कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेटिए पाँच रेडपान्डा 

बलराम घिमिरे

रसुवा — लाङटाङ राष्ट्रिय निकुञ्जको पोलाङ पाटी क्षेत्रमा पाँच वटा रेडपान्डा भेटिएका छन् । समुदायमा आधारित चोरीसिकार नियन्त्रण समूहले अनुगमनका क्रममा करिब २० दिनअघि लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेट्टाएको निकुञ्जको भनाइ छ । 

भेटिए पाँच रेडपान्डा 

ठूलो स्याफ्रु क्षेत्रको गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्कमा ती रेडपान्डा चरिरहेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले जानकारी दिए । अनुगमन तथा गस्तीमा जाने कर्मचारी, समूहका पदाधिकारी र सुरक्षाकर्मीले फाट्टफुट्ट रूपमा रेडपान्डा देख्दै आएका थिए । ‘तर उक्त क्षेत्रमा एकै पटक पाँच वटा रेडपान्डा भेटिएको यो पहिलो हो,’ गैरेले भने ।


समूह र निकुञ्जका कर्मचारीले रेडपान्डा बासस्थान क्षेत्रमा नियमित गस्ती र अनुगमन गर्दै आएका छन् । सन् १९८७ मा प्रह्लाद योञ्जनले पहिलो पटक रेडपान्डाको अवस्थाबारे लाङटाङ राष्ट्रिय निकुञ्जको पोलाङ पाटी क्षेत्रमा अनुसन्धान गरेका थिए । घनाजंगल रहेको पोलाङ पाटी क्षेत्रमा रूखमा आराम गरिरहेको अवस्थामा रेडपान्डा फेला पारिएको नादाङचे चोरीसिकार नियन्त्रण समूहका अध्यक्ष नाक्पुदोर्जे तामाङले बताए । अनुगमनमा जाने टोलीले रेडपान्डाको तस्बिर र भिडियो पनि खिचेका थिए । रेडपान्डा संरक्षणका लागि ठूलो स्याफ्रुका स्थानीय बासिन्दा सक्रिय रूपमा लागेका छन् ।


अध्ययन अनुसन्धानको क्रममा रेडपान्डा भेटिए पनि निकुञ्जमा कतिको संख्यामा रेडपान्डा छन् भन्ने यकिन तथ्यांक भने छैन । भौगोलिक विकटताका कारण गणना गरेर रेडपान्डाको वास्तविक संख्या पत्ता लगाउन कठिन हुने निकुञ्जले बताएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङ पाटी र ढोकाचेत खर्क रेडपान्डाको मुख्य बासस्थान क्षेत्र हो ।


नुवाकोटको घ्याङफेदीलगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा रेडपान्डा पाइन्छ । ८ देखि १० वर्षसम्मको आयु हुने लजालु स्वभाव भएको रेडपान्डाको बासस्थान विनाश र चोरीसिकारले गर्दा विश्वभरि संकटमा परेको छ । दुई हजार आठ सय मिटरदेखि ३ हजार ६ सय मिटर उचाइमा पाइने रेडपान्डाको मुख्य आहार निगालो हो । यो जनावर नेपाललगायत भारत, चीन, बर्मा र भुटानमा मात्र पाइन्छ । विश्वमा करिब १० हजार रेडपान्डा रहेको अनुमान गरिएको छ । नेपालका ९ वटा संरक्षित क्षेत्रमा यो पाइन्छ ।

प्रकाशित : असार २१, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?