कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवस्थापनको निहुँमा सल्लो दोहन

भीमबहादुर सिंह

जाजरकोट — वन व्यवस्थापनको बहानामा अवैध खोटो संकलन र काठ बिक्री बढ्दा जिल्लाको सल्लेरी वन विनाश हुँदै गएको छ । उपभोक्ता समिति र व्यापारीको मिलेमतोमा दोहन भइरहे पनि सरोकारवाला निकायले वास्ता गरेका छैनन् । 

शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकाका दर्जनौं सामुदायिक वनमा सल्लो फँडानी भएको छ । ती वनमा प्रारम्भिक वातावरणीय परीक्षणबिनै खोटो संकलनसमेत जारी छ ।


शिवालय १ स्थित छहरी खोला, चुली ढर्मिला, छेडागाड १२ स्थित चामे पातल र छेडागाड १ को कुटिला सामुदायिक गरी ४ वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । कार्यक्रमअन्तर्गत संघ र प्रदेश सरकारबाट ५/५ लाखका दरले १० लाख अनुदान पनि आएको छ । तर उक्त वनमा संरक्षणभन्दा फँडानीले उग्ररूप लिएको पाइएको छ । जंगल घेराबार गर्ने, चरिचरन रोक्ने, वृक्षरोपण गर्ने, अग्निरेखा बनाउने, पुनरुत्पादन, भू–संरक्षण गर्ने, चोरी कटान, अतिक्रमण नियन्त्रणलगायत काम प्राथमिकतामा छैनन् ।


कार्यक्रम लागू भएको जंगलमा सडापरा रूख कटानको निहुँमा सल्लाको विनाश बढेको जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानीप्रसाद शर्माले बताए । शिवालय गाउँपालिकाको छहरीखोला, बासखोली, भिउथापा, नाहाडालगायत २२ वटा सामुदायिक वनमा तीव्ररूपले फँडानी भएको उनले जनाए ।


‘एउटै सामुदायिक वनमा डेढ सय बढी सल्लाका रूख फँडानी भएका छन्,’ उनले भने, ‘सल्लाका हजारौं गिन्टा सडकछेउछाउ थुपारेर राखिएको छ ।’ सामुदायिक वन उपभोक्ता समूहलगायतले आर्थिक प्रलोभनमा वन विनाश गरेको शर्माको आरोप छ । सामुदायिक वनको कार्ययोजनामा ढलेका रूख व्यवस्थापन गर्ने भनिए पनि उपभोक्ताले आर्थिक प्रलोभनमा सग्लै रूख काटेका छन् ।


एउटै सामुदायिक वनबाट ५० लाखभन्दा बढीका काठ बिक्री भएको पाइएको छ । समुदायमा हस्तान्तरण भएका वनमा विनाश बढी छ । सामुदायिक वन उपभोक्ताले वार्षिक कार्ययोजनाअनुरूप सल्लाका रूख कटान गरेको डिभिजन वन अधिकृत महेश कुमाईले बताए । एउटा सामुदायिक वनले वार्षिक १ सय सडापरा सल्ली रूख कटान गर्ने कार्ययोजना बनाएको उनको भनाइ छ ।


स्थानीय तहले डोजरले जथाभावी सडक खन्दा, वन अतिक्रमण, आगलागीलगायत कारणले सल्लाका रूख ढल्ने गरेको कुमाईले जानकारी दिए । ‘सडापरा रूख कटान गर्न पाउने कार्ययोजनाले तनाव दिएको छ,’ उनले भने, ‘कार्ययोजना बाहिर गएर कटान गरेको फेला पारे सम्बन्धित उपभोक्तालाई कारबाही गरिनेछ ।’


जिल्लाका दर्जनौं वनमा अवैध खोटो संकलन हुने गरेको छ । यसबाट ९६ सामुदायिक वनका हजारौं खोटे सल्ला सुकेका छन् । खोटो कम्पनीले खोटो संकलन कार्यविधि २०६४ विपरीत संकलन गरिरहेको स्थानीय दलसिंह ओलीले बताए । जिल्लामा ९ खोटो कम्पनीले १६ वर्षदेखि खोटो संकलन गर्दै आएका छन् । उनीहरूले वार्षिक रूपमा पाएको अनुमतिभन्दा बढी खोटो संकलन तथा निकासी गर्छन् ।


भेटिएजति सबै सल्लाका रूखको चारैतिरबाट खोटो निकाल्ने गरिएको छ । एक हेक्टरमा ५ देखि १० वटाजति माउ रूख सुरक्षित राख्नुपर्ने खोटो संकलन कार्यविधिमा उल्लेख छ । हरेक वर्ष चैतदेखि कार्तिकसम्म खोटो संकलन गर्नुपर्ने हुन्छ । कार्यविधिअनुसार एउटा रूखमा ३२ जोडी रिल बनाउन सकिन्छ । तर कम्पनीले छोटा समयमा धेरै खोटो निकाल्न १ सय जोडी रिल बनाउने गरेका छन् ।


कार्ययोजनाविपरीत खोटो संकलन गर्न नपाइने डिभिजन वन अधिकृत कुमाईले बताए । बंगलामुखी रोजिन एन्ड टर्पेन्टाइन गनापुर बाँके, स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन चन्नौटा कपिलवस्तु, देउती रोजिन एन्ड टर्पेन्टाइन बाँके, माउन्ट रोजिन एन्ड टर्पेन्टाइन रूपन्देही, मनकामना रोजिन एण्ड केमिकल उद्योग बाँके, दीपमाला रोजिन एण्ड प्रालि टर्पेन्टाइन, जयबागेश्वरी रोजिन बाँके र ग्लोबल केमिकल्स प्रालि अत्तरिया, कैलालीले खोटो संकलन गर्दै आएका छन् । जिल्लामा २ सय ७४ सामुदायिक वन छन् ।

प्रकाशित : असार २३, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?