पहिरोले हिले-भोजपुर सडक अवरुद्ध
धनकुटा — अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा–भोजपुर सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन् । पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो ।
जिल्लाको मूलघाट–त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा–लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए ।
उक्त सडकमा धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा जिल्लामा यातायात सञ्चालन हुने गर्दछ । यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेको छन् । मूलघाट–त्रिवेणी सडक र तमोर करिडोर सडकका थुप्रै स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै, सिधुवा–लेगुवा सडकमा पर्ने माङमाया खोलामा आएको बाढीले सडक बगाएपछि सडक अवरुद्ध भएको कोइरालाले बताए ।
यस्तै,पहिरोका कारण तीन घरमा क्षति पुगेको छ भने एक विद्यालय भत्किएको छ । धनकुटाको पाख्रिबास नगरपालिका–५ का वडाध्यक्ष गोपालबहादुर थापा, घोर्लिखर्कका युवराज कार्की र चक्रबहादुर निरौलाको घर पहिरोले क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएको छ ।
सहिदभूमि–३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदा पठनपाठन अवरुद्ध भएको छ । पहिरोले कक्षाकोठा भत्किएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र राईले जानकारी दिए । पहिरोका कारण केही कोठा भत्किएको छ भने अधिकांश कक्षा कोठा चर्किएपछि पठनपाठन बन्द गरिएको उनले बताए ।
विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म २८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा कोठा मर्मत भएपछि मात्र पठनपाठन सुचारु गरिने प्रअ राईले बताए ।
प्रकाशित : असार २७, २०७६ १९:०९