कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै खर्चमा दुई मुलुक

नेपालगन्ज विमानस्थलमा मानसरोवर यात्रीको भीड लाग्छ । होटल भरिभराउ हुन्छन् । तीर्थयात्रीका कारण अन्तरिक पर्यटकले यहाँ होटलमा बास नपाउने अवस्था हुन्छ ।
मधु शाही

बाँके — भारतबाट आएकी दुर्गा नाकदुक्लालाई मानसरोवर घुम्ने ठूलो सपना थियो । ५ वर्षदेखि उक्त यात्राका लागि साइतको पर्खाइमा थिइन् । कहिले खर्चको जोहो नहुने त कहिले परिवारको समय नमिल्नाले यात्रा जुरेको थिएन । यस पटक जुर्‍यो ।

दुई साताको बिदा लिएर पतिका साथ यात्रामा निस्किइन् । एउटै लगानीमा नेपाल र तिब्बत घुम्न पाइने भएकाले उत्साहित बनेको उनको भनाइ छ । ‘एउटै खर्चमा नेपाल र तिब्बत घुम्ने अवसर पाएँ,’ उनले भनिन्, ‘यो पर्यटकका लागि फाइदाकै कुरा हो ।’


प्रतिव्यक्ति २ लाख रुपैयाँ तिरेर मानसरोवर घुम्न आएको उनले सुनाइन् । सिमिकोटबाट ३ दिन यात्रा गरेर कैलाश पर्वत परिक्रमा सकेर फर्किएको उनको भनाइ छ । त्यहाँबाट उनले कैलाश पर्वतको दृश्य झल्किने तस्बिर चिनो ल्याएको देखाइन् ।


यस्तै फोटो कोसेलीका रूपमा ल्याउने त्यहाँ धेरै दर्शनार्थी हुने उनले बताइन् । मोबाइल र क्यामेरामा तस्बिर खिच्ने उत्तिकै हुन्छन् । त्यहीँ खरिद गरेर ल्याएको चिनोको बेग्लै महत्त्व हुने उनको भनाइ छ । अस्ट्रेलियाका नागरिक डेवल जोनले नेपाली २ हजार रुपैयाँमा यस्तै तस्बिर ल्याएको सुनाए । यहाँ यस्तो तस्बिरको १ सय ३ रुपैयाँ तिब्बती मुद्रा पर्ने गरेको उनले बताए । बार्गेनिङ गरेर १ सय तिब्बती मुद्रामा खरिद गरेको काठमाडौंकी कमला भट्टराईको भनाइ छ ।


मानसरोवर यात्राबाट फर्किएका यात्रुले नेपालगन्ज विमानस्थलमा यसरी अनुभव साटासाट गरिरहेको देखिन्छ । सुरक्षित फर्किएकामा दंग देखिन्छन् । उनीहरूका रोचक र साहसिक कुरा सुनेर त्यहाँ जाँदै गरेका उत्साहित देखिन्छन् ।


‘कैलाश पर्वत जति सुन्दर छ, त्यहाँ पुग्न त्यति कठिन,’ भारतीय पुल्की जैनले भनिन्, ‘मानसरोवरमा नुहाएर पाप पखाल्न पाएकामा खुसी छु ।’ त्यहाँस्थित हिमालै हिमाल देखेपछि स्वर्गको अनुभूति गरेको उनले बताइन् । नेपालगन्ज विमानस्थलमा यतिबेला तिब्बतस्थित कैलाश पर्वत (मानसरोवर) जाने आन्तरिक र बाह्य पर्यटक भेटिन्छन् । ‘बारम्बार जान सकिँदैन, यही फोटो हेरेर कैलाशको पूजा गर्छु,’ काठमाडौंकी भट्टराईले भनिन्, ‘बार्गेनिङ गर्न सकिएन भने महँगो सपिङमा फसिने रहेछ ।’


नेपालगन्ज विमानस्थलमा मानसरोवर यात्रीको भीड लाग्छ । होटल भरिभराउ हुन्छन् । तीर्थयात्रीका कारण अन्तरिक पर्यटकले यहाँ होटलमा बास नपाउने अवस्था हुन्छ । यस्तै आकर्षणका कारण यहाँ होटलमा लगानी ओइरिएको हो । मानसरोवर तिब्बतमा रहे पनि यहाँ हुँदै बर्सेनि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्छ ।


हुम्लाको सिमिकोट मुख्य नाका हो । नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर सयौं पर्यटक जान्छन् । नेपालगन्जबाट जहाजमा सिमिकोट पुग्छन् । त्यहाँबाट हेलिकप्टर वा गाडीको माध्यमले तिब्बत र नेपाल सिमाना हिल्सा पुग्छन् । त्यहाँ राहदानी जाँचपछि तिब्बतीयन ट्राभल कम्पनीले आफ्नो गाडीमा मानसरोवर र कैलाश पर्वत घुमाउँछन् ।


ट्राभलप्रति गुनासो

भारतीय नागरिक लक्ष्मीले बैंग्लोरस्थित ट्राभल एजेन्सीमार्फत मानसरोवर यात्राका लागि टिकट बुक गरेकी थिइन् । उक्त एजेन्सीले यात्राका क्रममा उनलाई सुविधासम्पन्न (लक्जरिअस) होटलमा बसोबास मिलाउने भन्दै नमुना देखाएको थियो ।


उनले पनि सुविधा हेरेर २ लाख रुपैयाँ बुझाइन् तर लक्ष्मीले मानसरोवरसम्म पुग्दा उक्त सुविधा कतै पाइनन् । बस्ने ठेगान थिएन । ट्राभल एजेन्टको बेवास्ताले राम्रोसित कैलाशपर्वत अवलोकन गर्न नपाएको उनको गुनासो छ । ‘पैसा खर्च गरेअनुसार यात्रा सहज भएन,’ उनले भनिन्, ‘अब बैंग्लोर गएर एजेन्सीलाई झपार्छु ।’


घट्दै पर्यटक

नेपालगन्ज यात्राको प्रवेशबिन्दु हो । यहाँबाट हवाई यात्रापछि सिमिकोट पुगिन्छ । हेलिकप्टरबाट हिल्सासम्म एकै दिनमा पुग्न सकिन्छ । गाडीमा यात्रा गर्नेहरू पनि हुन्छन् । यसपालि पहिले जस्तो तीर्थालुको घुइँचो छैन ।


नेपालगन्ज ट्रान्जिट बनाएर मानसरोवर जानेको संख्या गत वर्षको तुलनामा ५० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५ हजार पर्यटक आएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । गत वर्ष १२ हजार भित्रिए पनि यस वर्ष भने ६ देखि ८ हजार पुर्‍याउन मुस्किल रहेको उनको भनाइ छ ।


नेपालगन्जबाट मानसरोवरका लागि सीता, तारा र समिट एयरलाइन्सले सेवा प्रदान गर्छन् । आफ्ना विमानबाट यस वर्ष २ हजारदेखि २ हजार २ सय पर्यटक मात्रै मानसरोवर घुम्न गएको ताराका स्टेसन म्यानेजर दिल्ली कार्कीले बताए । उनका अनुसार प्रत्येक वर्ष मे महिनाबाट सुरु मानसरोवर सिजन सेप्टेम्बर अन्तिमसम्म चल्थ्यो ।


उक्त अवधिमा यात्रु भरिभराउ हुन्थे । यस वर्ष जुनमै पर्यटक घट्दै गएको उनले सुनाए । चीनले यस पटक भिसा कम दिएको र केरुङ नाका पनि खुला गरेकाले पर्यटक घटेको नेपालगन्ज विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए ।

प्रकाशित : असार १५, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?