कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त

सुरज कुँवर

काठमाडौँ — हवाई क्षेत्रको नियमनकारी तथा सेवाप्रदायक निकाय नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सरकारले राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्राधिकरणका उपमहानिर्देशक पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त

त्रिभुवन अन्तर्राष्ट्रियसहित मुलुकभरका ५० बढी विमानस्थलको तालुक निकाय प्राधिकरणका लागि पोखरेल १३ औं महानिर्देशक हुन् । यसअघिका महानिर्देशक सञ्जीव गौतमको ४ वर्षे कार्यकाल जेठ १३ गते सकिएपछि पोखरेल कार्यवहाक महानिर्देशकका रुपमा थिए । गैरसैनिक उड्डययन क्षेत्रको नियमनकारी निकाय प्राधिकरणको नेतृत्वमा ४ वर्षका लागि तोकिएका पोखरेल अबको २ वर्ष ३ महिनापछि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने छन् । प्राधिकरणको नियममा उपमहानिर्देशकको सेवा अवधि ६ वर्षमात्रै रहेकाले उनी आधा कार्यकाल सकेर अवकाश पाउने छन् ।


व्यवस्थापन स्नातकोत्तर र कानुनमा स्नातक पोखरेल एयर ट्राफिक कन्ट्रोलर पृष्ठभूमिका हुन् । ०४७ मंसिरमा हवाई सेवा विभागमा प्राविधिक अधिकृत (एटीसी) पदबाट सेवा थालेका बर्दिया निवासी पोखरल उडान सुरक्षा नियमनमा दख्खल राख्दछन् । प्राधिकरणमा रहेका ५ जना उपमहानिर्देशकमध्ये पोखरेल वरिष्ठ थिए । उनी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नेपालका लागि उडान सुरक्षा अडिट संयोजकसमेत हुन् । यीनकै संयोजकत्वकालमा नेपाललाई आइकाओले गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको थियो । यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसको परिपालना दर ६७ हाराहारी पुर्‍याएको थियो । आइकाओले निर्धारण गरेको यसको औषत दर ६० हो ।


पोखरलले अब नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउनु पर्ने छ । ‘इयूले हाम्रो संस्थागत सुधार र नेपाली विमान कम्पनीलाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउनुपर्ने मुख्य चुनौती छ,’ महानिर्देशक पोखरेलले कान्तिपुरसँग भने, ‘पछिल्ला वर्ष बढेको हेलिकप्टर दुर्घटना पनि न्युनिकरण गर्नुपर्ने अर्को चुनौती छ ।’ पोखरलले सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने भनिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निमार्णाधीन क्षेत्रीय विमानस्थलको काम सक्नुपर्ने, हाल सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नती गर्ने लगायत चुनौती रहेको बताए ।


चालु आर्थिक वर्ष ४५ अर्ब १७ करोड बजेट भएको प्राधिकरणको मुख्य आम्दानीको स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । गत वर्ष यसले ७ अर्ब २५ करोड आम्दानी गरेको थियो । यसबाहेक प्राधिकरणले भैरहवा, पोखरा लगायतका विमानस्थल नेपाल सरकारसहित विभिन्न निकायबाट ऋण तथा अनुदान लिई निर्माण गरिरहेको छ । हाल ५ वटा आन्तरिक विमानस्थल निर्माणाधीन अवस्थामा छन् । कुल ५० विमानस्थलमध्ये २१ हाराहारी वर्षौदेखि बन्द अवस्थामा छन् भने ४३ वटा घाटामा सञ्चालित छन् ।

प्रकाशित : असार १३, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?