कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘उपचारका लागि आत्तिएर दिल्ली नआउनुस् !’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विनोद उलकको कोटेश्वरमा खाद्यान्न होलसेल पसल थियो । पुर्खौली गाउँ काभ्रेको खोपासी भएपनि उनी २०६६ सालपछि कोटेश्वर सरेका हुन् । व्यापार राम्रो भए पछि आम्दानी पनि राम्रै भयो । बिहान उठेदेखि साँझ नसुतेसम्म उनको दैनिकी व्यापार गरेरै बित्थ्यो । 

‘उपचारका लागि आत्तिएर दिल्ली नआउनुस् !’

उलक मार्केटिङ पनि आफैं गर्थे र गाडीबाट डेलिभरी गर्न पनि आफैं नै जान्थे । श्रीमती सुनिता पनि व्यापारमा उत्तिकै सक्रिय थिइन् । छोराछोरी पढ्दै थिए । उनीहरुको भविष्यलाई लिएर विशेष चासो थियो उलकको । छोरा अलि सानै भएकाले पढाइको खासै कुरा हुन्थेन । तर, छोरीलाई भने आईटी पढाउने योजना बुन्दै थिए । व्यापार र परिवार दुवै हिसाबले उनी सन्तुष्ट थिए ।


२०७२ साल भदौ २ गतेका दिन उलक परिवारमाथि एकाएक दुःखको बादल मडारियो । अघिल्लो दिनसम्म व्यापारमा मग्न विनोदको पुरै शरीर दुख्न थाल्यो । असैह्य पीडा भएपछि परिवारका कान्छा भाइ विनोदलाई दाजुहरुले मोडल अस्पताल पुर्‍याए । मोडलले बोनम्यारोको बायप्सीका लागि नमूना हिमाल अस्पतालमा पठायो । अस्पतालले बायप्सीबाट रोग किटान गर्न सकेन ।


त्यसपछि दाजुभाई र आफन्तको सल्लाहमा एक साता नबित्दै उनलाई दिल्ली पर्‍याइयो । दिल्ली पुगेपछि सुरुमा उनको उपचार तथा परिक्षणहरु गंगाराम अस्पतालमा भयो । पछि गंगारामले नै बिएल कपुरमा रिफर गरिदियो ।


त्यहाँ पुगेपछि बल्ल रोगको पहिचान भयो– मल्टिपल माइलो । अर्थात् एक किसिमको रगतको क्यान्सर । पहिलोपटक रोगका बारेमा सुन्दा उनलाई निकै गाह्रो भयो । तर, दाजुहरुले सम्झाए पछि भने उनले आफूलाई सम्हाल्ने प्रयत्न गरे । अस्पतालमा आफू जस्तै अरु पनि बिरामी देखेपछि पनि केही सान्त्वना मिल्यो ।


त्यसपछि सुरु भयो उनको खोज । उनले आफूलाई लागेको रोगका बारे इन्टरनेटमा थप सूचनाहरु खोतल्न थाले ।

यति सबै हुँदा सात महिना बितिसकेको थियो । र, औषधि उपचार र नेपाल आउन जान गरेर मात्र उनको करीब साठी लाख रुपैयाँ खर्च भइसकेको थियो । त्यसपछि बोनम्यारो ट्रान्सप्लान गर्नुपर्छ भनियो । र, त्यसका लागि करीब २६ लाख भारु जुटाउन भनियो । तत्काल ठूलो रकम जुटाउने सामर्थ्य उनीसँग थिएन । उनले सिधै ‘म सक्दिन,’ भने ।


त्यसपछि अलमलमै एक महिना बित्यो । परिवारमा छलफल चल्यो । केही दिनपछि दिल्लीकै अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उनी भर्ना भए । त्यहाँ भर्ना भए लगत्तै सबै प्रकृया पुर्‍याएर उनको बोनम्यारो ट्रान्सप्लान्ट भयो । त्यसपछि पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएन । डाक्टरहरुले अनौपचारिक रुपमा ट्रान्सप्लान्ट सफल नभएको जनाउ दिए । जसले गर्दा अहिले उनको रोग बेलाबेलामा बल्झिने गरेको छ । अवस्थामा सन्तोषजनक सुधार नभएपछि हाल उनलाई कडा किसिमको ओरल किमो दिइएको छ । र, हप्तामा दुईपटक फलोअपका लागि अस्पताल जानुपर्छ ।

पछिल्लो चार वर्षमा उनीको करीब एक करोड रुपैयाँको खर्च भएको छ । एम्सको उपचार खर्च केही सस्तो भए पनि दिल्ली बस्दाको कोठा भाडा, खाने खर्च र अस्पताल आउँदाजाँदा हुने खर्च जोड्दा मासिक पचास हजार खर्च हुन्छ । अचाकलीे खर्च र परिवारबाट अलग भएर बस्नुपर्दाको पीडालाई केलाउँदा उनलाई शुरुमै दिल्ली आउने निर्णय हतारमा भएको महसुस हुन्छ ।


‘हुन त त्यतिबेलाको परिस्थिति नै त्यस्तै थियो,’ उनले भने, ‘क्यान्सरको शंका हुने वित्तिकै सबैले भारत जान भने । नेपालमै उपचार सम्भव छ भन्ने कोही भएन ।’


नेपालमै मल्टिपल माइलोमाको विश्वस्तरीय उपचार पाइन्छ भन्ने आफूलाई रोग लागेको करीब डेढ वर्षपछि मात्र थाहा पाएको उनले बताए । तर, त्यतिबेलासम्म उनको समय र धेरै पैसा खर्च भइसकेको थियो ।


‘के गर्नु शुरुमा बिरामी र परिवार दुवै रोगको नाम सुन्नासाथ आत्तिएको हुन्छ । होशमै हुँदैन । जसले जे भन्यो त्यहीं तिर लाग्छ,’ उनले भने ‘नेपालमै भएको भए परिवार साथमा हुन्थ्यो । आत्मविश्वास नै अर्कै हुन्थ्यो । खर्च पनि निकै कम हुन्थ्यो ।’


आफ्नै अनुभवबाट पाठ सिकेर उनी क्यान्सरका बिरामीलाई उपचारका लागि नहतारिकन निर्णय लिन सल्लाह दिन्छन् । चाहे त्यो अस्पताल चयन गर्ने विषयमा होस् वा खर्चको पाटो होस् ।


‘क्यान्सर दीर्घकालीन रोग हो । त्यो अहिले थाह हुँदैछ । समयमै यति कुरा थाहा भएको भए यस्तो अवस्था भोग्नुपर्दैनथ्यो होला,’ उनले दुखेसो पोखे ।

यसबीचमा उनले भोगेका शारीरिक र मानसिक पीडाको एउटा छुट्टै कथा छ । एक त परिवारबाट टाढा हुँदाको न्यास्रोपन अर्कोतर्फ घरीघरी बल्झने रोगका कारण हुने पीडा । गत वर्ष जेठमा केही दिनका लागि उनी घर गएका थिए । पुगेको केही दिनमै रुघाखोकी लागेर, ज्वरो पनि आयो । शरीर पुरै सुन्नियो । पहिले, मोडल र त्यसपछि अल्का अस्पतालमा आईसीयूमा उपचार गराए । परीक्षण गर्दा मिर्गौलामा समस्या देखियो । सातपटक डायलासिस गरेपछि मात्र शरीर सामान्य भयो । तर, संक्रमण भने कम भएन । दिल्लीबाटै औषधी मगाएर चलाउनु परेको थियो । त्यसपछि थप उपचारका लागि फेरि दिल्ली नै आए ।


‘त्यतिबेला भने यत्ति नै हो भन्ने लागेको थियो । शरीर पुरै सुन्निएको थियो । उठेर ट्वाइलेटसमेत जान सक्दैनथें । जिन्दगी नै बेकार लाग्न थालेको थियो । मलाई अब बाँच्नु छैन भन्ने भएको थियो । परिवारले पनि आश मारिसकेको थियो,’ उनले सम्झिए ।


गएको १८ पुसमा भने असामान्य घटना भयो । डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भए । भर्ना भएकै दिन कुर्सीमा बसेका बेला एकाएक चक्कर आएर अगाडि पट्टि भूईंमा घोप्टिन पुगे । जबकी डाक्टरले उनलाई चक्कर आयो भने पनि कतै थचक्क बसि हाल्नु, नलड्नु भनेर सचेत गराएका रहेछन् । विशेष गरी ब्लड क्यान्सर भएका बिरामीहरुका लागि त्यो निकै जोखिमपूर्ण मानिँदो रहेछ । धन्न करीब ६ घन्टा पछि उनी होसमा आए ।


रोग निको नभए पनि उनले हरेश भने मानेका छैनन् । श्रीमती, छोराछोरीदेखि दाजुभाउजुहरुको ठूलो साथ छ । श्रीमती सुनिता त चौबिसै घन्टा साथमा रहन्छिन् । उपचारमा लाग्ने खर्च पनि सबै दाजुहरुले नै व्यहोरिरहेका छन् । हुँदाहुँदा छोराछोरीको पढाईको सबै खर्च उनीहरुले नै गरेका छन् । काठमाडौंमा रहेका दाजुहरुसँग नियमितजसो कुराकानी भइरहन्छ । भाउजुहरुले पनि कान्छो देवर भनेपछि हुरुक्कै गर्छन् ।


आमा भने छोरालाई लागेको रोगका बारे थाहा नपाइ अघिल्लो वर्ष बितिन् । आमालाई नरमाइलो लाग्छ भनेर उनले भन्न पनि आवश्यक ठानेनन् । दिल्ली आउँदा पनि नभनी आउँथे । बुबालाई चाहिँ थाहा छ । बेलाबखतमा फोन बाबु छोराबीच कुरा हुन्छ ।


‘सँधै जसो के खाइस् भन्छन् । बुढाबुढीले त्यही त सोध्ने । ठिक छ, छैन सोध्नुहुन्छ ? जे भए पनि ल ठिक छ भनेर राख्नुहुन्छ,’ विनोदले मुस्कानसहित भने ।


रोहिणी, सेक्टर ५ को सोमबजारमा भेटिएका विनोदको हालको दिनचर्या भनेको अस्पताल जाने र फुर्सदमा उपचारका लागि दिल्ली आएका नेपालीहरुसँग भलाकुसारी गर्ने हो । विगत करीब तीन वर्षदेखि उनको दैनिकी यसरी नै बितिरहेको छ । अस्पताल आउन जान केही टाढा भए पनि राजीव गान्धी क्यान्सर अस्पतालमा आउने नेपालीहरुमध्ये अधिकांश सोमबजारतिरै बस्ने भएकाले उनी पनि यतै बसेका छन् । यसले आफूलाई मन भुलाउन केही सहज भएको बताए ।

नेपालीहरुसँग भेट्दा रोगविरुद्ध जारी लडाईंबाट प्राप्त अनुभव पनि साट्ने गर्छन् उनी । उनीहरुलाई केकस्तो कुरामा विचार पुर्‍याउनुपर्छ भनेर सुझाउँछन् । उनले दिल्लीमा भेटिएका नेपालीहरुलाई दिने सबैभन्दा पहिलो र दरिलो सुझाव भनेको आत्मविश्वास र खर्चमा मितव्ययी हुनु नै हो ।


‘आत्मविश्वास टुट्नु हुँदैन । अनि हिसाबमा मितव्ययी हुनुपर्छ । नबुझि जथाभावी खर्च गर्न हुँदैन । भोली कति खर्च लाग्छ केही भन्न सकिँदैन । क्यान्सर रोगको उपचार भनेको निकै लामो दौड जस्तै हो,’ उनले भने । सँगै उनले नेपालमै उपचार हुन्छ कि हुँदैन त्यो समेत बुझ्न आग्रह गर्ने गरेका छन् । ‘मेरो जस्तो अवस्था नहोस् भनेर दिल्ली आउन हतार नगर्नुस् समेत भन्ने गरेको छु,’ उनले भने ।

अरुलाई त्यस्तो सुझाव दिए पनि उनको आत्मविश्वास समेत कैयौंपटक डग्मगायो । अब यति नै हो कि भन्ने अवस्था पनि अयो ।


छोराले भर्खरै एसइइ पास गरेको खबरले उनी दंग परेका छन् । उनले छोरालाई फोनबाटै बधाई दिए । ‘बेग्लै खुशी हुँदो रहेछ, छोराछोरीको सफलतामा,’ उनले भने । छोराछोरी दुवैलाई भने बुबालाई लागेको रोगका बारेमा थाहा छ । इन्टरनेटमा खोजिरहन्छन् । रोग के हो कसो भनेर ? बुबा हतास भएको बेला ठिक हुन्छ भनेर ढाडस पनि दिन्छन् ।


५२ वर्षका विनोदले रोग लाग्नुअघि नै ६० वर्षमा व्यापार छाड्ने योजना बुनेको बताए । ‘छोराछोरीको पढाइ पुरा गरिदिएपछि आफ्नै खुट्टा उभिन्छन् अनि सक्रिय जीवनबाट अलग हुने सोच बनाएको थिएँ,’ उनले भने, ‘त्यसपछि गाउँमै गएर सामाजिक कार्य गर्ने सोचमा थिएँ । अब छोराछोरीको पढाई नसकिन्जेल बाँच्न पाउँ भन्ने छ ।’


उनी एक्लै हुँदा मन भुलाउन किताब र पत्रपत्रिका पढ्ने गर्छन् । पढ्ने बानीले गर्दा नै उनले पछिल्लो समय क्यान्सरमाथि जित हात पारेर चर्चामा रहेका मनीषा कोइरालादेखि सोनाली बेन्द्रेको संघर्षका कथा पढे । ती कथाले उनमा आत्मबल थपिदिएको छ ।


प्रकाशित : असार १७, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?