कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साेमबार बिहान १० बजेसम्म कुन–कुन राजमार्गमा अवराेध छ ? हेर्नुहाेस् विस्तृतमा

काठमाडौँ — बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । कतिपय ठाउँमा सडक र पुल नै बगाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । हेरौं कहाँको सडकको अवस्था कस्तो छ :

साेमबार बिहान १० बजेसम्म कुन–कुन राजमार्गमा अवराेध छ ? हेर्नुहाेस् विस्तृतमा

महाेत्तरीकाे वर्दिवास नगरपालिका १ र ४ जाेड्ने पूर्वपश्चिम राजमार्गमा रहेकाे भप्सी खाेलामा रहेकाे डाइभर्सन गरेकाे बाटाेमा पानीकाे बहाव बढेपछि यातायात अवरुद्ध भएकाे छ ।

मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका–५ महालक्ष्मी खाेला नजिक पहिराे खसेर बिहानदेखि यातायात ठप्प छ ।

सिन्धुली– लगातारको वर्षाले पहिरो खसेपछि पाँचदिनदेखि वीपी राजमार्ग अवरुद्ध बनेको छ । सिन्धुलीमाढी–खुर्कोट नेपालथोकखण्डमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।

प्रहरीका अनुसार गोलन्जोर गाउँपालिकाको माथिल्लो बारामा खसेको पहिरो सफा गरेपछि आइतबार केही घण्टा खुलेको राजमार्ग पुःन अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार वर्षा नरोकिएकाले पहिरो खस्नेक्रम जारी छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी खण्डको गोलन्जोर गाउँपालिका ६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

सल्यान– वर्षातका कारण सडक हिलाम्मे भएपछि सल्लीबजार–चौरजहारी सडक तीन दिन देखि अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका कारण गाडी चल्न छाडेपछि यात्रुहरु हिडेर आउजाउ गर्न बाध्य भएका छन् ।

गाडी चल्न छाडेपछि बिरामी भएकालाई उपचारका लागि लैजान समेत कठिनाई हुन थालेको स्थानीयले बताएका छन् । हिलाम्मे सडकमा ठूल खाल्डा भएकाले गाडी फस्ने गरेका कारण वर्खा भरी यातायात बन्द हुने गरेकाे स्थानीयले बताएका छन् ।

यातायात अवरुद्ध भएपछि सल्यानका बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र रुकुम पश्चिमका चौरजहारी क्षेत्रका स्थानीय प्रभावित भएका छन् ।

उदयपुर– वर्षातसँगैको बाढीपहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । राजर्मागको मिर्चैया–कटारी, कटारी–वेतीनी खण्ड आंशिक रुपमा संचालनमा आए पनि वेतेनी–घुर्मी खण्ड पूणरुपले अवरुद्ध भएको छ।

वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अर्न्तगत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ्ग र लप्सेकोभीरसहित दर्जन बढी स्थानमा पहिरो गएका कारण सडक ठप्प भएको छ ।

ठाटीभन्ज्याङ्गमा सडक नै बगेको र लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खडकाले बताए । खडका अनुसार वेतेनी–घुर्मी २५ किलोमिटर क्षेत्रमा मोटरसाइकल समेत संचालन हुन सक्ने अवस्था छैन । भने सर्वसाधरणलाई हिड्न पनि समस्या रहेको खडकाले बताए ।

मिर्चैया–कटारी, कटारी–वेतेनी खडकमा सडक संचालन गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सागर केसीले बताए ।

दुई दिनदेखि अवरुद्ध मिचैया–घुर्मी सिद्धिचरणको वेतेनीसम्ममात्रै खोलिएको र वेतेनी–घुर्मी खोल्न सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

हेटाै‌ंडा– हेटौ‌ंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र छोटो दुरीको वैकल्पिक मार्ग दुवै सोमबार बिहानदेखि अवरुद्ध भएका छन् ।

त्रिभुवन राजपथको थाहा नगरपालिका—१ खानीखेतमा पहिरो खसेकाले राजपथ अवरुद्ध भएको छ । यसैगरी हेटौ‌ंडा—भीभफेदी–कुलेखानी–फाखेल हुँदै फर्पिङ निस्कने छोटो दुरीको मोटरबाटो पनि आइतबार राति देखि नै अवरुद्ध भएको छ ।

आइतबार दिउँसो संचालनमा ल्याएको उक्त मोटर बाटो रातिको वर्षाका कारण विभिन्न भागमा पहिरो गएकाले अवरुद्ध भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यसैगरी हेटौंडा—भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने मोटरबाटो पनि विगत चार दिनदेखि बन्द छ । उक्त सडक खण्डको सिस्नेरीस्थित ज्यामिरेमा पहिरो गएको छ । हेटौ‌ंडाबाट चितवन—मुग्लिङ र नौबिसे हुँदै सवारी साधनहरु सोमबार विहानदेखि राजधानी आवत–जावत गरिरहेका छन् ।

प्रकाशित : असार ३०, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?