कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मत्स्येन्द्रनाथका ३१ पुजारीको चेतावनी– 'विधेयक फिर्ता नभए सामूहिक राजीनामा’

प्रशान्त माली

ललितपुर — बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका ३१ पुजारीले सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । दैनिक नित्य पूजा, चारपटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबर्जस्ती पारित गरिए मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् ।

मत्स्येन्द्रनाथका ३१ पुजारीको चेतावनी– 'विधेयक फिर्ता नभए सामूहिक राजीनामा’

रातो मत्स्येन्द्रनाथ ३२ पानेजु संघअन्तर्गत ३१ पुजारी छन्, ७ बज्राचार्य र २४ शाक्य कुलका । उनीहरू प्रत्येक १५ दिन पालैपालो मन्दिरमा खटिन्छन् । त्यसबापत प्रत्येकलाई १० देखि १५ रोपनी खान्की जग्गाको व्यवस्था गरिएको छ । पुजारीका लागि छुट्याइएको जग्गा व्यक्तिको हुँदैन । जो पुजारी छ, उसले भोगचलन गर्ने हो ।


पाटन तःबहालस्थित मत्स्येन्द्रनाथ मन्दिरको पूर्वपट्टि श्रीनिवास मल्लका पालामा राखिएको शिलालेखमा पुजारीलाई दिइने खान्की जग्गाबारे उल्लेख छ तर त्यसअनुसार उनीहरूले जग्गा भोगचलन गर्न पाएका छैनन् । पुजारीका लागि छुट्याइएको २ सय ५८ रोपनी जग्गा अहिले मोहीले भोगचलन गर्दै आएका छन् । त्यसबापत उनीहरू पुजारीलाई कुत बुझाउँछन् ।


गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा मोहीले भोगचलन गर्दै आएको जग्गा मोहीकै नाममा जाने व्यवस्था राखिएपछि पुजारीहरू आक्रोशित भएको पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । विधेयकको परिच्छेद ९ मा मोहियानी हक र रैतानीसम्बन्धी व्यवस्था छ । मोहियानी हकको व्यवस्थाअनुसार भोगचलन गरेको जग्गामध्ये आधा मोहीको हुन्छ भने रैतानी व्यवस्थाअनुसार पूरै उसैका नाममा जान्छ ।


विधेयकको दफा ६ मा मोही लागेको गुठी अधीनस्थ जग्गामा मोही र गुठीलाई आधा–आधा हुने गरी प्रचलित कानुनबमोजिम बाँडफाँट गर्ने उल्लेख छ । दफा (७) मा उपदफा (६) बमोजिम मोहीको भागमा आउने आधा जग्गा मोहीका नाममा रैतानी परिणत जनाई, गुठीको भागको आधा जग्गा गुठी तैनाथी जग्गाको लगतमा दर्ता गर्ने गरी बाँडफाँट गर्नुपर्ने उल्लेख छ । दफा ८ मा उपदफा (७) बमोजिम बाँडफाँट गर्दा गुठीका भागमा परेको आधा जग्गासमेत सम्बन्धित मोहीले गुठी रैतान नम्बरी जग्गामा परिणत गराउन चाहेमा रजिस्ट्रेसन प्रयोजनका लागि न्यूनतम मूल्यको २५ प्रतिशत रकम बुझाएर लिन सक्ने व्यवस्था छ ।


विधेयक पारित भए मोहीले सम्पूर्ण जग्गा व्यक्तिका नाममा दर्ता गर्ने र क्रमशः गुठीहरू बन्द हुँदै जाने पुजारीहरूको चिन्ता हो । संघका अध्यक्ष शाक्यका अनुसार सर्वोच्च अदालतले रैतानी बन्द गर्न २०६४ मै दिएको फैसलालाई समेत विधेयकमा बेवास्ता गरिएको छ ।


रातो मत्स्येन्द्रनाथका ३१ पुजारीमध्ये प्रत्येक वर्ष जात्रा सञ्चालनका बेला दुई जना रथमा बस्छन् । रथमा बस्ने पुजारीको व्यक्तिगत ५ देखि ६ लाख रुपैयाँसम्म खर्च हुन्छ । अघिल्लो साता सकिएको एकमहिने जात्रामा अष्टराज शाक्य र माणिकराज शाक्य रथमा बसेका थिए । यसरी व्यक्तिगत रूपमा खर्च हुने ठूलो रकममा भरथेग गर्नुको साटो मन्दिर सञ्चालनका लागि छुट्याइएको जग्गासमेत खोस्ने गरी विधेयक ल्याइएकामा उनीहरू असन्तुष्ट छन् ।


‘रथ जात्रा गर्नुअघि विघ्नबाधा हटाउन आफन्तबाट अनिवार्य रूपमा सगुन लिनुपर्ने परम्परा छ, सगुन त्यसै लिन मिल्दैन,’ संघका अध्यक्ष शाक्यले भने, ‘कुमारी पूजा आयोजना गर्नॅपर्छ । पूजामा पानेजु संघमा आबद्ध परिवारजन, आफन्त र छरछिमेकी बोलाएर ३ दिनसम्म होमजप पूजा गरी प्रसादग्रहण गराउनुपर्छ । यसका लागि कम्तीमा डेढ लाख रुपैयाँ खर्च हुन्छ ।’


परम्पराअनुसार ६ महिनासम्म आफ्नै खर्चमा मन्दिरवरिपरि भूत पन्छाउन ‘बौहोली गु’ पूजा गर्नुपर्छ । रथारोहणअघि रथ लैजाने रुटको १४ वटा डबलीमा यची (विशेष पूजा) र पीठ पूजा गर्नुपर्छ । जावलाखेलस्थित गणेश मन्दिर, स्वयम्भूनाथस्थित शान्तिपुर मन्दिर, कटुवाल दहमा छुट्टै पूजा गर्नुपर्छ ।


पलिस्था पूजा, देःभु पूजा गरेर रथमा बेतको काम गर्ने यवाल र काठको काम गर्ने बाराहीलाई पनि भोज खुवाउनुपर्छ । यीबाहेक मत्स्येन्द्रनाथ जात्रासँग सम्बन्धित सम्पूर्ण काम आफ्नै खर्चमा गर्नुपर्ने उनले बताए । ‘एकपटक रथमा बस्दा कम्तीमा ५ देखि ६ लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘मत्स्येन्द्रनाथ गुठीका नाममा रहेका र मोहीले भोगचलन गरिरहेका जग्गा रैकरमा परिणत गरे जात्रा बन्द गर्नॅपर्ने अवस्था आउँछ ।’


मठमन्दिर तथा देवीदेवता सञ्चालनका लागि विभिन्न राजाका पालामा छुट्याइएको जग्गा जुन उद्देश्यका लागि प्रयोग हुँदै आएको थियो, विधेयकले त्यसलाई अवरुद्ध गर्न लागेको संघका उपाध्यक्ष नरेन्द्रमान शाक्यले बताए । उनका अनुसार त्यतिबेला खान्की जग्गाका रूपमा दिइएको १० रोपनी एकै परिवारले भोगचलन गर्न गाह्रो पर्‍यो, केही जग्गा पुजारीले छरछिमेकी र आफन्तलाई मौखिक रूपमा भोगचलन गर्न दिए । पछि १९९७ मा संकलन गरिएको लगतमा ती भोगचलन गर्ने व्यक्तिको नाम जनियो ।


२०२१ मा नापी हुँदा थप मोहीको नाम जोडियो । बीचमा सरकारले भूमिसम्बन्धी ऐन ल्याएर मोहियानी हक दिने व्यवस्था गर्‍यो तर गुठी संस्थानले रैतानी गर्ने व्यवस्था ल्यायो । ‘यसपछि गुठीको आधा जग्गा व्यक्तिका नाममा दर्ता भयो, अहिले फेरि रैकरमा परिणत गर्ने नियम ल्याएर गुठी जग्गा हडप्न खोजिएको छ,’ उनले भने, ‘हामीलाई यो मान्य छैन ।’ विधेयक जबर्जस्ती पारित गरिए आफूहरू सामूहिक राजीनामा दिन बाध्य हुने उनले बताए । विधेयकले पुजारीहरूलाई जागिरेजस्तो बनाउन खोजेको भन्दै उनले आपत्ति जनाए । ‘धार्मिक परम्परा र संस्कृतिअनुसार बस्ने पुजारीलाई जागिरसँग तुलना गर्न खोजिएको छ,’ उनले भने, ‘पुजारी बन्नु जागिर होइन । यो शिक्षादीक्षा र वंशजका आधारमा हुने कुरा हो ।’


पुजारी मात्र नभई मत्स्येन्द्रनाथको रथ बनाउन आवश्यक काठ लिन जाने बोसी गाउँवासी पनि चिन्तित छन् । त्यहाँ २५ घरधुरी छन् । प्रत्येक घरका सदस्य मत्स्येन्द्रनाथ गुठीका रकमी हुन् । उनीहरूको जिम्मेवारी प्रत्येक वर्ष सरकारले तोकेको जंगलमा पुगेर रथ बनाउन चाहिने आकारअनुसारको काठ तयार पार्ने हो । यस काम गरेबापत उनीहरूलाई मल्ल राजाले खान्की जग्गाको व्यवस्था गरेका थिए । जग्गाबाट भित्रिने कुतबाली उनीहरूको जीविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत हो ।


विधेयकले जग्गा रैकरमा परिणत गर्ने नियम ल्याएपछि उनीहरू पनि दुःखी बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रवक्ता जनकराज जोशीले रैकरमा परिणत गर्ने व्यवस्थाबारे मन्त्रालयमा छलफल भइरहेको बताए । ‘अहिले पनि बैठकमा छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?