कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय पुस्तकालयको डिजाइन तयार, रानीपोखरी उत्तरतर्फको जग्गामा नयाँ भवन बनाइँदै

करिब ५५ करोड लागतमा जमलमा दुई आधुनिक भवन बन्दै 
गणेश राई

काठमाडौँ — भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा बनाइने भएको छ । भवनको नक्सासहितको डिजाइन शिक्षा मन्त्रालयमा मंगलबार सार्वजनिक गरियो । राष्ट्रिय पुस्तकालय राष्ट्रकै निम्ति असाधारण विषय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

राष्ट्रिय पुस्तकालयको डिजाइन तयार, रानीपोखरी उत्तरतर्फको जग्गामा नयाँ भवन बनाइँदै

‘यो हाम्रो देशको प्रतिष्ठासँग गाँसिएको विषय हो,’ उनले भने, ‘सबै पक्षको सहमतिमा मन्त्रिपरिषद् निर्णयले जग्गा उपलब्ध गराइयो । अब भवन निर्माण प्रक्रिया अघि बढेको छ । चाँडै बन्छ ।’

मन्त्रिपरिषद्ले गत असोजमा जमलस्थित कित्ता नम्बर १२७० को करिब ८ रोपनी (४०६७ दशमलव ८५ वर्गमिटर) जग्गा राष्ट्रिय पुस्तकालयलाई दिने निर्णय गरेको छ, जुन यसअघि त्रिभुवन विश्वविद्यालय मातहत थियो । अहिले शंकरदेव क्याम्पसले कक्षा सञ्चालन गर्दै आएको छ ।


रानीपोखरी उत्तरतर्फको उक्त जग्गामा नयाँ भवन बनाइँदै छ । पहिलो भवन ६ तलाको हुनेछ भने दोस्रो ३ तलाको । भवनको डिजाइन शाह एसोसिएट प्रालिले गरेको हो । ‘राष्ट्रिय पुस्तकालय भएकाले भवनको संरचना नेपाली कलासंस्कृति झल्कने किसिमको बनाइनेछ,’ इन्जिनियर रञ्जनसिंह शाहले डिजिटल नक्सा प्रस्तुत गर्दै भने, ‘भवन आठ रेक्टरस्केलको भूकम्पप्रतिरोधी हुनेछ ।’ यी भवनको निर्माण लागत ५५ करोड रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् ।


पुस्तकालय हाताभित्र स्थानीय नेवार ज्यापू समुदायका कुलदेवता नासद्यः रहेकाले विशेष ध्यान पुर्‍याउन जुजुभाइ डंगोलले ध्यानाकर्षण गराएका छन् । ‘दैनिकजसो कुलदेवताको पूजा हुने र हरेक महिना २०/२५ जनाको टोलीले धिमे बाजा बजाएर परिक्रमा गर्ने भएकाले पुस्तकालय भवन निर्माणमा ध्यान पुग्न जरुरी छ,’ उनले भने ।


भवनका लागि आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताए । ‘साउन लाग्नेबित्तिकै डीपीआर बन्छ,’ उनले भने, ‘त्यसलगत्तै पुराना संरचना भत्काउन र माटो परीक्षणको काम हुनेछ । असोजमा जग हाल्ने काम हुनेछ ।’


भवन निर्माणमा स्थानीय समुदायको चासो रहेको गुठीको मन्दिरलाई ख्याल गरिने शिक्षा सचिव खगराज बरालले बताए । ‘पुस्तकालय निर्माणाधीन हातामा नेवारी संस्कृतिको परम्परागत गुठी रहेकाले त्यसलाई सुरक्षित राख्न जरुरी छ,’ उनले भने, ‘विज्ञसँग विस्तृत सल्लाह, सुझाव लिई सय वर्षपछिसम्मका पाठकको कल्पना गरेर भवन बनाइनेछ ।’


२०७२ वैशाख १२ को भूकम्पले राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवन ध्वस्त बनेको थियो । त्यसयता सम्पूर्ण पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन मावि र सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको भवनका बोरामा थन्क्याइएका छन् । पुस्तकालयको प्रशासन र बाल पुस्तक कक्ष भने हरिहर भवनसँगैको तबेला भवनमा छ ।


तथ्यांकअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । साथै मराठी, पाली, फ्रेन्च, जापानी, थाई, मलेसियाली र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सिरियल नम्बर (आईएसएसएन) दिँदै आएको छ ।


सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तक खरिद गरेर संकलन थालिएको थियो । उति बेला सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवन सारिएको थियो ।



प्रकाशित : असार २४, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?