कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्युको विरोधमा प्रदर्शन गर्दा मृत्यु

जनकपुर — बालुवा–गिट्टी झिकिएको खोलाको गहिरो खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले आइतबार अपराह्न अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर अर्का युवकको ज्यान गएको छ । झडपमा स्थानीय र प्रहरीसहित एक दर्जन घाइते छन् ।

मृत्युको विरोधमा प्रदर्शन गर्दा मृत्यु

सर्लाही, ईश्वरपुर–१३ का लाले रायका १२ वर्षीय छोरा अमितको शनिबार बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो । उनको शव आइतबार फेला परेको थियो । घरनजिकैको खोलामा नुहाउने क्रममा बालक राय खाल्डोमा डुबेका थिए । अवैध उत्खननका कारण बालकको मृत्यु भएको आक्रोशमा शवसहित ६ किलोमिटर टाढाको राजमार्ग पुगेर स्थानीयले प्रदर्शन गरेका थिए ।


सर्लाही र महोत्तरीको सीमा जोडिएको बाँके पुलनजिक सडकमै शव तेर्स्याएर स्थानीय नारा–जुलुसमा उत्रिएका थिए । अवरोध खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाही, ईश्वरपुर नगरपालिका–१३ का २७ वर्षीय केवल महतोको घटनास्थलमै मृत्यु भएको हो । उनको टाउकामा गोली लागेको थियो ।


राजमार्ग अवरोध खुलाउन बाक्लो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटिएका थिए । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि बल प्रयोग गरेको प्रहरीले दाबी गरेको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले प्रदर्शनकारीले प्रहरीलक्षित आक्रमण बढाएपछि हवाई फायर खोलिएको बताए । ‘राजमार्ग खुलाउन गएका प्रहरीमाथि प्रदर्शनकारीले लगातार ढुंगामुढा गर्न थाले,’ कार्कीले कान्तिपुरसँग भने, ‘प्रहरी घाइते हुन थालेपछि फायर खोलिएको हो ।’


प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार सुरुमा लाठीचार्ज गर्दै पटक–पटक चेतावनी दिँदा पनि नटरेपछि १५ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो । प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले सुरुमा रबरको बुलेट र त्यसपछि हवाई फायर खोलेको कार्कीले बताए ।


हवाई फायर गरिएको गोली लागेर महतोको मृत्यु भएको उनले दाबी गरे । गोली लागेर प्रदर्शनकारी रेखा मण्डल र सरोज महतो घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर असईसहित ८ प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । घाइते प्रहरीमध्ये धेरैजसोको टाउकामा गम्भीर चोट छ । केहीको दाँत फुस्केको छ ।


सर्लाही प्रहरीका डीएसपी गोपालचन्द्र भट्टराईले प्रदर्शन अनियन्त्रित बनेपछि गोली प्रहार गर्नुपरेको दाबी गरे । गोली प्रहारपछि प्रदर्शनकारी तितरबितर भएका थिए । भट्टराईका अनुसार मुचुल्का गर्ने क्रममा स्थानीयले प्रहरीसँग शव थुतेर राजमार्गमा पुर्‍याएका थिए ।


‘राजमार्ग खुलाउन गएका डीएसपीसहितको टोलीलाई प्रदर्शनकारीले घेराबन्दी गरेपछि फायर खोलिएको हो,’ उनले भने ।


स्थानीयले भने प्रहरी–प्रशासन र जनप्रतिनिधिकै संरक्षणमा बाँके खोलामा अवैध उत्खनन हुँदा पनि चासो नदेखाएकाले बालकको डुबेर मृत्यु भएको आरोप लगाएका छन् । बालकको ज्यान गएपछि घटनास्थल पुगेका त्यस क्षेत्रका प्रतिनिधिसभा सांसद प्रमोद साहले खाल्डोबाट बालकलाई झिक्न प्रहरी–प्रशासनले विलम्ब गरेकाले स्थानीय आक्रोशित बनेको र त्यही झोंकमा राजमार्ग अवरुद्ध गर्न पुगेको बताए । ‘राजमार्गको अवरोध प्रहरीले सजिलै हटाउन सक्थ्यो तर सिधै गोली चलायो,’ साहले भने, ‘लाठीचार्ज गरेन, अश्रुग्यास पनि हानेन । सिधै गोली चलायो ।’


प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सर्लाही घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरी–प्रशासनले पुरानै मनोवृत्ति प्रदर्शन गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । ‘घटना भएपछि मात्रै प्रहरीले प्रदेश सरकारलाई ब्रिफिङ गर्‍यो,’ मन्त्री यादवले भने, ‘सजिलै तितरबितर गर्न सकिने भीडमा गोली चलाउनु आवश्यक थिएन ।’


प्रदेश सरकारले घटनाको छानबिन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अरुण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने मन्त्री यादवले बताए ।

प्रकाशित : असार १५, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?