कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ बसपार्कमा ९० रोपनी जग्गा अतिक्रमण

दीपेन्द्र विष्ट

काठमाडौँ — गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिने/बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । 

नयाँ बसपार्कमा ९० रोपनी जग्गा अतिक्रमण

यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।’


जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो । सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो । ‘अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्,’ महानिर्देशक दाहालले भने, ‘अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।’


महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिएपछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ । ‘जग्गा नेपाल सरकारकै नाममा छ, महानगरले लामो समयका लागि लोत्सेलाई दिएको छ,’ उनले भने, ‘अब यसमा सरकारले कुनै नयाँ सरचना निर्माण गर्न सक्ने अवस्था छैन ।’


महानिर्देशक दाहालले चालकका लागि पुनर्ताजगी तालिम केन्द्र, भेहिकल फिटनेस सेन्टरको सुविधासहित प्रविधियुक्त बसपार्क हुनुपर्नेमा भएका संरचनालाई बिगारेर कुरुप बनाइएको बताए । उपत्यकामा नयाँ बसपार्क बनाउन जग्गा नभएको उल्लेख गर्दै महानगरले स्थानीय स्वायत शासनअनुसार लामो समयसम्म बसपार्कको जग्गा लिज दिन नपाउने भए पनि रत्नपार्कलाई जस्तै भाडामा लगाइएको उनले बताए ।


बसपार्क रेखदेख तथा व्यवस्थापन गर्न महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच २०७२ मा पुनः नयाँ सम्झौता भएको थियो । सम्झौतामा ४ वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने उल्लेख छ । बसपार्क सुविधायुक्त, अत्याधुनिक र प्रविधिमैत्री बनाउने कार्य भइरहेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले दाबी गरे ।


‘सम्झौताअनुसारै भएको छ,’ उनले भने । चार सयभन्दा बढी गाडी अटाउने क्षमता वृद्धि गरेर करिब एक हजार बस पार्किङ गर्न सकिने बनाइएको उनले बताए । ‘सपिङ मल, रेस्टुरेन्ट, बगैंचा, हरियाली बनाउने सम्झौतामै उल्लेख छ,’ उनले भने, ‘यसलाई अझ व्यवस्थित र आकर्षक बनाउँछौं । लामो दूरीका चालकलाई आरामदायी कक्षसमेत व्यवस्था गर्छौं ।’

प्रकाशित : असार १६, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?