कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँसभा छाडेर जनप्रतिनिधि यार्चा टिप्न

प्रदेश ब्युरो

सुर्खेत — कर्णालीका कतिपय स्थानीय तहले हरेक असार १० मा आगामी वर्षको बजेट सभामा पेस गर्नुपर्ने प्रावधान लत्याएका छन् । जनप्रतिनिधिबीच आन्तरिक विवाद र तयारी अभावमा बजेट प्रस्तुत हुन नसकेको हो ।

गाउँसभा छाडेर जनप्रतिनिधि यार्चा टिप्न

हुम्लाको सिमकोटमा गाउँसभा सुरु भए पनि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन । उपाध्यक्ष बली रावत नै सभामा गइनन् । गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले सभा सञ्चालनमा प्राविधिक समस्या देखिएपछि अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए ।

हुम्लाका ७ स्थानीय तहमध्ये मंगलबार नाम्खा र सर्केघाटले मात्र सभा सुरु गरेका छन् । खार्पुनाथ गाउँपालिकाले केही दिनअघि उपाध्यक्ष सिन्धु हमाल शाहीको निधनका कारण सभा नगरिएको जनाएको छ । ताजाकोट, अदानचुली र चंखेलीले तयारी नपुगेका कारण केही दिनपछि सभा गर्ने जनाएका छन् । अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले गाउँसभा कहिले गर्ने भन्नेबारे अहिल्यै भन्न नसकिने बताए ।

मुगुका चार स्थानीय तहमध्ये सोरुले मात्र सभा सुरु गरेको छ । खत्याड गाउँपालिकाले बुधबारदेखि सुरु गर्ने जनाएको छ । जिल्लाको एकमात्र छायानाथ रारा नगरपालिकाको सभा वडाध्यक्षबीच विवादले हुन सकेन । वडाध्यक्षले योजना तर्जुमा गरेर नगर कार्यपालिकामा पेस गर्नुको साटो सिधै १ करोड बजेट मागेका कारण सभा निर्धारित मितिमा हुन नसकेको नगरप्रमुख हरिजंग शाहीले बताए ।

मुगुमकार्मारोङ गाउँपालिकामा यार्चाका कारण गाउँसभा हुन सकेन । ९ वटै वडाका कोही न कोही जनप्रतिनिधि यार्चा टिप्न लेकतिर गएका कारण उनीहरू फर्केर आएपछि मात्र सभा आयोजना गरिने गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार असार १५ पछिमात्र सभा सुरु भई बजेट पेस हुनेछ ।

जुम्लाका ८ स्थानीय तहमध्ये गोठीचौर, पातारासी र तातोपानी गाउँपालिकाले सोमबारै गाउँसभा सुरु गरेका छन् । चन्दननाथ नगरपालिका र अन्य चार गाउँपालिकाले मंगलबार सभा सुरु गरेका छन् । कालिकोटका ९ मध्ये ७ स्थानीय तहले ‘आवश्यक तयारी नपुगेको’ भन्दै ऐनले तोकेको म्यादभित्र नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।

पलाता गाउँपालिकाले विप्लव समूहको नेपाल बन्दले आवतजावतमा समस्या भएकाले बजेट ल्याउन नसकिएको जनायो । कर्मचारी अभाव र वडामार्फत योजना ल्याउन बाँकी रहेकाले बजेट सार्वजनिक गर्न नसकिएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । यद्यपि असार ३० सम्म बजेट ल्याएर पारित गरिसक्ने उनको भनाइ छ ।

यहाँका सबैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख नेकपाले मान्ममा आयोजना गरेको जिल्ला कमिटी सदस्यको शपथग्रहणमा भाग लिन सदरमुकाम मान्म आएका थिए । ‘केही जनप्रतिनिधि मान्ममै छन्,’ उनले भने, ‘अनि कसरी हुन्छ गाउँ–नगरसभा ?’

सान्नीत्रिवेणी गाउँपालिका त ७ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । यसले गर्दा सबै काम ठप्प छन् । गाउँपालिका अध्यक्ष डम्मरबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आधा बजेट खर्च गर्नै नसकिएको बताए । जिल्लाका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले मात्र निर्धारित मितिमा सभा सुरु गरी बजेट ल्याएका छन् ।

दैलेखका स्थानीय तहले मंगलबार औपचारिकताका लागि सभा सुरु गरे पनि ‘डल्लो’ बजेट पेस गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गरी असार मसान्तभित्र पास गरिसक्नुपर्छ । अन्यथा केन्द्रले अर्को वर्षका लागि अनुदान कटौती गर्ने प्रावधान छ । कर्णालीका ७९ स्थानीय तहमध्ये साबिक कर्णालीका स्थानीय तह भने ऐनको व्यवस्थाबाट चुकेका हुन् ।

(तुलाराम पाण्डे/कालिकोट, राजबहादुर शाही/मुगु, ज्योति कटुवाल/दैलेख र छपाल लामा/हुम्ला)

प्रकाशित : असार ११, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?