कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप

(विराटनगर) — चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले प्रदर्शन गर्दा नोबेल मेडिकल अस्पताल आइतबार दिनभर तनावग्रस्त बन्यो ।

घुँडामा सामान्य चोट लागेका सुनसरीको दुहबी नगरपालिका ६ का अनिलकुमार साहको चिकित्सक अमित सिंह र सन्दीप अधिकारीले शुक्रबार शल्यक्रिया गरेका थिए । साहको आइतबार मृत्यु भएको हो । आक्रोशित आफन्त प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


भाइ प्रदीपका अनुसार अनिलकुमार केही दिनपहिला मोटरसाइकल पार्किङ गर्ने क्रममा चिप्लेर लडदा घुँडामा सामान्य चोट लागेको थियो । उनलाई उपचारका लागि नोबेल लगिएकामा चिकित्सकले घाउमा सामान्य पट्टी लगाई एक साताको औषधि दिएर घर पठाएका थिए । सातापछि उनी बिहीबार फलोअपका लागि पुनः अस्पताल पुगे । त्यतिबेला चिकित्सकले उनलाई शुक्रबार शल्यक्रियाका लागि तयार रहन सुझाव दिए ।


‘घुँडाको सामान्य अप्रेसन हो भनेर हामी सबै त्यसका लागि तयार भयौं,’ प्रदीपले भने, ‘अप्रेसन गर्नु पहिला अनिल सामान्य नै थिए ।’ अप्रेसन गरेर बाहिर निकाल्ने क्रममा चिकित्सकले उनलाई सिधै आईसीयू पुर्‍याएपछि लापरबाही भएको शंका लागेको उनले बताए । प्रदीपका अनुसार अप्रेसन गरेर बाहिर निकाल्दा अनिलको आँखामा पट्टी बाँधिएको थियो । हेर्न खोज्दा कसैलाई पनि नदिई आइतबार एकैचोटि मृत्यु भएको घोषणा गरिएको उनको भनाइ छ ।

अस्पताल प्रशासनले शल्यक्रियापछि वार्डमा सार्ने क्रममा अनिललाई हृदयाघात भएको र आईसीयूमा राखेर उपचार गर्ने क्रममा निधन भएको दाबी गरेको छ ।


अस्पताल र मृतकका आफन्तबीच शुक्रबार दिनभर वार्ता भए पनि अपराहनसम्म निकास ननिस्किएपछि परिवारले शव अस्पतालमै छाडेर हिँडेको छ । शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने प्रदीपले बताए ।


प्रकाशित : श्रावण ५, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?