१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बाढीले लमजुङ-मनाङ जोड्ने पुल बगायो

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।

बाढीले लमजुङ-मनाङ जोड्ने पुल बगायो

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । मनाङबाट बेंसीसहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् ।


सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।


यस्तै, तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।


मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए ।


लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मर्स्याङदीतीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । पानीको बहाव बढ्दै गर्दा मर्स्याङदी नदी किनारमा नजान पनि उनले आग्रह गरे ।

प्रकाशित : असार ८, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?