चन्द समूहका ७ जना पक्राउ, १२ स्थानमा बम निष्क्रिय पारियाे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट ७ जना पक्राउ परेका छन् । २० स्थानबाट शंकास्पद वस्तु फेला परेको छ । 

काठमाडौं, कास्की, मकवानपुरबाट एक–एकजना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द समूहको प्रचार सामग्रीसहित भागीराज राईलाई पक्राउ गरिएको छ। २० ठाउमा शंकास्पद वस्तु फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

३ ठाउँमा ग्यास सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निष्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए।

यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निष्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताए।

बन्दका क्रममा चार जिल्लामा सामान्य तोडफोड समेत भएकाे प्रहरीले जनाएको छ।

प्रकाशित : असार १०, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुर मतपत्र काण्डका दोषी नेकपा सदस्य चयन

रमेशकुमार पौडेल

चितवन — स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनामा कसुरदार ठहर भएका दुवैजना नेकपा चितवनको जिल्ला कमिटि सदस्यमा चयन भएका छन् । 

गत जेठ ३० गते द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई अदालतले मतपत्र काण्डमा कसुरदार ठहर गरेको थियो। उनीहरुको सजाय निर्धारण गर्न आउँदो सोमबार पेशी तोकिएको छ।

महानगरपालिकामा स्थानीय तह चुनावमा तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएका थिए। गठबन्धनको उम्मेदवार दाहाल र तत्कालीन एमालेबाट मेयर पदका उम्मेदवार देपवप्रसाद ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा भएका बेलामा भरतपुर–१९ को मतपत्र च्यातिएको थियो। मतपत्र च्यातिएपछि १९ नम्बर वडामा दोहर्‍याएर मतदान भएको थियो।

मतपत्र च्यातेर दोहर्‍याएर चुनाव गराउँदा दाहालको पक्षमा नतिजा गएको थियो। गणना सरासर सकिएको भए आफ्ना उम्मेदवारले मेयर जित्ने एमालेको दाबी रहने गरेको थियो।

यो प्रकरणपछि स्थानीय रुपमा मात्रै नभए केन्द्रीय तहमा नै एमाले र माओवादी केन्द्रबीच मनमुटाव बढेको थियो। पार्टी एकीकरण पछि मतपत्र च्यातेको काण्डमा दोषी ठहर भएकाले पनि जिल्ला कमिटिमा ठाउँ पाएका छन्।

नेकपा चितवनको १५५ सदस्यीय जिल्ला कार्य समितिले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट सपथ ग्रहण गरेका थिए।

जिल्ला समितिमा यो पटक जिल्लाको सिमान्तकृत आदिवासी समुदायमा पर्ने चेपाङ जातिबाट प्रतिनिधित्व छैन। चितवनमा पहाडी क्षेत्रमा चेपाङ र मैदानी क्षेत्रमा थारुहरु आदिवासी समुदाय हुन्। थारु समुदायबाट जिल्ला कमिटिमा सातजना सदस्य चयन भएका छन्।

गोरखा, धादिङ, मकवानपुर र चितवनको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाक्लो बसोबास छ। चारमध्ये सबैभन्दा धेरै चेपाङ चितवनमा बस्दछन्। चेपाङबाट मकवानपुरमा तीन, धादिङ र गोरखामा दुई–दुईजनाको प्रतिनिधित्व भए पनि चितवनमा एकजनाले पनि ठाउँ पाएका छैनन्।

प्रकाशित : असार १०, २०७६ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्