वीपी प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको आरोपमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दासलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरू चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बीपी दासमाथि ४ करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालीन रजिस्ट्रार थापाविरुद्ध एक करोड ९६ लाख, रजिस्ट्रार श्रेष्ठविरुद्ध ५६ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यस्तै, लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैयाँ अख्तियारले बिगो मागदाबी गरेको छ । सप्लायर्सहरू चेतन अग्रवालविरुद्ध एक करोड ४ लाख र उमेश अग्रवालविरुद्ध ६० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
अख्तियारले अभियोगपत्रमा प्रतिष्ठानका पदाधिकारीमाथि कम रकम कबोल गर्ने बोलपत्रका आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएको उल्लेख गरेको छ । लेखा प्रमुख दाहाल र डेपुटी म्यानेजर श्रीवास्तवमाथि विभिन्न मितिमा बढी मूल्यमा सामान खरिद गरेको आरोप छ । सप्लायरहरूलाई खरिदका क्रममा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
प्रकाशित : असार ३०, २०७६ १९:२०