कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनाले लिन्छ दैनिक ७ को ज्यान

कमजोर सडक पूर्वाधार र चालकको लापरबाही मुख्य कारण 
दीपेन्द्र विष्ट

काठमाडौँ — मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयको तथ्यांक छ ।

दुर्घटनाले लिन्छ दैनिक ७ को ज्यान

१३ हजार ४ सय २१ दुर्घटना भएकोमा ९ हजार ९ सय ४० को कारण चालकको लापरबाही रहेको निर्देशनालयको भनाइ छ ।

अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ । सवारी दुर्घटना हुने प्रवृत्तिमा भने आएको छैन । तथ्यांकअनुसार दुर्घटनामा सडकको दुरवस्था र चालकको लापरबाही प्रमुख कारण देखिन्छन् । आव २०७०/७१ मा भएका ८ हजार ४ सय ६ दुर्घटनामध्ये ६ हजार ५ मा चालकको लापरबाही देखिन्छ, जसमा १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । आव २०७१/७२ मा ९ हजार १ सय ४५ दुर्घटनामध्ये ६ हजार ६ सय ९ मा चालकको लापरबाही भएको छ, जसमा २ हजार ४ जनाको मृत्यु भएको छ ।

२०७२/७३ मा १० हजार १३ वटा दुर्घटना भएकामा ७ हजार ४ सय ३२ वटामा चालकको लापरबाही देखिएको छ, जसमा २ हजार ६ जनाको मृत्यु भएको छ । २०७३/७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । आव २०७४/७५ मा २५ सय ४१ जनाको मृत्यु भएको छ । चालकको लापरबाही र सडकको दुरवस्थाले दुर्घटना अनुपात बढ्दै गएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन्,’ उनले भने, ‘तर सडकको अवस्था पनि नाजुक छ । सडकको अवस्था नबुझी गाडी हाँक्दा दुर्घटना बढ्दै छ ।’ अस्वस्थ प्रतिस्पर्धाले पनि दुर्घटना बढेको उनले बताए ।

सडक पूर्वाधार नै कमजोर भएको र त्यसले दुर्घटना बढाएको नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दको भनाइ छ । ‘चालक दक्ष छैनन्, सडक संरचना पनि गाडीमैत्री छैनन्,’ उनले भने, ‘त्यसैले हामीले सडक संरचनामै ध्यान दिनुपर्छ । स्थानीय तहमा निर्मित सडकको अवस्था पनि निरीक्षण गर्नैपर्छ ।’ स्थानीय तहमा खनिएका अधिकांश सडकको अवस्था नाजुक भएको उनले बताए ।

‘बिनाइन्जिनियरिङ सडक निर्माण गरिएको छ,’ उनले भने, ‘जसकारण गाडी दुर्घटना हुने क्रम रोकिँदैन ।’ पहाडी भेगमा सञ्चालन हुने गाडीको अवस्था ठीक नभएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘थोत्रा र अवस्था ठीक नभएका गाडी सञ्चालन हुन्छन्,’ उनले भने ।

सवारी चलाई कुनै मानिसलाई किचेर, ठक्कर दिई सवारी दुर्घटना गराउनेलाई सर्वस्वसहित जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरी ज्यान मर्न गएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार ५ देखि १२ वर्षसम्म कैद हुनेछ ।

कुनै मानिसलाई किचेर, ठक्कर लागेर वा दुर्घटना भएर सवारीमा रहेका वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे/बसेका मानिसको अंगभंग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए अन्धो वा नपुंसकमध्ये जुनसुकै कुरा भए पनि त्यसरी सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सवारी धनीले मृत्यु भएमा पीडितको आफन्तलाई ५ लाख रुपैयाँ तिर्नुपर्छ ।

प्रकाशित : श्रावण १०, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?