कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पहाडी बस्ती जोखिममा : २ हजार परिवार सारियो

प्रदेश १ ब्युरो

विराटनगर — बाढी र पहिरोले पाँचथर, ओखलढुंगा र उदयपुरमा तीन जनाको मृत्यु भएको छ । इलामको माईखोलाले बगाएर तीन विद्यार्थी बेपत्ता छन् । 

पहाडी बस्ती जोखिममा : २ हजार परिवार सारियो

प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का ९ वर्षीय दिवन राईको नुवाखोलाले बगाएर, उदयपुरको चौदण्डीगढी नगरपालिका–४ का ३५ वर्षीय मनकुमार तामाङको लामाखोला र कालीखोलाको दोभानमा डुबेर र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ माझखर्ककी ४० वर्षीया कान्छीमाया श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो ।


माईखोलामा बेपत्ता हुनेमा १४ वर्षीया आकृति लिम्बू, १३ वर्षीया सुनीता साउदेन र १६ वर्षीया निशा सुनुवार छन् । उनीहरू माई नगरपालिका–६ महमाईस्थित भगवती माविमा अध्ययनरत थिए । उनीहरू शुक्रबार परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर फर्कने क्रममा माईखोलामा बाढी आएपछि उनीहरू महमाईमै बास बसेका थिए । शनिबार बिहान घर फर्कने क्रममा उनीहरूलाई खोलाले बगाएको हो ।


सिंगो बस्ती जोखिममा

अविरल वर्षाका कारण इलामको सन्दकपुर–५ जमुनामा बस्ती जोखिममा परेको छ । अधिकांश भूभागमा धाँजा फाटेको र लच्केको छ ।


जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै प्रहरीले सजग गराएपछि आइतबारदेखि त्यस क्षेत्रका बासिन्दा अन्यत्र जान थालेका छन् । कोही आफन्तकहाँ गएको र केहीलाई नजिकैको भानुदय आधारभूत विद्यालयको भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रहरी चौकी जमुनाका इन्चार्ज नरेश निरौलाले बताए ।


यता माङसेबुङ १ गजुरमुखीमा पहिरोका कारण जगत नेपालको परिवार विस्थापित हुन पुगेको छ । भर्खरै निर्माण भएको सडकले उनको घर जोखिममा परेको हो । सोही गाउँपालिका २ को इभाङ आधारभूत विद्यालयको भवन पनि वर्षाले भत्किएको गाउँपालिका प्रमुख डिकेन्द्र इदिङगोले बताए । वर्षाले जिल्लाका धेरै स्थानमा क्षति पुगेको छ । मुख्य गरी ग्रामीण सडकको अवस्था दयनीय छ ।


२ हजार परिवार सारिए

उदयपुरको बेलका नगरपालिका क्षेत्रका २ हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्रियुगा र सप्तकोसीको बाढी गाउँ पस्दा बेलका नगरपालिका १, २ र ८ नम्बर वडा डुबेका छन् । बाढीको जोखिममा परेकाको प्रहरी, सेना र स्थानीयको सहयोगमा उद्धार गरिएको प्रजिअ ध्रुवबहादुर खडकाले बताए । ‘प्रभावित दुई हजारभन्दा बढी परिवारका १० हजार जनाको उद्धार गरिएको छ,’ उनले भने, ‘९ सयलाई अहिले पनि खाना, बास, औषधिसहित सुरक्षित स्थानमा राखिएको छ ।’


सप्तकोसी र त्रियुगा बाढीका करण तल्लो तटीय क्षेत्रमा अझै जोखिम रहेको प्रहरीले जनाएको छ । त्रियुगाको बाढी बाँध फुटाएर गाउँ पसेपछि चौदण्डीगढी नगरपालिका ५ मा झन्डै २० परिवार विस्थापित भएका छन् । विस्थापितलाई नगरपालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गरेको छ । पहाडी क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको र ९० प्रतिशत सडक पहिरोले अवरुद्ध भएकाले क्षतिको विवरण संकलन गर्न नसकिएको तप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए ।


बस्तीनजिकै पहिरो

संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा छन् । लीलाबहादुर कार्की, वर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घरमुनिबाट पहिरो झर्न थालेको छ । ‘कतिबेला घरसहित हामीलाई बगाउने हो भन्ने चिन्ता लागेको छ,’ पदमबहादुरले भने, ‘रातभर जाग्राम बसिरहेको छु । दिनदिनै तलबाट पहिरो झरिरहेको छ, रोकथाम गर्ने प्रयास भएको छैन ।’


रेडक्रस सोसाइटी चैनपुर उपशाखाले वितरण गरेको त्रिपालले पहिरो गएको ठाउँमा माथिबाट छोपिएको छ । तर तलबाट जालीसहितको गाह्रो लगाए मात्र बस्ती सुरक्षित हुने पदमबहादुर बताउँछन् । आफूहरूलाई वैकल्पिक व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।


बाढीपहिरो/मृतकका परिवारलाई २ लाख

मोरङ– बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश १ सरकारले राहतस्वरूप २ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले मृतकका परिवारलाई जनही उक्त रकम दिने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार बाढीपहिरोमा घाइते भएकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णयसमेत भएको छ । निजी अस्पतालमा उपचार गराउनेको ५० हजारसम्म उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने उनले बताए ।

प्रकाशित : असार ३०, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?