डुबान क्षेत्रमा अझै जोखिम

बाढीमा परेर महोत्तरीमा मात्रै ४ जनाले ज्यान गुमाएका छन् । सुरक्षित स्थानमा सारिएकाहरू राहतको पर्खाइमा छन् । किसानहरू खेती गर्न अतुर देखिन्छन् ।
रवीन्द्र उप्रेती

महोत्तरी — बाढीबाट महोत्तरीमा थप २ बालकको मृत्यु भएको छ । सोनमा गाउँपालिका–१ बजार टोलका ५ वर्षीय इनताज नदाफ र उनका ६ वर्षीय साथी अजरुद्दीन नदाफको सोमबार मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर किशोर आचार्यका अनुसार दुवैको शव अपराह्न तीन बजेतिर मडाहा खोलाको बाढीले बनाएको करिब ७ मिटर गहिरो दहमा फेला परेको हो । दुवै बालक खेल्दै जाँदा नजिकै रहेको कलभर्टबाट चिप्लिएर दहमा खसेको अनुमान छ ।

महोत्तरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । एक बालक अझै बेपत्ता छन् । बाढीको चपेटामा बालबालिका पर्न थालेपछि प्रशासन कार्यालयले सार्वजनिक सूचना गरी प्रकोपका बेला छोराछोरीलाई निगरानीमा राख्न र जथाभावी न छाडन् आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले छोराछोरीलाई जथाभावी न छाडिदिन अभिभावकलाई आग्रह गरेका छन् ।

लगातारको वर्षाका कारण जिल्लाका नदीहरूमा आएको बाढीका महोत्तरीका १५ वटै स्थानीय तह प्रभावित छन् । रातु नदीको बाढी बस्तीतर्फ सोझिँदा शनिबार अपराह्नदेखि सदरमुकाम जलेश्वरसमेत जिल्लाका दक्षिणवर्ती क्षेत्र डुवानमा छन् । जलेश्वरस्थित प्रशासन कार्यालय, जिल्ला प्रहरी, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत, शिक्षा कार्यालय, कोलेनिकालगायत दर्जन कार्यालय जलमग्न छन् ।

बाढी पस्दा जलेश्वर कारागारका ४३ महिला ३ आश्रितसमेत ४ सय ६८ कैदीको अवस्था कष्टकर बनेको छ । कारागार परिसरमा कम्मरमाथि पानी पसेकाले कैदी लाई छतमा पाल टागेर राखिएको छ । बाढी पसे यता कैदीले च्युरा र दालमट खाएर जीवन धानेको कारागार प्रशासनले जनाएको छ । कैदीहरूमा रुघाखोकी र ज्वरोजस्ता स्वास्थ्य समस्या देखा पर्न थालेको जनाइएको छ ।

रातु खोलामा जोखिम मोलेर तर्दै यात्रु ।


बाढीका कारण आवागमनसमेत अवरुद्ध भएकाले स्थानीय बजारमा खाधान्न, तरकारीलगायतको अभाव देखिन थालेको छ ।
नदीको जलस्तर बढदै गएकाले कतै तटबन्ध माथि भएर बाढी बग्न थालेको र कतै तटबन्ध नै कटान गरी बस्तीतर्फ खोला सोझिएपछि जोखिम बढेको जनाइएको छ ।

जलेश्वर पश्चिमउत्तरबाट रातु र उत्तरपूर्वबाट विगहीको बाढी प्रवेश गरेकाले दक्षिणवर्ति क्षेत्र डुवानमा परेका हुन् । एकातिर रातु, विगही, जंगाहा, मडाहालगायत खोलाको जलस्तर बढदै गएका छन् । अर्कोतिर ब्धुबारदेखि सुरु भएको वर्षा नथामिएकाले नदी नियन्त्रण र उद्धारमा समस्या परेपछि प्रशासनले सार्वजनिक सूचना जारी गरी नजिकको विन्द्यालयलगायत अग्लो स्थानमा शरण लिन प्रभावितलाई आग्रह गरेको छ ।

बाढी पीडितलाई मन्त्रीको १ लाख
राजविराज– प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बाढीका कारण अति प्रभावित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई १ लाख रुपैयाँ सहयोग दिएका छन् ।

मन्त्री साहले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफ्नोतर्फबाट १ लाख रुपैयाँ दिएको तिलाठी कोइलाडी गाउँपालिकाको विपद व्यवस्थापन संयोजक राजेशकुमार झाले जानकारी दिए । खाडो नदीको बाढीका कारण सप्तरीको तिलाठी कोईलाडी गाउपालिकाका बिभिन्न वडाहरू डुवानमा परेका छन् ।

तीन महिनामै भत्कियो झोलुङ्गे पुल
महोत्तरी र धनुषा जिल्लालाई जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको तीन महिना नबित्दै रातु नदीको बाढीले भत्काइदिएको छ । गत वैशाख महिनामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पुल ५ दिनसम्म परेको अविरल वर्षापछि नदीको उच्च बहाबले पुल भत्काएको हो । पानी खोलाको खुला ठाउँबाट नबगेर पुलको पोल भएतिरको भाग कटान गर्दै आएकाले पुल भत्किएको हेल्बेटासका टीबीएसयु कार्यक्रमका इन्जिनियर लालझाले बताए ।

पुललाई पानीले ठूलो क्षति गर्ला भन्ने अनुमान गर्न नसकेको र पुल बनाउने ठाउँ साँघुरो भएकै तिरबाट बाढी आएकाले पुल जोखिममा परेको झाले बताए । अहिले खेतीपातीको सिजन भएकाले भत्किएकै पुलबाट किसानहरू जोखिमपूर्ण यात्रा गरिरहका छन् ।

बाढीले भत्काएको झोलुङे पुल । तस्बिर : शिव पुरी । कान्तिपुर


महोत्तरीको बर्दिवास ३ र १ का ७५ प्रतिशत मानिसको खेती धनुषामा छ । बर्दिवास ३ का डम्बर बोहोराले भने, ‘खेती गर्न नजाऊँ भने अरूको खेतमा बाली लागिसक्यो । खोला तर्न सकिँदैन, अनि पुल प्रयोग नगरेर के गरौं ?’ पुल बनेपछि खुसी भएका बोहोरा पुल भत्किएपछि दुःख लागेको बताउँछन् ।

धनुषामा भएको खेतीमा पुगेर फर्किएकी दुर्गा पाण्डे पनि जोखिम मोलेरै भए पनि पुल पारगर्नुपर्ने किसानको बाध्यता भएको बताउँछिन् । ‘पुल नहुँदा ज्यान दाउमा राखेर खोला तरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले पुल बन्यो भनेर खुसी हुन नपाउँदै भत्कियो यसको मर्मत चाँडै भए खेती गर्न सजिलो हुनेथियो ।

१ करोड ४७ लाख लागतमा निर्माण भएको २ सय २३ मिटर लामो र १ मिटर २० सेन्टिमिटर चौडा भएको पुलको बिमा गरिएकाले सो पुलको पुनः मर्मत गरिने इन्जिनियर झाले बताए । अहिले पुल जोखिममा रहेकाले मानिसहरूलाई आवत–जावत नगर्न सूचना गरिसकेको र मानव क्षति हुन नदिन पुल पूर्णरूपमा बन्द गरेर वर्षा रोकिएपछि ४ देखि ६ महिना भित्रमा मर्मत सम्पन्न गर्ने झाले बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाढीले यातायात अस्तव्यस्त

कान्तिपुर संवाददाता

जनकपुर — लगातारको वर्षाले नदीमा आएको बाढीले सडक र पुल भत्काउँदा जनकपुरसँग धनुषाका ग्रामीण क्षेत्रको सडक सञ्जाल टुटेको छ । जनकपुरबाट पूर्वपश्चिम राजमार्ग जोड्ने सडक सुचारु रहे पनि भारतसँग जोड्ने जटही र भिठामोड सडक ठप्प छन् ।

जनकपुर जोड्ने ग्रामीण यातायातका साधन बाढीकै कारण सञ्चालनमा आउन सकेका छैनन् । महोत्तरीको भब्सी खोलाले पूल भत्काउँदा काठमाडौं चल्ने बस थन्किएका छन् । यात्रु आभावमा पूर्व चल्ने अधिकांश बस चलेका छैनन् ।

भारतीय नाका जोड्ने जनकपुर–जलेश्वर–भिठामोड सडक खण्डको पिपरामा झण्डै ५० मिटर सडक बाढीले बगाएको छ । सडकबाट नदीको भेल छ । हिलाम्मे र डुवान सडकका कारण यात्रुलाई पैदल यात्रा गर्न कठिन छ । बाढीले महोत्तरीको खैरा चोकभन्दा दक्षिण रातो नदीले झण्डै ३० मिटर सडक बगाएको छ । जनकपुर–भिठामोड सडक अवरुद्ध हुँदा आलु, प्याज, चामल, दालसँगै पेट्रोलियम पदार्थ लोड गरेको सयौं ट्रक भारतीय नाकामा रोकिएका छन् ।

आपूर्ति असहज हुँदा आलु, प्याजलगायतका खाद्यान्नको मूल्य आकासिएको छ । भारतीय नाका जोड्ने अर्को जनकपुर–जटही सडक हिलाम्मे भएकाले बस सेवा सञ्चालन गर्न कठिन भएको जनकपुर अञ्चल बस व्यवसायी संघका पूर्वअध्यक्ष श्यामसुन्दर चौधरीले बताए । चौधरीका अनुसार सामान्य दिनमा जनकपुरबाट जटही चल्ने १७ बसमध्ये अहिले मुस्किलले ४ वटा बस सञ्चालनमा छन् । सञ्चालनमा रहेका बसमा पनि यात्री हुँदैनन् ।

जनकपुरलाई सघारा, यदुकुहा, धनुषाधाम, प्रसाही, खजुरी लगायतका ग्रामीण इलाकासँग जोड्ने सडक पनि क्षतिग्रस्त बनेकाले ग्रामीण इलाकासँग जनकपुरको सम्पर्क विच्छेद भएको छ । सडक यातायात अवरुद्ध भएपछि बिरामी र गर्भवतीसमेतलाई अस्पताल ल्याउन कठिन भएको छ ।

पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा बाढीको प्रभाव नदेखिए पनि जनकपुरबाट पूर्व चल्ने अधिकांश बस भने चलेका छैनन् । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार अन्य मार्गको यातायात ठप्प भएकाले यात्रुको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।

पूर्व जाने यात्रीको आभावमा बस सेवा कटौती गर्नु परेको उनले बताए । सामान्य दिनमा १ सय ५० देखि २ सय वटा बस पूर्वका विभिन्न सहरका लागि प्रस्थान गर्थे अहिले मुस्किलले २० वा २५ वटा बस सञ्चालनमा छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT