कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तह प्रदेश मातहत ल्याउनुपर्छ : मन्त्री यादव

देवनारायण साह

मोरङ — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयता सफल बनाउनका लागि स्थानीय तहलाई प्रदेश मातहत ल्याउनु पर्ने बताएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

स्थानीय तह प्रदेश मातहत ल्याउनुपर्छ : मन्त्री यादव

‘स्थानीय तह प्रादेशिक क्षत्राधिकारभित्र रहनुपर्छ,’ उनले भने, ‘स्थानीय तहलाई प्रदेश सरकारको इकाईको रूपमा राख्नुपर्छ । तर अहिले प्रदेश हुँदाहुँदै पनि स्थानीय तहलाई संघीय सरकार मातहत राखेको छ ।’


स्थानीय तह संघीय सरकार मातहत राख्नाले एक दिन मुलुकमा विपद् निम्तिने मन्त्री यादवको भनाइ थियो । सरकारले संघीयतालाई बलियो बनाएर अघि बढ्न नसकेको उनले बताए । ‘संघीयतालाई बलियो बनाएर अघि बढ्नका लागि सरकारले पहिलो स्टेपमा संविधान संशोधन गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन गरेर अधिकार सम्पन्न प्रदेश निर्माण गर्न स्रोत साधनमाथिको अधिकार, प्रशासनिक अङ्ग र निकाय ल्याउनुपर्छ अनि मात्रै सङ्घीयता बलियो हुन्छ ।’


यादवले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने बताए । राजनीतिक दलको आधारमा प्रादेशिक र सङ्घीय तहको निर्वाचन मात्रै हुनुपर्ने उनको भनाई थियो ।


यादवले सरकारबाट अहिले नै हटिसक्ने अवस्था नआएको प्रस्ट पारे । ‘सरकारबाट अहिले नै हटिसक्ने स्थितिमा पुगिसकेका छैनौँ,’ उनले भने, ‘हाम्रो २/३ वटा कन्सर्न छ । नेकपासँग भएको सहमति संविधान संशोधन र राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन हुने भनेपछि हामी सरकारमा सहभागी भएका हौँ । त्यो हुन्छ की हुँदैन भन्ने कुरामा अहिले शंका उपशंका र द्वविधाहरु उत्पन्न भएको छ ।’


उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले विस्फोट र प्रहरीसँग दोहोरो भिडन्त गरेर प्रचार भइसकेकाले अब मूलधारको राजनीतिमा आइसक्नु पर्ने बताए ।

प्रकाशित : असार १६, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?