कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिपोलीबाट मुस्किलले स्वदेश

दिनहुँको विस्फोट र द्वन्द्वले लिबिया बस्न नसकिने भएपछि नेपाली युवा अवैध बाटो इटाली छिर्ने योजनामा लागे तर समुद्री सुरक्षा गार्डले बीचैमा पक्रिहाले । 
एकमहिने क्याम्प बसाइपछि उनीहरु नेपालै फर्किएका छन् । सागैका साथी सन्तोष श्रेष्ठ भने क्याम्पभित्रै हवाई आक्रमणमा मारिए ।
जनकराज सापकोटा

काठमाडौँ — अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन् । गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा उनीहरूसँगै लिबिया पुगेका लमजुङ बेसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो ।

त्रिपोलीबाट मुस्किलले स्वदेश

त्रिपोलीबाट अवैध रूपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुद्रिक सुरक्षा गार्डले फर्काएपछि झन्डै एक महिना क्याम्पमा बसेर उनीहरू नेपाल फर्किएका हुन् ।


यसरी फर्किनेमध्येको एक थिए, लमजुङ बेसीसहरका दिनेश बस्नेत । शुक्रबार बिहान ७ बजे विमानस्थल बाहिर भेटिएका दिनेशसहितले आफ्नो दु:खपूर्ण लिबिया यात्राको वृत्तान्त सुनाए । ६ वर्ष नेपाली सेनाको जागिर गरेर छाडेका दिनेश वैदेशिक रोजगारीमा जाने ध्याउन्नमा थिए । एक वर्षअघि मात्रै उनले पोल्यान्ड जान भारतको नयाँदिल्लीस्थित पोल्यान्ड दूतावासमा तीन पटकसम्म अन्तर्वार्ता दिएका थिए । एजेन्टको भरमा पोल्यान्ड जाने आशामा गरेको लामो दौडधुप र झन्डै साढे तीन लाख खर्च भएपछि उनले त्यो प्रक्रिया नै त्यागे । विदेश जाने प्रक्रिया नमिलेपछि दिनेशले किस्ताबन्दीमा ट्रक किनेर चलाए । तर भनेजस्तो कमाइ गर्न र समयमै किस्ता तिर्न नसकेपछि उनले ट्रक गुमाए । उनले सुनाए, ‘गर्न खोज्दाखोज्दै सकिएन । उल्टै ऋण लाग्यो । त्यसपछि विदेश जान तम्सिएँ ।’ यही बेला उनले नाताले भिनाजु पर्ने एक जनाबाट थाहा पाए, लिबिया जान सके गतिलो कमाइ हुन्छ । तिनै आफन्तले भनेपछि उनले दुबई बस्ने सिजन क्षेत्रीसँग फेसबुकमा सम्पर्क गरे ।


सिजनले दुबई आउन सके लिबिया छिराइदिने र मासिक डेढ लाखसम्म कमाइ हुने भनेपछि दिनेश र सोही गाउँका सन्तोष श्रेष्ठ र राजकुमार गुरुङ दुबई पुगे । उनीहरूले लिबिया हिँडेका अर्का एक नेपालीलाई पनि दुबईमै भेटेका थिए । दिनेश जस्तै एजेन्टको पासोमा परेर अर्को पाँच जनाको समूह पनि दुबई पुगेको थियो । लिबियाबाट फर्केका आठै जना एजेन्टको सेटिङमा सजिलै भिजिट भिसामा दुबई पुगेको देखिन्छ । कान्तिपुरसँगको कुराकानीमा उनीहरूले विमानस्थल अध्यागमन कर्मचारीलाई एजेन्टले सेटिङ मिलाएको र बिना रोकावट आफूहरू दुबई पुगेको बताए ।


फरकफरक समयमा लिबिया पुगेका नौ जना दुबईमा लामो समय बसेर मात्रै लिबिया पुगेको देखिन्छ । एजेन्टले भोलिभोलि भन्दाभन्दै दिनेशको समूह एक महिना दुबई बस्यो । बल्लतल्ल सेटिङमा लिबिया छिरे पनि दिनेशले भने जस्तो काम पाएनन् । उनले त्रिपोलीको एक अस्पतालको क्यान्टिनमा वेटरको काम पाए । दैनिक १२ घण्टा र सातै दिन काम गर्दा पनि मासिक कमाइ ३० हजार रुपैयाँ पनि कटेन । उनले सुनाए, ‘साढे दुई महिना काम गरेपछि हामी यसरी हुँदैन भन्ने निष्कर्षमा पुग्यौं ।’ दिनेशका अनुसार त्रिपोलीमा सक्रिय द्वन्द्वरत समूहहरूले हिंसा चर्काउन थालेपछि त्यहाँ बस्नै नसक्ने अवस्था भइसकेको थियो । ‘हामी काम गर्ने अस्पतालमै दैनिक विस्फोटले हातखुट्टा चुँडिएका र क्षतविक्षत मान्छे उपचार गर्न ल्याइन्थ्यो । त्यो देखेर पनि हामी डरायौं,’ उनले भने । एक दिन अस्पताल नजिकै भएको विस्फोटपछि उनीहरू बस्ने कोठाको झ्यालको सिसा फुट्यो । त्यसपछि आफूहरू पासपोर्टबिनै कम्पनी छाडी भागेको दिनेशले बताए ।


त्रिपोली सहरमा द्वन्द्व चर्किन थालेपछि लिबिया पुगेका अरू नेपालीजस्तै ९ नेपाली बंगाली एजेन्टको सहारामा इटाली छिर्न खोजेको देखिन्छ । काम छाडेर कम्पनीबाट भागेपछि दिनेशसहितका साथीले एक जना बंगाली एजेन्टलाई भेटे । उनले ३ हजार डलर तिरे अवैध रूपमा समुद्रको बाटो हुँदै इटाली छिराइदिने बताए तर पछि बार्गेनिङ गरेपछि २ हजार ५ सय डलरमा कुरा मिलेको उनको भनाइ छ ।


एक रात १२ बजेतिर दिनेशसहित सन्तोष श्रेष्ठ, राजकुमार गुरुङ, पूर्णप्रसाद अधिकारी र नेत्र भण्डारी मेडेटेरियन समुद्रको किनारमा पुगे । रबरमाथि फलेक ओछ्याएर बनाइएको डुंगामा पहिल्यै अफ्रिकी र बंगाली थिए । ३४ जनाभन्दा धेरै चढ्न नमिल्ने भएपछि सन्तोष अर्को खेपमा इटाली जाने सल्लाह भयो । लगातार २२ घण्टा डुंगा चढेपछि उनीहरू इटाली नजिकै पुग्न आँटेका थिए । त्यही बेला डुंगाको दिशासूचक यन्त्र बिग्रियो अनि डुंगालाई अगाडि बढाउन प्रयोग गरिएको मोटरको इन्धन पनि सकियो । पूर्णका अनुसार घण्टौंसम्म डुंगा समुद्रको लहरमा तैरियो । बिस्तारै डुंगाको रबर च्यातिन थाल्यो र पानी भरिन थाल्यो । अरू यात्रुले झैं उनीहरूले पनि अञ्जुलीले पानी उभाउँदै फालिरहे । ‘अब यहीँ मरिने भयो भन्ने भयो । मैले आमा र परिवारका सदस्यलाई सम्झिइरहें,’ पूर्णले भने ।


धन्न त्यही बेला अवैध रूपमा समुद्रको बाटो युरोप छिर्नेहरूलाई रोक्न हेलिकप्टरमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई देखेपछि उद्धार गरेर लिबिया नै फर्काइदिए । दिनेशका अनुसार उनीहरू झन्डै ३६ दिन त्रिपोलीकै एक आप्रवासी क्यापमा बसे । त्यतिबेला स्थानीय माफिया समूहकाले उनीहरूलाई दिनहुँ थर्काउँथे । उनले भने, ‘५ हजार डलर नदिएसम्म निस्कन दिन्नँ भन्दै थर्काउँथे ।’ यसरी मानसिक यातना सहेर दिन गुजारिरहेका बेला उनीहरू लुकेर मिडिया एवं अन्तर्राष्ट्रिय आप्रवासी समूहको सम्पर्कमा पुगे ।


आफूहरू क्याम्पबाट उद्धार भएपछि मात्रै दिनेश र अरू साथीहरूले गाउँबाट सँगै लिबियाका लागि हिँडेका सन्तोष क्याम्पभित्रै भएको हवाई आक्रमणमा मारिएको खबर थाहा पाए । सँगै बसेका साथीको मृत्युको खबरले आफू मर्माहत भएको पूर्णले बताए । ‘भगवान्को सदिच्छाले बाँचेर आइयो, भन्नुस्,’ उनले भने ।


फर्किएर नेपाल आएका मध्ये अधिकांशले ८ देखि १० लाख रुपैयाँ खर्चेको देखिन्छ । गत पुसमा साढे ६ लाख खर्चेर भिजिट भिसामा दुबई पुगेका लमजुङका राजकुमार गुरुङले लिबिया पुगेपछि थप तीन लाख खर्च भएको प्रतिक्रिया दिए । ‘सँगै हिँडेका साथी मृत्युको मुखमा पुगे पनि हामी भाग्यले बाँची आयौं, यही ठूलो भयो,’ उनले भने ।


चितवन गुन्जनगरका दिलीप विक भदौ १४ गते दुबईका लागि उडेका थिए । उनलाई भने दुबई बस्ने रामचन्द्र घिमिरे नामका एजेन्टले दुबई हुँदै लिबिया पठाइदिने भनेका थिए । चार वर्ष कतार बसेर गत वर्ष माघमा फर्केका रामचन्द्र स्वदेशमै केही गर्ने मेसो नमिलेपछि राम्रो कमाइको आसमा लिबिया जान तम्सिएका थिए । काठमाडौंका एजेन्टलाई साढे चार लाख बुझाएको र दुबई ओभर स्टे भएपछि दुई महिना बसेबापत एक लाख जरिवाना बुझाएर लिबिया उडेको दिलीपले बताए । आफूसहितको टिमलाई एजेन्ट रवि प्रसार्इंले लिबिया उडाएको उनको भनाइ छ ।


शुक्रबार फर्केका नेत्र भण्डारीले भने संखुवासभा खाँदबारीका कमल भनिने लोकमान राईले आफूलाई लिबिया पुर्‍याएको बताए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अवैध रूपमा सेटिङमा नेपालीलाई लिबिया पुर्‍याउनेमध्ये लोकमान सबैभन्दा ठूला एजेन्ट हुन् । ३१ जेठमा ब्युरोले द्वन्द्वग्रस्त देश लिबिया पुर्‍याउने काममा संलग्न भएको आरोपमा राईसहित खोटाङ चिसापानीका राहुल गहतराज, तीर्थबहादुर विश्वकर्मा जस्ता नाम बताउने राहुल थापालाई समातेको थियो । लिबियाबाट उद्धार भई फर्केका १५ जना पीडितको निवेदनका आधारमा उनीहरू पक्राउ परेका थिए ।


लिबिया जान सँगै घर छाडेका दिनेशसँग फर्किंदा बाल्यकालदेखिका साथी सन्तोष सँगै थिएनन् । दिनेशलाई इटालीका लागि डुंगा चढेर हिँडेपछि र बीचमै डुंगा बिग्रिएपछि जिन्दगी यहीं सकिन्छ कि भन्ने लागेको थियो । त्यही बेला उनले सोचेका थिए, हामीसँगै नआएर बरु सन्तोषले बुद्धि पुर्‍यायो । तर उनले सोचेभन्दा ठ्याक्कै उल्टो भयो । दिनेशले भासिएको स्वरमा सुनाए, ‘हामी मृत्युको मुखमै पुगेर बाँच्यौं । सुरक्षित होला भनेको सन्तोषको सोच्दै नसोचेको मृत्यु भयो ।’ यति भनेपछि उनले लामो सास फेरे र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आएका साथीसँगै लुखुरलुखुर बाहिर लागे । किनकि उनीसँग घरबाट जाँदा लगेको सुटकेस र पासपोर्ट पनि थिएनन् । हातमा आईओएमले थमाइदिएको नीलो रङको झोला अनि केही पुराना कपडा थिए । लिबियामै गुमाएको साथीको याद पनि थियो ।


प्रकाशित : असार २१, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?