कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुधालु भैंसी एउटा ‘सानो टोकन’

भूषण यादव

वीरगन्ज — उनी बायाँ खुट्टा खोच्याउँदै मुख्यमन्त्रीका अगाडि उपस्थित भएका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको उपस्थितिमा उनले एउटा भैंसीको दाम्लो समाते । 

दुधालु भैंसी एउटा ‘सानो टोकन’

गाई कि भैंसीमध्ये के चाहिन्छ भनेर पहिला कलैया–१२ शीतलपुरका ५१ वर्षीय जितेन्द्र यादवलाई फारम भर्न लगाइएको थियो । सोमबार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहिद तथा घाइते परिवारलाई दुधालु भैंसी वितरण कार्यक्रम गर्दै थियो । २०६३ माघ १४ मा गोली लागेर यादव घाइते भएका थिए । आठ महिनाको उपचारपछि घर फर्किएयता बायाँ खुट्टा खोच्याएर हिँड्छन् । आन्दोलनमा घाइते भएपछि उनले किराना पसल थापेका छन् । ‘भैंसी चराउन म आन्दोलनमा गएको थिइनँ,’ उनले भने, ‘सरकारले हाम्रो क्षमताअनुसार रोजगारीको मौका दिनुपर्थ्यो ।’


भैंसीको सट्टा बरु नगद दिएको भए व्यापारमा लगानी थप्न मिल्थ्यो । उनले भने, ‘आफू सामान्य तरिकाले हिँडडुल गर्न सक्दिनँ, त्यसमाथि यो भैंसी कसले पालिदेओस् ?’


त्यसैगरी अर्को भैंसीको दाम्लो समाउन आएका थिए, पर्साको कालिकामाई गाउँपालिका– १ का राजेश्वर साह कानु । उनी पनि मधेस आन्दोलनका घाइते हुन् । २०६३ माघ २१ मा उनको खुट्टामा गोली लागेको थियो । उपचारका क्रममा दाहिने घुँडामुनिको भाग काटिएयता कृत्रिम खुट्टाको भरमा छन् । ‘कृत्रिम खुट्टाको भर थियो, त्यो पनि भाँचिएको छ,’ उनले भने, ‘मलाई खुट्टा आवश्यक छ । प्रदेश सरकारले भैंसी दियो । म के गरौं ?’ भैंसी चराउन उनको घरमा अरू कोही छैन । ‘चार भाइमध्ये म मात्र घरमा बस्छु । अरू बाहिर काम गर्न गएका छन्,’ उनले भने, ‘मेरो खुट्टाको उपचारका लागि आफ्ना क्षेत्रका प्रदेश सांसदलाई पटकपटक भन्दा पनि चासो लिएका छैनन् ।’ प्रदेश सरकारले आवश्यकता नबुझी आफूखुसी भैंसी वितरण गरेको गुनासो गर्नेको भीडमा उनी एक्लो थिएनन् । ‘मधेस आन्दोलनका सहिद तथा घाइते परिवारका के आवश्यकता छन्, त्यो बुझ्ने प्रयास गरिएन,’ उनले भने, ‘सिधै गाई वा भैंसीमध्ये के चाहिन्छ भनेर फारम भर्न लगाइयो ।’


गाउँकै अस्पतालमा कार्यालय सहयोगी रहेका उनले सहयोगको साटो सरकारले झन्झट बढाइदिएको बताए । कालिकामाई गाउँपालिका शिववर्वाका अकलु पासवान पनि आफैं बस्ने गतिलो घर नभएका बेला सरकारले भैंसी दिएर समस्यामा पारेको गुनासो गर्छन् । अकलु पहिलो मधेस आन्दोलनमा घाइते लोरिक पासवानका पिता हुन् । ‘जे पाइयो यही भैंसी हो । नत्र अरू के नै छ र हामीसँग,’ उनले भने, ‘मान्छे बस्ने त घर छैन, भैंसी कहाँ राख्नु ?’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत प्रदेश २ का आठ जिल्लाका ५८ सहिद परिवार र ६४ जना घाइतेका परिवारलाई दुधालु भैंसी वितरण गरिएको छ । वीरगन्जमा सोमबार बारा र पर्साका २६ परिवारले भैंसी पाए । गोठ बनाउन र औषधोपचारका लागि ३० हजार रुपैयाँ नगद पनि दिइने प्रदेशको पशुपन्छी विकास महाशाखाका निमित्त प्रमुख इन्द्रदेव साहले बताए ।


‘सरकारले दिएका भैंसी ३ वर्षसम्म बेच्न पाइँदैन,’ उनले भने, ‘दाइजोमा पनि दिन मिल्दैन ।’ मन्त्रालयले पहिलो वर्षका लागि भैंसीको बिमासमेत गरिदिएको उनले बताए । पहिलो मधेस आन्दोलनमा सहिद बाराका शेख अब्दुल असरफकी श्रीमती शोभा राजवंशी छोरीलाई साथ लिएर भैंसी लिन कार्यक्रममा आएकी थिइन् । पेसाले अनमी उनले नोकरी गर्दै छोराछोरी स्याहार्ने कि भैंसी स्याहार्ने भन्नेमा अलमलमा परेको प्रतिक्रिया दिइन् ।


‘भैंसीको सट्टा पैसा दिएको भए सानोतिनो व्यापार पो गर्थ्यौं कि,’ उनले भनिन्, ‘घरमा कोही लोग्ने मान्छे पनि छैनन् । हामीलाई अप्ठ्यारो छ । तैपनि मन्त्रीजीले भैंसी दिनुभयो उहाँलाई धन्यवाद छ ।’ सहिद वीरबिल मुखियाकी श्रीमती सारदा देवीले भैंसी पाएपछि सेवा गर्ने बताइन् । ‘मालिक (श्रीमान्) गए, जे पाइरहेको छ ठीकै छ,’ उनले भनिन्, ‘छोरा–बुहारी मिलेर पाल्छौं ।’


एउटा दुधालु भैंसीको मूल्य करिब ९० हजार रुपैयाँ परेको मन्त्रालयले जनाएको छ । फेटा गाउँपालिका–२ जगतपुरका सहिद मजिद मन्सुरका पिता सरिफ मियाँले सरकारले लगानी परेको भनेको पैसाअनुसारको भैंसी नपाएको गुनासो गरे । ‘यस्तो भैंसी ४०/५० हजार रुपैयाँमा गाउँमा पाइन्छ,’ आफूलाई दिइएको भैंसी देखाउँदै उनले भने, ‘भैंसीले दिने दूध घरमै खाएर सकिन्छ, बाहिर बिक्री गर्नका लागि बच्दैन ।’ जिल्ला समन्वय समिति परिसरमा उपस्थित अधिकांश भैंसी पाउने परिवारका मुहारमा खुसीभन्दा अन्योल देखिन्थ्यो ।


के आधारमा भैंसी दिने निर्णयमा सरकार पुग्यो भन्ने प्रश्नमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आशयपत्र प्रकाशित गरी सूचना माग गरिएको बताए । ‘प्रदेश सरकारको एउटा कार्यक्रम छ, दुधालु भैंसी वा गाई के चाहिन्छ भनेर हामीले सोधेका थियौं,’ उनले भने, ‘उहाँहरूले फारम भर्नुभएको छ । त्यहीबमोजिम वितरण गरेका हौं ।’ प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत गदीले मधेस जनआन्दोलनका क्रममा सहिद र घाइते भएकाहरूका लागि दुधालु भैंसी वितरण एउटा सानो टोकनका रूपमा रहेको बताए ।


‘उनीहरूकै बलिदानीका कारण प्रदेशमा मधेसी दलको नेतृत्वमा सरकार बनेको छ,’ उनले भने, ‘सहिद र घाइतेको सम्मान गर्नु हाम्रो दायित्व र धर्म हो । निश्चित रूपमा यो कम छ । तर, प्रदेश सरकार प्रयास गरिरहेको छ । यो पहिलो र अन्त्य होइन, सुरुवात हो ।’ भैंसी वितरणको सामाजिक सञ्जालमा समेत नकारात्मक टिप्पणी भइरहेको छ ।


सामाजिक अभियन्ता एवं मधेस आन्दोलनमा सक्रिय रहेका वीरगन्जका ओमप्रकाश सर्राफले भैंसी दिएर सहिद तथा घाइते परिवारलाई अपमान गरिएको बताएका छन् । ‘सहिद तथा घाइते परिवारका बालबालिका पठनपाठनका लागि विद्यालय जाने कि भैंसी चराउन ?’ उनले भने, ‘उनीहरूलाई भैंसी होइन शिक्षा, स्वास्थ्य र रोजगारी चाहिएको छ ।’

प्रकाशित : असार २५, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?