कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, एकको मृत्यु

२० जनाकाे उपचार हुँदै
शिव पुरी

रौतहट — लगातारको वर्षा पछि डुबानले सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी भएको छ । बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्केका हुन् । सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सर्पबाट जोगिन आग्रह गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, एकको मृत्यु

जिल्लाको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साह बाढीसँगै आएको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए । ‘डुबान क्षेत्रमा अहिलेसम्म २० जना भन्दा बढीलाई सर्पले डसेको छ,’ उनलेभने, ‘डुबान र बाढीले बगाएर ल्याएको विषालु सर्पले डस्ने गरेको छ । यसबाट सजग हुन भनेका छौं ।’


पानी भित्र हिड्ने हुनाले मानिसले सर्प देख्दैनन् । सर्पले डसेर बिरामी परेका १५ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुलोमा पानी भरिए पछि सर्प बाहिर निस्केको हो । वर्षा पछि जिल्लाभरी डुबानको समस्या छ ।


जिल्लामा बाढीबाट मर्नेको संख्या ५ पुगेको छ । अहिले पनि धेरै स्थानमा जान सक्ने अवस्था छैन् । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालसहितको टोली सोमबार बिहान टिकुलीयातर्फ उद्धारको लागि गएको छ ।


लगातारको वर्षा पछि लालबकैया र बागमती नदी बस्तीमा पसे पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा पारेको छ । जिल्ला प्रहरीका अनुसार बाढीबाट झण्डै ४० हजार घर प्रभावित भएका छन् । एक हजार परिवार बिस्थापित छन् । ४ सय घर पूर्णरुपले क्षति भएको र ३० हजार जनसंख्या प्रभावित भएको प्रारम्भिक अनुमान छ ।


अहिले घर डुबान, बिस्थापितको संख्या, क्षतिको अवस्था लगायत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अझै १० भन्दा बढी नगरपालिकाका गाउँहरु डुबानमा छन् । डुबान पछि विद्युत पोल ढलेर संचारसम्पर्क विच्छेद हुँदा अधिकांश गाउँमा भएको क्षतिको विवरण एकिन हुन सकेको छैन ।


प्रहरीले आफ्नो मातहतमार्फत विवरण संकलन गरिरहेको छ । इशनाथ नगरपालिकाको १, २, ३, ४ वडाका झण्डै ४ हजार घरपरिवार अहिले पनि डुबानमा फसिरहेका छन् । जताततै बाटो भत्किएर जान सक्ने अवस्था छैन । कहाँ कतिघर डुबानमा पारे, विस्थापित भए भन्ने एकिन हुन नसके पछि राहत र उद्धार प्रभवित बनेको छ ।


केही स्थानमा डुबान कम हुँदै गए पनि सडकहरु भत्किएका छन् । पश्चिम क्षेत्रमा पानीले सडक डुबानमा परेर देख्न सक्ने अवस्थामा छैन । धेरै जसो नयाँ सडक भत्किएका छन् । विस्थापितहरुलाई विद्यालय, चौतारा लगायतका सुरक्षित स्थानमा सारिएको छ । वर्षा पछि डुबानले जिल्लाभरीका ७० भन्दा बढी इट्टा उद्योग डुबानमा पारेका छन् । त्यस्तै ठूलो संख्यामा माछा पोखरीमा क्षति पुगेको छ । भर्खरै लगाइएको धानबाली डुबानमा पारेको छ । दुई दर्जन बढी बिद्यालयहरु डुबानमा परे पछि विदा दिइएको छ ।

प्रकाशित : असार ३०, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?