पेस्तोलसहित तीन जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले राजधानीको नयाँ बसपार्कबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्क नजिकको एक होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जिलिङका सविन खवास पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ‘मेड इन इटली’ लेखिएको स्वचालिक पेस्तोल र दुई थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २९, २०७६ २१:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्षति विवरणका आधारमा पुनःस्थापना र पुनर्निर्माण थालिने

घाइतेको उपचार खर्च सरकारले बेहोर्ने 
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बाढी, पहिरो र डुबानको क्षति विवरण तयार गरी त्यसको आधारमा पुनःस्थापना र पुनर्निर्माणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्षतिको विवरण गृह मन्त्रालयले तयार गरिरहेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको आकस्मिक बैठकले क्षतिको विवरण तयार गरी पुनःस्थापना र पुनर्निर्माणको काम गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले घाइतेको उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएको छ। ‘घाइते भई अपांगता भएका र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालन गरी राहत कार्यक्रम तदारुकतासाथ सञ्चालन गर्ने निर्णयमा छ। बैठकले सबै सरकारी निकाय, निजी क्षेत्र, सामाजिक क्षेत्र तथा गैरसरकारी संघसंस्थालाई समन्वयात्मक रूपमा परिचालन गरी विपद् प्रभावितको उद्धार, राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सरकारले प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तत्काल परिचालन गर्ने भएको छ।

विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवा सुचारु गर्न र थप क्षति हुन नदिन सतर्कता अपनाउने र आवश्यक कदम चाल्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बैठकले यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिएको छ। बैठकले हालसम्म ५१ जनाको मृत्यु, ३१ बेपत्ता, २८ घाइते, १० हजार ३ सय ८५ घरधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको जनाएको छ।

प्रकाशित : असार २९, २०७६ २१:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT