कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली मायामा साढे ४ लाख स्वाहा !

जनकराज सापकोटा

काठमाडौँ — दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई सुन्दर तस्बिर भएकी अपरिचित केटीले साथी बनाउन अनुरोध पठाइन् । नेपाली सेनाका जवान कार्की राम्री केटीको फोटो देखेर मख्खै परे । उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, केटी राम्री छे । अघि बढ्दा हुन्छ ।

नक्कली मायामा साढे ४ लाख स्वाहा !

केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरि मख्ख परे । उनीहरुबीच केही महिनासम्म लगातार सामाजिक सञ्जाल र फोनमा कुरा भयो ।


मायाप्रिती चलिरहेकै बेला एक दिन कल्पनाले सुनको लकेट ल्याएर हरिलाई दिँदै भनिन्, ‘तिम्री मायालुले पठाइदिएको ।’ मायालुबाट उपहार पाएपछि हरि त्यसै खुसी भए । माया झागिँदै गएका बेला एकदिन कल्पनाले भनिन्, ‘तिमीलाई माया गर्ने केटी दुर्घटनामा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकी छे । उपचार खर्च पठाइदिनुस् ।’ हरिले केही नसोची पटक–पटक गरेर मनी ट्रान्सफरमार्फत् ४ लाख ५५ हजार रुपैयाँ उपचार खर्च पठाइदिए । खर्च पठाइरहे पनि उनले माया गरेकी केटीसँग कुरा गर्न पाएनन् । हरिले एकदिन कल्पनालाई भने, ‘माया गर्ने केटीलाई भेट्नुपर्‍यो ।’ त्यसपछि कल्पना तर्किन थालिन् । कल्पनाले एकदिन सुनाइन्, ‘तिमीलाई माया गर्ने केटीको त उपचारको क्रममा भारतमा मृत्यु भयो ।’


त्यसपछि हरिलाई लाग्यो, कतै मायाको खेल नक्कली त थिएन । हरिले महानगरीय प्रहरी अपराध महाशाखामा घटनाको विवरण टिपाए । प्रहरी अनुसन्धानबाट खुल्यो, २३ वर्षीय कल्पनाले नै नक्कली फेसबुक आइडी खोलेर हरिसँग मायाको नाटक पनि गर्ने दोहोरो भूमिका खेलेकी रहिछन् । महाशाखाका एसपी सुशीलसिंह राठौरले यो ठगीको अनौठो घटना भएको सुनाए ।


राठौरका अनुसार कल्पनाले ठग्नकै निम्ती सुनजस्तै देखिने नक्कली सिक्री किनेर मायालुले पठाइदिएको भनेर हरिलाई दिएको तथ्य खुलेको बताए । प्रहरीले कल्पनालाई भक्तपुरको बालकोटबाट पक्राउ गरी ठगी मुद्दामा कारबाही अगाडि बढाएको छ ।


गत शनिबारमात्रै प्रहरीले फेसबुकमार्फत् नक्कली मायको नाटक रची भारतीय नागरिक जैन श्रीपालसँग २३ लाख ठगेको आरोपमा महोत्तरी औरी नगपालिका १ घर भई काठमाडौंको नरेफाँटमा बस्ने २१ वर्षीय युवती डायन सेकेन्डलाई पक्राउ गरेको थियो । यी दुवै घटनामा देखिने समानता भनेको, सामाजिक सञ्जालको प्रयोग र मायाको नाटक गरी पैसा धुत्ने खेल देखिन्छ ।


डायनले आफू सिंगापुरे नागरिक भएको बताउँदै भारत महाराष्ट्रका ३८ वर्षीय जैनसँग प्रेमको नाटक गरी काठमाडौं बोलाएर त्यतिका धेरै रकम ठगी गरेकी थिइन् । महाशाखाका एसएसपी सहकुल थापाले पछिल्ला घटनाहरुले ठगीको नयाँ प्रवृत्ति बढिरहेकोतर्फ संकेत गरेको बताए । उनले भने, ‘सामाजिक सञ्जाललाई हतियार बनाएर छिटो धनी बन्न खोज्ने प्रवृत्तिले अपराध जन्माइरहेको छ ।’

प्रकाशित : असार १०, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?