (सुत्केरी, गर्भवती महिला र बालबालिका) लाई लक्षित गरी परिकार बनाएर खान सिकाउन थालिएको हो । खाडाचक्र–४ की जाल्का विश्वकर्माले घरमै पाइने कोदो, फापर, रातो फर्सी, सागपात र गेडागुडीमा पाइने भिटामिनबारे पहिलो पटक जानकारी पाएको बताइन् । ‘खाना खान पनि जानेका रहेनछौं, बल्ल थाहा भयो,’ उनले भनिन्, ‘कोदोको सुक्खा रोटी मात्र खाने चलन थियो, अब ढिँडो र हलुवा बनाएर खान्छौं ।’

स्वास्थ्य स्वयंसेविका र आमा समूहका सदस्यले गाउँबाट संकलन गरिएको कोदो, मकै, गहुँ, फापरको पिठोबाट हलुवा र ढिँडो बनाउन सिकाउने गरेका छन् । सागपात, ताजा तरकारी, कुखुराको अन्डा पकाएर खान र खुवाउन पनि सिकाउने गरिएको नगरपालिकाले जनाएको छ ।

मौसमी र बेमौसमी फलफूलसहितका पोषणयुक्त खाद्य परिकारबारे चेतना दिन स्वास्थ्यकर्मीर् र कृषि प्राविधिक टोलटोलमा पुगेको स्वास्थ्य शाखा संयोजक रवीन्द्र सेजुवालले बताए । उनले नगरले सुनौला हजार दिनका महिला लक्षित गरे पनि अन्य व्यक्तिले समेत पोषण र खाद्य आनीबानीबारे शिक्षा पाएको बताए ।

गर्भवती महिलामा रक्तअल्पतता र ५ वर्षमुनिका बालबालिकामा कुपोषण अत्यधिक देखिएकाले अभियान सुरु गरिएको नगरले जनाएको छ । बहुक्षेत्रीय पोषणका लागि ३३ लाख २५ हजारसहित ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । मान्म, दाहा, पाखा, बदालकोट, जिम्मजेडी, रेगिंल, बरातु र भर्तालगायत सबै वडामा कार्यक्रम सञ्चालन गरिएको सेजुवालले जानकारी दिए । ‘सुनौला हजार दिनका आमा समेटी गठन भएका समूहमा गएर सन्तुलित भोजनबारे जानकारी दिन्छौं,’ उनले भने, ‘टोलटोलमा पुगेर परिकार बनाउने तरिकासमेत सिकाइरहेका छौं ।’

स्थानीय उत्पादनलाई बेवास्ता गरेर खाद्य संस्थानको चामलमा स्थानीय बासिन्दा भर पर्न थालेकाले अभियान सुरु गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘स्थानीयले कोदोलाई हेलाँ गर्छन्, अधिकांशले मकै खानै छाडिसके,’ उनले भने, ‘रैथाने बालीको महत्त्व बुझाउन पनि कार्यक्रम सञ्चालन गरिएको हो ।’ नगर उपप्रमुख विजया विष्टले ताडी, बद्रीगाउँ, पिली, मान्मको मेग्र र रेगिलमा आयोजना गरिएका कार्यक्रममा आफैं संलग्न भएको बताइन् । ‘गाउँबाट संकलित अन्न, तरकारी र फलफूलको महत्त्व बुझाउँदै मात्रा मिलाएर पकाउन र खान गाउँमा सचेतना दिइरहेका छौं,’ उनले भनिन् ।

छोरीमा कुपोषण बढी
जिल्लामा छोराछोरीबीच विभेद चर्को छ । छोरी जन्माउने आमालाई हेलाँ गर्ने र पोषणमा ध्यान नदिने प्रवृत्ति छ । एक अध्ययनअनुसार लैंगिक विभेदले उचित खानपिन र स्याहारसुसारमा ध्यान नपुर्‍याउँदा छोरीमा बढी कुपोषणको समस्या देखिएको हो । शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममार्फत गरिएको अध्ययनअनुसार कालीकोटका केही स्थानीय तहमा ४ सय ५६ जनामा कडा कुपोषण भएका बालबालिका भेटिएका छन् ।

बालकभन्दा दुई गुणा बढी बालिका कुपोषित रहेको पाइएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख कटकबहादुर महतले बताए । उनका अनुसार कालीकोटमा दुई वर्षअघि ९ सय ३३ जना मध्यम कुपोषण भएका बालबालिका पहिचान भएको थियो । सर्वेक्षणअनुसार कडा कुपोषण भएकामध्ये १ सय ५२ बालक र ३ सय ४ बालिका फेला परेका हुन् । उनीहरू सबैको उमेर ६ महिनादेखि ५ वर्षसम्म थियो ।

अशिक्षा, अज्ञानता, विभेद, महिलामाथिका हिंसाले बालकको तुलनामा बालिकामा बढी कुपोषण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । सबैभन्दा बढी कडा कुपोषण भएका बालबालिका पलाताको धौलागोहमा भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । धौलागोहमा मात्रै ६४ जना बालबालिकामा कडा कुपोषण भएको भेटिएको थियो । कार्यालयका अनुसार जिल्लाभर १७ प्रतिशत बालबालिका अति कुपोषित छन् ।

कालीकोटको खाडाचक्र–४ बद्रीगाउँमा स्थानीय उत्पादनको खाद्य परिकार बनाएर आफ्नो शिशुलाई खुवाउँदै आमा ।तस्बिर : तुलाराम/कान्तिपुर

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एमबीबीएस प्रवेश परीक्षामा विवाद

प्रदीप मेन्याङ्बो

(सुनसरी) — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगका सहअध्यक्षसमेत रहेका उनले प्रतिष्ठानका उपकुलपतिले डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् ।

प्रतिष्ठानले एमबीबीएस/बीडीएस प्रवेश परीक्षा साउन १८ गते र एमडीएस/एमडीएमएसको प्रवेश परीक्षा असार २२ गते तोकेर फारम वितरण गरिसकेको थियो । ‘विगतका वर्षमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरी परीक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरीयता कायम राखी काम कारबाही अगाडि बढाउन हुन निर्देशन दिएको छु,’ पोखरेलले पठाएको निर्देशनपत्रमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगमा उपकुलपतिले बदनियतपूर्वक डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकाले तत्काल प्रवेश परीक्षासम्बन्धी कामस्थगन गरी छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्न माग उजुरी परेको थियो ।

आयोगका सहअध्यक्षका हैसियतले मन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई निर्देशन दिँदै पत्रमा भनेका छन्, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा चिकित्सा क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने व्यक्तिको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोग वा तोकेको संस्था वा निकायले सञ्चालन गर्नेसमेतको व्यवस्था छ ।’ आयोगले पठाएको निर्देशनपत्रबारे आफूलाई जानकारी नभएको प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले बताए । ‘मलाई आयोगले दिएको निर्देशनपत्रबारे केही जानकारी छैन,’ उनले भने, ‘पत्र पाएपछि मात्र आफ्नो धारणा राख्छु ।’

यसअघि उपकुलपतिकै क्षेत्राधिकारअनुसार परीक्षा समिति गठन भएर एमबीबीएस र बीडीएका प्रवेश परीक्षा सम्पन्न हुने गरेको उनले बताए । ‘यसअघिका कतिपय प्रवेश परीक्षामा धेरै विवाद आएकाले त्यसबाट पाठ सिक्दै यसपटक कसैले प्रश्नै गर्न नसक्ने गरी कडाइका साथ प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. गुरु खनाल र रजिस्ट्रार तुलबहादुर श्रेष्ठसँग उपकुलपति रौनियारको तालमेल नमिल्दा विवाद उत्पन्न भएको हो ।

उपकुलपति रौनियारले विदेशी विद्यार्थीलाई बढीभन्दा बढी आकर्षित गरेर प्रतिष्ठानको आर्थिकस्तर उकास्न चाहेको तर त्यसमा शिक्षाध्यक्ष खनालसँग तालमेल नमिल्दाआफ्नो अधिकार प्रयोग गरी डिन डा. सीभी झाको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेपछि विवाद सतहमा आएको हो ।

असन्तुष्ट शिक्षाध्यक्ष खनालले प्रतिष्ठानको शिक्षाध्यक्षले परीक्षा, पठनपाठन, विद्यार्थी भर्नाको क्षेत्र हेर्ने अधिकार नै विधानमा उल्लेख भएको दाबी गरे । ‘तर मलाई यसपटक हुन लागेको प्रवेश परीक्षाबारे कुनै जानकारीदिइएन,’ उनले भने, ‘मसँग समन्वय नै गर्नुभएन ।’

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्