कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंजा सभ्यता जोगाउन जुटे स्थानीय

जुम्ला — ऐतिहासिक सिंजा सभ्यता जोगाउन स्थानीयले सक्रियता बढाएका छन् । त्यही सक्रियता देखेर सरकारी निकायले समेत रकम विनियोजन गर्न थालेका छन् । 

सिंजाको ऐतिहासिक महत्त्व जोगाउन स्थानीयले श्रमदानमार्फत विभिन्न संरक्षणका काम गरिरहेका छन् । फलस्वरूप सिंजामा ऐतिहासिक महत्त्वको खस भाषा संग्रहालय बन्ने भएको छ । यसका लागि वडा नम्बर २ विष्टवाडाका स्थानीयले ४ हजार वर्गमिटर जग्गा दान गरेका छन् ।


स्थानीय गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतीपुरा तिवारीले संग्रहालय निर्माणका लागि जग्गा निःशुल्क दिएका हुन् । ‘सिंजा आफैंमा ऐतिहासिक ठाउँ हो, भाषा र संस्कृतिको उद्गमस्थल भएकाले यसबारे बुझ्न धेरै मानिस यहाँ आउँछन्,’ स्थानीय तोयानाथ तिवारीले भने, ‘यसअघि पनि हामीले आफ्नै सक्रियतामा विभिन्न संरक्षणका काम गर्दै आएका थियौं ।’ महत्त्वपूर्ण एवं ऐतिहासिक सामग्री संकलन गरी एकै ठाउँमा राख्न समस्या भएकाले संग्रहालय निर्माण थालिएको उनको भनाइ छ ।


झन्डै ६ वर्षअघि चन्दननाथ भैरवनाथ गुठीको जग्गामा निर्मित कर्णाली संग्रहालय अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पुरातत्त्व विभागले साविक जिल्ला विकास समितिमार्फत संग्रहालय निर्माण गरेको थियो । सिंजा गाउँपालिका अध्यक्ष देवसिंह रावल र प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले संयुक्त रूपमा खस संग्रहालयको शिलान्यास गरेका छन् । संग्रहालय निर्माणपछि यहाँ पर्यटक बढाउन सकिने अध्यक्ष रावलले बताए ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालयले संग्रहालय निर्माणको काम अघि बढाएको छ । सिंजा क्षेत्रका शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत संरचना संरक्षणका लागि आफूहरूले पहल थालेको उपभोक्ता समितिका अध्यक्ष देवीकृष्ण तिवारीले बताए ।

प्रकाशित : असार ११, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?