कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घेरियो बस्ती

घर बग्दा ८ को मृत्यु, ४ बेपत्ता, ७५ परिवार विस्थापित
माधव अर्याल

पाल्पा — गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति वर्षासँगै आएको पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चार बेपत्ता छन् । सत्यवती–४ लिम्घास्थित भीरकुनामा पहिरोमा परेर ६ जना र डाङसिंगास्थित कसिङथलामा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले घेरियो बस्ती






गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घाको भीरकुनामा गाउँको माथिल्लो भागबाट आएको पहिरो र जोखिममा परेका घरहरू । तस्बिर : कान्तिपुर


७५ परिवार विस्थापित भएका छन् । तीन घर पहिरोमा बगेका छन् भने २० घर उच्च जोखिममा रहेको वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिए ।


भीरकुनाकी ६५ वर्षीया छली विक र पनातिनी ९ वर्षीया शिवानीलाई पहिरोले बगाएको छ । शिवानीका बुबा भारत र आमा बेंसीमा छन् । ३५ वर्षीया निर्मला विक, उनकी ९ वर्षीया छोरी तारा विक र डेढ वर्षीय सुमन विकलाई पनि पहिरोले बगाएको छ । निर्मलाको शव भेटिए पनि छोराछोरी बेपत्ता छन् ।


निर्मलाका पति रोजगारीका लागि भारतमा छन् । पहिरोले बगाएर २९ वर्षीया पम्पा विक र उनकी १२ वर्षीया छोरी अञ्जलीको मृत्यु भएको छ । पम्पाकी दिदीकी छोरी पाँच वर्षीया हिमांशु विकको पनि मृत्यु भएको छ । कसिङथलाको पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी र ९ वर्षीय दर्शन तरामुको पनि मृत्यु भएको छ ।

दाङसिंगामा रुद्र विकको घर बगाएको छ । पहिरोले पुर्दा दुई जना घाइते भएका छन् । सत्यवती–४ का १० वर्षीया करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जानकारी दिएको छ । ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको छ ।


घर बगाउँदा ४० वर्षीया माया र १६ वर्षीय बबी विक बेपत्ता छन् । पहिरोपीडितका लागि थप राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पहिरो स्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । सडकमा पहिरो गएका कारण केही ढिलाइ भए पनि सदरमुकामबाट खटिएको टोलीले उद्धार थालेको उनले जानकारी दिए ।


उद्धारमा स्थानीयले सघाएको भीरकुनाका स्थानीय कृष्ण भण्डारीले बताए । पहिरोबाट मंगलबार साँझसम्म ६ जनाको शव निकालिएको छ । पुरिएका दुईको शव निकाल्न समस्या भएको स्थानीय प्रकाश भट्टराईले जानकारी लिए । ‘पानी परेकाले पुनः पहिरो आउने डरले शव निकाल्न ढिलाइ भएको हो,’ उनले भने, ‘स्थानीय र सुरक्षाकर्मीले मिलेर प्रयास जारी राखेका छौं ।’ सडकका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउनुपरेकाले उद्धारका लागि सदरमुकामबाट थप टोली आउन ढिलाइ भएको हो ।


विस्थापितहरू विद्यालय र गोठमा

पहिरोपछि सत्यवतीको सिङदीबाट ५५ र भीरकुनाबाट २० परिवार विस्थापित भएका छन् । उनीहरू नजिकैको विद्यालय सरस्वती मावि थलेपाटामा आश्रय लिइरहेका छन् । पहिरोले सिङदीको सिद्ध आधारभूत विद्यालयसमेत बगाएको शिक्षक दुर्गा तरामुले जानकारी दिए ।


ठूलो लुम्पेक जाने मोटरबाटोभन्दा माथिबाट आएको पहिरो एक किलोमिटर तलसम्म बगेको छ । लेदो माटोले क्षति पुर्‍याएको हो । कसिङथलामा एक घर बगाएको छ । त्यहाँ दुई जनाको मृत्यु भएको छ । पहिरोले भीरकुनास्थित दलित बस्तीबाट १५ परिवार विस्थापित भएका छन् । यहाँ बस्तीमा पहिरो खसेको छ । तीन घर बगाएको छ । एक घर पूर्ण रूपमा भत्किएको छ । त्यहाँ ३५ परिवार बसिरहेका थिए । ‘१५ परिवारको बस्ने अवस्था छैन,’ शिक्षक तरामुले भने, ‘स्थानीय डराएका छन् ।’


भीरकुनाका अधिकांशको आर्थिक अवस्था कमजोर छ । वडा सदस्य भट्टराईका अनुसार लिम्घेली युवा क्लबले उनीहरूको बास व्यवस्थापन र खानपिनका लागि व्यवस्था मिलाइरहेको छ । अझै पहिरो जाने खतरा भएकाले स्थानीयलाई सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था छ । पहिरो ठूलो भएकाले उद्धार र शव निकाल्नसमेत कठिनाइ भएको भट्टराईको भनाइ छ । लेदो धेरै भएकाले हटाउन समस्या छ ।


दुर्गम उस्तै

सत्यवती–३ र ४ नम्बर वडा सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्छन् । ठूलो लुम्पेकको सिङदी तम्घासबाट ६५ किलोमिटर दूरीमा छ । तम्घासबाट पाल्पा र गुल्मीको सिमाना रिडी ४५ किलोमिटर दूरीमा छ । रिडीबाट रुद्रवेणी ७ किलोमिटर टाढा पर्छ । रुद्रवेणीबाट ७ किलोमिटर यात्रा गरेपछि ठूलो सिङदी पुगिन्छ ।


सिङदीबाट ३ किलोमिटर दूरीमा ठूलोलुम्पेकको कसिङथला छ । अर्को प्रभावित बस्ती लिम्घाको भीरकुना पुग्न रुद्रवेणीबाट ९ किलोमिटर यात्रा गर्नुपर्छ । रुद्रवेणी–वामी सडकको शाहघाटबाट ७ किलोमिटर ठाडो उकालो यात्रापछि मात्र भीरकुना पुगिन्छ । रुद्रवेणी–वामी सडकको शाहघाटबाट हिँडेर जानुपर्ने भएकाले उद्धार र राहतकर्मीलाई समस्या भएको हो ।


सन्दीप जोगिए

स्थानीय निर्मला विकका छोरा सन्दीप चार दिनअघि रुरु गाउँपालिकाको रिमुवास्थित मामाघर गएका थिए । सोमबार राति पहिरोमा उनकी आमा निर्मलासँगै ९ वर्षको तारा र डेढ वर्षका हिमांशु परे । उनकी आमा निर्मलाको शव भेटिएको छ । तारा र सुमन बेपत्ता छन् । सन्दीपको भने ज्यान जोगियो ।


घर पहिरोले लग्दा हृदयाघात

सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक कुरह गाउँका ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको घर पहिरोले बगाएपछि भाग्ने क्रममा हृदयाघात हुँदा मृत्यु भएको छ । दौडिने क्रममा लडेपछि हृदयाघात भई उनको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।


मन्त्रीद्वारा दुःख व्यक्त

पहिरोले पुर्‍याएको क्षतिप्रति गुल्मीको क्षेत्र नम्बर १ बाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुःख व्यक्त गरेका छन् । मंगलबार घटनास्थलमा आएर उनले पीडितका साथै राहत एवं उद्धारका विषयमा जानकारी लिएका छन् ।


गुल्मी २ नम्बर क्षेत्रबाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललगायतको टोली मंगलबार साँझ घटनास्थल पुगेको छ ।


गाडी तीन पटक घुम्यो

– शंकर विक, जिप चालक

म जिप चलाउँछु । सधैंजस्तै सोमबार साँझ पनि खाना खाइवरी जिपभित्रै सुतेको थिएँ । आइतबार राति निद्रा पूरा गर्न पाएको थिइनँ । सोमबार साँझ पानी परेको थियो । सामान्य होला भन्ने लाग्यो । साँझ सुत्ने बेला आकाश पनि कराएको थियो । त्यति वास्ता गरिनँ । बिहानीपख ठूलो आवाज आयो । पहिरो गएछ ।


गाडीलाई पहिरोले तीन पटक घुमायो । आधा पुरेको देखेँ । त्यसपछि बल्ल डर लाग्यो । गाडी बगाएन । गाडीले रोकेपछि पहिरो तल्लो बस्तीमा जान पाएन । भेलले दिशा परिवर्तन गर्‍यो । जसले ६/७ घर जोगिए । माथिको बस्तीमा ठूलो क्षति पुर्‍याएछ । पहिरोले बगाएका तीन घर माथिल्लो बस्तीका हुन् । पानी बिसाएपछि म बिस्तारै गाडीबाट बाहिर निस्किएँ ।


गाउँ शोकमा छ

– प्रकाश भट्टराई, स्थानीय

म तल खैरेनी (रुद्रवेणी–वामी सडक) मा बस्छु । बिहान घटनाबारे थाहा पाउनेबित्तिकै केही व्यक्ति मिलेर उकालो लाग्यौं । घटनास्थल खैरेनीबाट ७ किलोमिटर उकालोमा छ । पानी परिरहेकै थियो । कच्ची बाटोमा मोटरसाइकल गुडाउन सम्भव भएन । पहिरोले बिगारेको थियो । म पुग्दा भीरपानी गाउँमा सन्नाटा छाएको थियो ।


सबै त्रासमा थिए । हामी गइसकेपछि सबैले बिलौना गरे । मान्छे जम्मा हुन थाले । केही युवाले तत्काल चार शव बाहिर निकाले । अन्यको खोजीका लागि पहल गरियो । धेरै लेदो माटो र दुर्गम भएकाले शवको खोजी गर्न निकै समस्या भयो ।

प्रकाशित : श्रावण ८, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?