कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौशालाको नगरसभामा भाँडभैलो

रवीन्द्र उप्रेती

महोत्तरी — नगरसभाका लागि प्रमुख अतिथि, मेयर, उपप्रमुख, जनप्रतिनिधि गरी सय जनाभन्दा बढी कार्यक्रमस्थलमा उपस्थित थिए । प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पानसमा बत्ती बालेर सभा उद्घाटन गरे । राष्ट्रियगान र 
मौनधारणजस्ता औपचारिकता पूरा गरियो । 

नगरसभा भनिए पनि नीति तथा कार्यक्रम प्रस्तुत गरिएन न बजेट नै पेस भयो । त्यसको सट्टा केही निजी विद्यालयका छात्राले नाचगान गरे । कार्यक्रम सकियो ।


गौशाला नगरपालिकाको नगरसभामा मंगलबार उद्घोषण थालिएसँगै भाँडभैलो सुरु भएको थियो । उद्घोषक वडा १ का सचिव रामकुमार यादवले मञ्चमा आसनग्रहणका लागि नाम बोलाउँदा मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै उपमेयरले विरोध जनाइन् । उद्घोषकले ‘पहिचान बिगारेको र अपमान गरेको’ आरोप लगाइन् । मेयर शिवनाथ महतोले सभाध्यक्षका रूपमा आसनग्रहण गरेको निकै बेरपछि मात्रै लामालाई मञ्चमा बोलाइयो ।


मेयरलगत्तै उपमेयरलाई नबोलाइएको विरोधमा उनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न मानिनन् । जबकि उनी १२ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तयारीसहित आएकी थिइन् । उपमेयरले आफ्नो मर्यादाको अपमान भएको भन्दै आपत्ति जनाएपछि उनलाई वडाध्यक्षहरूले पनि साथ दिए । वडाध्यक्षले विरोध गरेपछि उद्घोषक फेरिए पनि सभा अघि बढ्न सकेन ।


मेयर–उपमेयर दुवै नेकपाका हुन् । गत वर्ष नगरपालिकाले गोप्य रूपमा नगरसभा गरेको थियो । त्यसले ठूलो विवाद ल्याएपछि यसपटक तामझामसहित सभा गर्न लागिएको थियो । भाँडभैलोकै बीच स्वागत भाषण र प्रमुख अतिथिलगायतले मन्तव्य राखेका थिए ।


स्वागत भाषण पनि अनौठौ रह्यो । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चन्द्रबहादुर खड्काले स्वागत भाषणकै क्रममा आफ्ना गुनासा राखे र उपमेयरको अपमान भएको भन्दै आफूले पदबाट राजीनामा दिने घोषणा गरे । ‘जनप्रतिनिधिको अपमान भएकाले म नैतिकताका आधारमा निमित्त कार्यकारीको पदबाट राजीनामा दिएको यसै मञ्चबाट घोषणा गर्दछु,’ उनले भने । सञ्चारकर्मीको जिज्ञासामा खड्काले सम्बन्धित निकायमा राजीनामा पेस गर्ने जनाए ।


प्रमुख अतिथि एवं मन्त्री पोखरेलले समेत खड्काको राजीनामा घोषणाप्रति चासो राखे । उनले नगरसभाको विवादले जनप्रतिनिधिको अक्षमता उजागर गरेको बताए । नगरसभा सम्पन्न गर्ने जनप्रतिनिधिको दायित्व रहेकाले यसमा कर्मचारीको कमजोरी नभएको उनले बताए ।


स्थानीय सरकारमा असीमित अधिकार भए पनि फरक मत र विपक्षीलाई पाखा लगाउन खोज्दा समस्या उत्पन्न भएको बताए । उनले ‘सिंहदरबार’ घरदैलोमा पुगे पनि जनप्रतिनिधिकै कारण काम गर्न नसकेको दाबी गरे । ‘संघीयताको विशेषता साझेदारी हो,’ पोखरेलले भने, ‘हाम्रो मानसिकता अहिले पनि एकात्मक भएकाले संघीयताको अभ्यासमा खोट देखिएको हो ।’


नगरसभामा अर्को आलोचनाको विषय रह्यो नाचगानको । केही स्थानीय निजी विद्यालयका छात्रालाई शिक्षामन्त्री पोखरेल उपस्थित कार्यक्रममा नाचगानका लागि ल्याइएको थियो । निमित्त प्रमुख कार्यकारी अधिकृत खड्काले सभामा छात्रालाई उपस्थित गराएको बारे अनभिज्ञता प्रकट गरे । ‘मलाई थाहा छैन, नाचगानको कार्यक्रम कसले राख्यो,’ उनले भने ।


सभाको अध्यक्षता गरिरहेका मेयर महतोले नगरपालिका क्षेत्रमा पर्ने आधा दर्जन नदीमा भइरहेका अवैध उत्खनन रोक्न कडा कदम उठाउने प्रतिबद्धता जाहेर गर्दै नगरसभा स्थगित भएको घोषणा गरे । अर्को नगरसभाबारे मिति तोकिएको छैन ।

प्रकाशित : असार १२, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?