घाँसे मैदानबाट विमान झिकिएपछि विमानस्थल सुचारु

सुरज कुँवर

काठमाडौँ — ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलका अनुसार, घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो। २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएकोहो।बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ। यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए।


यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

प्रकाशित : असार २७, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपहिरोमा परी १७ जनाको ज्यान गयो, ७ बेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ। तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ। यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन्। देशैभरका कान्तिपुरका जिल्ला संवाददाताहरुका अनुसार पानी पर्न रोकिएको छैन। ठूला नदीहरुको बहाव बढ्दै गएको छ।

राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन्। यात्रुहरु विचल्लीमा परेका छन्।

पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ। तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको छ।

गृहमन्त्रालयले दिएकोमृतकको विवरण हेरौं :

३ जनाको मृत्यु - कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु।

२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु।

२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु।

१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु।

१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु।

१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु।

१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु।

२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु।

१ जनाको मृत्यु- मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु।
स्रोत: प्रहरी प्रधान कार्यालय

बेपत्ता हुनेहरु :

कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता।

खोटाङको खोटेहाङ गाउँपालिका वाल्खुवामा पहिरो जाँदा विष्णु राईकी श्रीमती र दुई छोरा बेपत्ता।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाउँदा ९ वर्षीय दिवन राई बेपत्ता।

मोरङ कानेपोखरी गाउँपालिका २ को गेउरिया खोलमा परिचय नखुलेको एक बेपत्ता।

महोत्तरीको बलवा नगरपालिका ३ बदियाका हमिद मियालाई खोलाले बगाउँदा बेपत्ता।

प्रकाशित : असार २७, २०७६ १८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्