कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललिता निवास जग्गा प्रकरण : अख्तियारले बयानका लागि बोलायो ८६ जनालाई [नामसहित]

कृष्ण ज्ञवाली

काठमाडौँ — काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । उक्त सूचीमा शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ‘भूमाफिया’ भनी किटान गरेका शोभाकान्त ढकाल, रामकुमार सुवेदीको परिवारसहितका व्यक्ति र शंकास्पद मोहीका नाम छन् ।

ललिता निवास जग्गा प्रकरण : अख्तियारले बयानका लागि बोलायो ८६ जनालाई [नामसहित]


‘सरकारले मुआब्जा दिई अधिग्रहण गरिलिएको ललिता निवास क्याम्पभित्र पर्ने २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाडौं, डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई’ अख्तियारले बुधबार गोरखापत्रमा निकालेको सार्वजनिक सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ ।’ अख्तियारले उनीहरूलाई आयोगमा सात दिनभित्र उपस्थित हुन सूचना निकाल्दै उपस्थित नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ ।

त्रिताल प्रतिवेदनले ललिता निवास प्रकरणमा दोषी किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा यसअघि नै अख्तियारले पुर्जी टाँसिसकेको छ । बुधबार भने उनीहरूको परिवारको सदस्यको नाममा सूचना निकालेको हो । अख्तियारले शोभाकान्तकी पत्नी उमाकुमारी ढकाल्नीलाई समेत सातदिने पुर्जी काटेको छ ।

सूचनामा उल्लेखित लक्ष्मी ढकाल शोभाकान्तकी छोरी हुन् । उनी हाल अमेरिकामा छिन् । अर्को व्यक्ति माधवी सुवेदी रामकुमार सुवेदीकी पत्नी हुन् । रामकुमारसमेत ललिता निवासको अनियमिततामा मुछिएका व्यक्ति हुन् । त्यस्तै भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याणलाई पनि अख्तियारले बोलाएको छ । मीनबहादुरसमेत ललिता निवास प्रकरणमा मुछिएका छन् ।

तीन योजनाकार

शोभाकान्त ढकाल र रामकुमार सुवेदीले नक्कली मोही खडा गरी सस्तोमा जग्गा उठाएर अन्य व्यक्तिलाई महँगोमा बेचेका थिए । त्यसमध्ये केही जग्गा उनीहरूले आफ्नो, परिवारका सदस्य अनि केही जग्गा दुई परिवारका सदस्यहरू मिलेर संयुक्त स्वामित्वमा खरिद गरेका थिए ।

बालुवाटार जग्गामा आफूहरूलाई ‘मोही’ दाबी गर्ने व्यक्तिहरूलाई त्यतिबेला शोभाकान्त ढकालले बोकेका थिए । जिल्ला अदालत काठमाडौंबाट ३३० नम्बरको लेखन्दासको प्रमाणपत्र वाहक रामकुमार सुवेदी डिल्लीबजार मालपोत कार्यालयको पीपलको चौतारामा बसेर घुँडामा नेपाली कागज राखी लेखापढी गर्थे ।

मुआब्जा बापतको रकम लिइसकेका रुक्मशमशेरहरूले सित्तैमा जग्गा पाएर दोहोरो लाभ लिएका थिए । जग्गामा मोही पनि जोडिएको लिखत भेटिएपछि उनीहरू लोभमा लागे । सामूहिक रूपमा मोही छुटाउनुपर्ने माग राखी उनीहरूले भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए । आफूलाई मोही दाबी गर्नेहरूले त्यही जग्गामा मोहीको प्रमाणपत्र पाउनुपर्ने माग राखी लेखन्दास रामकुमार सुवेदीको सहयोगमा भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।

शोभाकान्तको संगतपछि रामकुमारले मोहीहरूलाई चेपुवामा पारिसकेका थिए । राणा परिवार नजिकका एक पूर्व–प्रशासकको भनाइमा ‘तिमीहरूलाई राणाहरूले सिध्याउनेछन् र नांगै हुनेछौं’ भनी धम्क्याई मुद्दा जिताएबापत आधा सम्पत्ति आफूहरूलाई दिनुपर्ने भनेर ढकाल र सुवेदीले करकापमा पारे । सीआइबी स्रोतले भन्यो, ‘मुद्दा जितेमा आधा सम्पत्ति हामीलाई दिनुपर्छ भनी गराएको कागज नै भेटिएको छ ।’ ३७ जना मोहीबाट उनीहरूले करिब ३० रोपनी जग्गा हत्याएका थिए ।

कानुनी व्यवस्थाअनुसार जग्गाधनीको आधा भाग मोहीले पाउने अवस्था थियो । मोहीलाई करकापमा पारेका शोभाकान्त र रामकुमारहरूले मुद्दा जितेमा ‘आधा जग्गा आफूहरूलाई दिनुपर्ने’ लिखत गराएका थिए । शोभाकान्त र रामकुमारहरूले जग्गामा मोहीको विवाद टुंगो लाग्नुअघि नै राणा परिवारसँग रोपनीको १६ लाख रुपैयाँका दरले रकम दिएर ‘बुकिङ’ गरेका थिए । मोहीहरूसँग रोपनीको १६ लाख रुपैयाँका दरले कागज गरेका थिए, मोहीले जितेमा त्यसको आधामात्रै तिरे पुग्ने भएको थियो ।

मीनबहादुर कसरी जोडिए ?

कांग्रेस नेता सुवर्णशमशेरका जेठा छोरा कनकशमशेर हुन् । कनकमा छोरा हेमाद्रीशमशेरसहित उनका साढुभाइ अमर शमशेर, शोभाकान्त ढकाल र रामकुमार सुवेदी मिलेर जग्गा फिर्ता पाएका राणा परिवार र उनीहरूबाट भाग पाएका मोहीको जग्गा उठाउने अनि धमाधम बेच्नका लागि बैना लिने काम गरेका थिए ।

स्रोतको भनाइमा ‘बेच्नेसँग कुरा छिन्न नै बाँकी भएको अवस्थामा किन्नेलाई यो जग्गा हाम्रै हो भनेरसमेत बैना उठाउने काम भयो ।’ त्यतिबेला एक चर्चित जग्गा व्यापारीले पनि बालुवाटरको जग्गा खरिदमा निकै रुचि देखाएका थिए । तर, पटकपटक ‘डिल’ नमिलेपछि उनले छाडे ।

सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियारले राजस्वका २२ जना अधिकृतको घरमा एकसाथ छापा मारेर गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा कारबाही अघि बढाएको थियो । २२ भाइमध्येका भनेर चिनिने एक पात्र हुन्, डोलराज शर्मा ।

स्याङ्जाका यिनै डोलराज भाटभटेनीका मीनबहादुर गुरुङका भित्रिया रहेको सीआईबी स्रोतले बतायो । पुर्ख्यौली स्याङ्जाकै रहेका ढकालले डोलराजमार्फत भाटभटेनीका मीनबहादुरसँग सम्बन्ध अघि बढाए अनि मिलेमतो र साझेदारीमा जग्गा खरिदको काम भयो । त्यस क्रममा मीनबहादुरले रोपनीको एक करोडका दरले जग्गा खरिद गरे । स्रोतको भनाइमा मीनबहादुृरले केही कित्ता भने ‘कौडीको भाउ’ भन्दा पनि सस्तोमा पाए ।

बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा भेटिएको थियो । भू–माफिया भनेर चिनिएका डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी अनि भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरूको परिवारको नाममा झन्डै २५ रोपनी जग्गा फेला परेको छ । व्यापारी गुरुङले आफ्नो परिवार र कम्पनीको नाममा समेत जग्गा खरिद गरेका छन् । बालुवाटारको करिब सबैजसो कित्ताको खरिदबिक्रीको ट्र्याक रेकर्डमा उनीहरूको नाम जोडिएको देखिन्छ ।

नाम मात्रैका मोही

अख्तियारले निकालेको सार्वजनिक सूचनाअनुसार ८६ जनाको सूचीमा ७० भन्दा बढी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायको थर मिल्ने व्यक्ति छन् । तीमध्ये अधिकांशलाई फर्जी रूपमा खडा गरी ढकाल र सुवेदीले जग्गा हत्याएका थिए भने त्यो समूहमा पछि मीनबहादुरसमेत सामेल भएको स्रोतले बतायो ।

केहीमा डीएफएल डेभलपर्स प्रालि नामक कम्पनीसमेत जोडिएको छ । केही मोहीको नाम मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने, स्वीकृत गर्ने अनि मोहीको लगत तयार गर्ने क्रममा फेरिएको छ । डिल्लीबजार मालपोत स्रोतका अनुसार ‘मोही जनिएका केही जग्गाको नापीको स्रेस्तामा मोही नभएको सार्वजनिक जग्गा’ भनी भेटिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको क्षेत्र विस्तारका क्रममा भौतिक योजना तथा निर्माण मन्त्रालयले मालपोत कार्यालयमा पत्राचार गरेर मोहीको विवरण मागेको थियो । जब कि, विस्तारकै योजना बनाउनासाथ मोहीको विवरण आवश्यक पर्दैन । भूमि व्यवस्थापन कार्यालयका एक जानकारका भनाइमा ‘सरकारी जग्गामा मोहीको कल्पनै हुँदैन, भएमा सरकारले खोज्ने होइन कि मोहीले नै दाबी गरेर आउनुपर्ने थियो ।’ तर, भौतिक योजना तथा निर्माण मन्त्रालयले अरू विषयवस्तुभन्दा पनि मोहीको विवरणमै रुचि दियो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयको पत्रको जवाफमा मालपोत कार्यालयले २०६६ माघ १० गते चलानी नं. ९००९ को पत्रमा मोही भनेर दाबी गरिएका केही व्यक्तिको विवरण पठायो । पत्र पुगेपछि टिप्पणी तयार गर्ने क्रममा थप नक्कली मोही खडा गरिए । जस्तै नगरतर्फ २३ ‘क्ष’ को ७६ नम्बर कित्तामा पर्ती जग्गा रहेकोमा त्यसमा २ रोपनी १२ आना जग्गामा ड्राइभर भाइचा भनी नक्कली मोही खडा गरियो । भूमि प्रशासनमा लामो समय काम गरेका एक अधिकृतका अनुसार त्यस क्रममा यी विवरण उतार्ने काममा मालपोतका कर्मचारी अर्जुन खतिवडा थिए भने प्रेम खापुङ मालपोत कार्यालयका प्रमुख थिए ।

मालपोत कार्यालयको अभिलेखअनुसार साविकको नगर २३ ह कित्ता नम्बर ४० को १३ आना २ पैसाको जग्गामा हर्षनारायण डंगोल मोही कायम भएको देखिन्छ । त्यसलाई हालसाविक गर्ने काममा २५३ र २४७ नम्बरको कित्ता बनाइयो । पछि सर्जिमिनका क्रममा रामकृष्ण महर्जनको नाममा नक्कली मोही देखाई जग्गा दिलाइयो । सुवेदार रामबहादुर नाम गरेको मोहीको ठाउँमा कान्छा महर्जन नामको मोही सर्जिमिनबाट खडा गरियो ।

त्यस्तै १०४ नम्बरको कित्तामा बलभद्र जैसीको ठाउँमा रेना गुरुङलाई मोही बनायो । मालपोत कार्यालयले ड्राइभर भाइचा बाहेकको हकमा परिवर्तन नगरेकोमा पछि भौतिक मन्त्रालयमा फाइल पुगेपछि धमाधम परिवर्तन गरियो । त्यतिबेला सचिव दीप बस्न्यात थिए ।

भौतिक मन्त्रालयले मोहीहरूको अनुसूची बनाउने क्रममा विभिन्न नामहरू परिवर्तन गरेको तथ्य देखिन्छ । नाम परिवर्तनकै आधारमा खडा गरिएका मोहीले आधा/आधा जग्गा पाए । मालपोत स्रोतले भन्यो, ‘१२ जना मोहीले यसरी मोही बनेर जग्गा पाए ।’ अर्को उदाहरण, कित्ता ६९ मा मीनबहादुर आलेमगरको नाम भएकोमा मचानानी महर्जनको नाममा मोही कायम भयो । धनबहादुरको नाममा भएकोमा श्रीकृष्ण महर्जनले पाए । स्रोतले भन्यो, ‘यसरी खडा गरिएका मोहीको नाममा आएका सबै सम्पत्ति शोभाकान्त ढकाल, रामकुमार सुवेदी र परिवारको नाममा आयो । पछि त्यसमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ जोडिए ।’

बाँकीमा किर्ते

केही राणा परिवारले झुक्याएर सरकारी जग्गा आफ्नो नाममा पारेपछि बचेको बालुवाटारको खुला ३५ मध्ये २७ रोपनी जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा तानिएको थियो । २७ मध्येको करिब १३ रोपनी ७ आना जग्गा मोहीका नाममा बाँडियो ।

भूमिसम्बन्धी ऐनको व्यवस्थाअनुसार खेतीकिसानी गर्ने मोहीको आधा स्वामित्व हुन्छ भने आधा जग्गाधनीको भागमा आउँछ । सरकारकै दाबीअनुसार उनीहरूले कमाएको जग्गामध्ये मोहीलाई आधा जग्गा दिएपछि बाँकी आधा जग्गा सरकारका नाममा हुनुपर्ने थियो । स्रोतले भन्यो, ‘बाँकी जग्गासमेत लाजमर्दो गरी व्यक्तिका नाममा सारियो ।’

२०६७ वैशाख ३१ गते माधवकुमार नेपालको मन्त्रिपरिषद्ले निर्णय गरेपछि त्यसका आधारमा खडा गरिएका मोहीले धमाधम निवेदन दिएर जग्गा हातपारे । बदमासी कतिसम्म थियो भने २०६७ असार ८ गते मोही देवनारायण महर्जनको नाममा जग्गा दर्ताका लागि निवेदन पर्‍यो । उनले निवेदनमै, ‘यो कित्ताको आधा मोहीलाई दिई आधा मलाई दिनु’ भन्ने व्यहोरा खडा गरेका थिए ।

कित्ता नम्बर १०६ को पर्ती जग्गाबाट मोहीलाई भाग लगाउने क्रममा दुई टुक्रा बनाइयो । मोही खडा गरिएका ग्वाराभाइ महर्जनको नयाँ कित्ता आयो । बाँकी सरकारको हुनुपर्नेमा माधवी सुवेदी र उमा ढकालको नाममा नामसारी भयो । मालपोत स्रोतले भन्यो, ‘यो मोही नै नभएको जग्गा हो ।’

कित्ताकाटकै क्रममा २४३ नम्बरको कित्ता सरकारको नाममा हुनुपर्नेमा उमा ढकाल र माधवी सुवेदीको नाममा दर्ता भयो । अनि १४२ नम्बरको कित्ता श्रीकृष्ण महर्जनको नाममा दर्ता गरी बाँकीमा उमा र माधवीको नाममा दर्ता भयो । भूमाफिया भनेर किटान गरिएका रामकुमार सुवेदीले लक्ष्मी ढकालको नाममा ११५ नम्बरको कित्ता पाउनुपर्ने भनी निवेदन दिए । कुनै अध्ययन, अनुसन्धान नगरी निवेदन सदर भएर जग्गा दर्ता भयो ।

अर्को निवेदनमा कुनै सरोकार नभएकी लक्ष्मी ढकालले निवेदन दिएकामा एक रोपनी जग्गा उनको नाममा गयो । कित्ता नम्बर १, ३ र १२ को जग्गा मोही द्वारिका महर्जनले आफ्नो नाममा दर्ता गरे । बाँकी आधा जग्गा उनले बिना आधार डीएलएफ कम्पनीलाई दिनु भनी निवेदन लेखे । त्यही निवेदकका आधारमा बाँकी सरकारी हुनुपर्ने जग्गा उक्त कम्पनीको नाममा भयो ।

त्यसैगरी रजनी पनेरुले पनि जग्गा पाइन् । ‘हकै नलाग्ने व्यक्तिलाई बीचमा खडा गरेर धमाधम जग्गा दर्ता गरिदिनु किर्ते काम हो,’ भूमि व्यवस्था मन्त्रालय स्रोतले भन्यो, ‘यस्ता धन्दामा मालपोत कार्यालयका तत्कालीन प्रमुख हरिकृष्ण तिमिल्सिना प्रयोग भएका थिए ।’

प्रकाशित : असार ११, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?