कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोशनले संसार देखेपछि भने, ‘अब म स्कुल जान्छु’

प्रताप विष्ट

(हेटौंडा) — डा. सन्दुक रुइतले जब आँखाको पट्टी खोलिदिए, रोशन थिङ चिच्याए, ‘मैले सबैलाई देखें ।’ डा. रुइतको अनुहार र टाउको मुसारे । डा. रुइतले औंला देखाएर सोधे, उनले फटाफट गने । डा. रुइत दंग देखिए । थिङको अनुहारमा पनि खुसी छचल्किरहेको थियो । 

रोशनले संसार देखेपछि भने, ‘अब म स्कुल जान्छु’

हेटौंडा उपमहानगरपालिका–१४ स्थित उत्तरपानीका १३ वर्षीय थिङका दुवै आँखा तीन वर्षदेखि बन्द थिए । आँखाले देख्न छाडदा उनी स्थानीय विद्यालयमा २ कक्षामा अध्ययन गर्दै थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक साताअघि सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा हजुरआमा माइलीमाया थिङले रोशनलाई पिठ्युँमा बोकेर ल्याएकी थिइन् । चिकित्सकले परीक्षण गर्दा दुवै आँखा मोतियाविन्दु भएको पत्ता लाग्यो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनको शल्यक्रिया गरियो । उनका दुवै आँखाको शल्यक्रिया डा. रुइतले नै गरेका थिए । उनको आँखाको पट्टी बुधबार खोलिएको हो ।


आँखा देख्नेबित्तिकै थिङले हजुरआमालाई खोजे । हजुरआमा नजिकै आएपछि दुवै मजाले हाँसे । उनलाई हजुरआमाले नै हुर्काउँदै आएकी छन् । ‘अब म स्कुल जान्छु,’ थिङले भने, ‘आँखा नदेखेर मात्र पढ्न जान नसकेको हो ।’

थिङसँगै शल्यक्रिया गरिएकी ९७ वर्षीया फूलमाया श्रेष्ठ आँखा देख्न थालेपछि खुसीले रोइन् । ‘म २ वर्षदेखि कुजो भएर बसेकी थिएँ,’ उनले डा. रुइतको हात समाउँदै भनिन्, ‘अहिले दुवै आँखा देखें, तिमी भगवान रहेछौं ।’ उनका दुवै आँखाको शल्यक्रिया मंगलबार डा. रुइतले नै गरेका थिए ।


बारा मधुवनकी श्रेष्ठलाई दुवै आँखाको शल्यक्रिया गर्न अस्पताल नै ल्याइएको थियो । हेटौंडा उपमहानगरपालिका–१४ का ७९ वर्षीय वीरबहादुर थोकर पनि आँखा देख्न थालेपछि खुसी छन् । उनले चार वर्षपछि आँखा देख्न पाएका हुन् । ‘घर भित्रबाहिर गर्न पनि सक्तिनथेँ,’ उनले भने, ‘अब बाहिरी संसार देख्ने भएँ ।’


मंगलबार र बुधबार गरेर २ सय जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो । दुवै आँखाको शल्यक्रिया भने रोशन, फूलमाया र वीरबहादुरको मात्र गरिएको हो ।


मोतियाविन्दुका रोगी खोजी गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको उत्तरपानी, भार्ता, कालिकाटार, बाराको लालरतनपुर र सर्लाहीको रामानगर नि:शुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार २ सय जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २ सय जना मोतियाविन्दुका रोगी रहेको अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । रोगीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न अस्पतालले बसमा हेटौंडा ल्याएको थियो ।

‘अस्पतालले आँखाका बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती उपलब्धिलाई जोगाउनु र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखारोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु हो,’ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले भने । अस्पतालमा तीन जना नेत्ररोग विशेषज्ञसहित ४० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत् छन् । अस्पतालले मासिक १६ लाख रुपैयाँ बराबरको रकम शुल्कबापत संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीमध्ये नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरिएको छ । अन्य रकम अस्पतालले लिँदैन ।

प्रकाशित : असार १९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?