कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनका थप ८ विमानस्थलमा उडानका लागि बाटो खुला 

सुरज कुँवर

काठमाडौँ — चीनले नेपालमा दर्ता भएका एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वांङझाउ, कुनमिङ, छेन्दु र सियानका अतिरिक्त थप ८ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवाका लागि बाटो खुला गरेको छ । चीनले थप ८ स्थानको नाम तोकेको छैन । 

२१ वर्षअघि नेपालले चीनसँग गरेको हवाई सेवा सम्झौताको पुनरावलोकन गर्न मंगलबार चीनतर्फ लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग यस्तो सम्झौता भएको हो ।

चीनका थप ८ विमानस्थलमा उडानका लागि बाटो खुला 

पर्यटनका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ्गमा रहेको प्रतिनिधिमण्डलले शुक्रबार हवाई सेवा सम्झौता पुनरावलोकन गर्दै यस्तो सम्झौता गरेको त्यहाबाट उपसचिव प्रमोद नेपालले कान्तिपुरसँग बताए । ‘चीनका ७ वटा विमानस्थल नेपाली वायुसेवा कम्पनीहरुका लागि पहिलै खुला थिए,’ उपसचिव नेपालले भने, ‘शुक्रबार सम्पन्न दुई दिने वार्तामा थप ८ वटा नयाँ विमानस्थल नेपाली वायुसेवा कम्पनीका लागि चीनले खुला गर्ने सहमति गरेको छ ।’ अब अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गरेका नेपाली वायुसेवा कम्पनीले आफ्नो इच्छाअनुसार १५ वटा विमानस्थलमा सिधा उडान गर्न पाउने छन् ।


हाल राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमबाहेक, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग अन्तर्राष्ट्रिय उडानको इजाजतपत्र छ । हिमालय तिब्बत एयरलायन्स र नेपालको यति एयरलाइन्ससँग आवद्ध कम्पनीको साझेदारीमा स्थापना भएको कम्पनी हो भने बुद्ध निजी क्षेत्रको एयरलाइन्स हो । तर, यी वायुसेवा कम्पनीले हाल चीनमा उडान गर्दैनन् । सन् २००७ अघि निगमले चीनको सांघाई हुँदै ओसाकासम्म बोइङ ७५७ बाट उडान गर्थ्यो । ०७ पछि विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण सांघाई हुँदै जापानको ओशाकासम्म हुने उडान स्थगन भएको थियो ।


यसैबीच, हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने संख्यालाई ९८ पुर्‍याइएको छ । दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन् । एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार, सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने छन् । चिनियाँ विमान कम्पनीहरुका लागि काठमाडौंबाहेक सन् २०२० देखी सञ्चालनमा ल्याइने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा बन्दै गरेको क्षेत्रीय विमानस्थलमा पनि उडान गर्न पाउने भएका छन् । यी दुवै विमानस्थल सञ्चालन भएलगत्तै चिनियाँ विमान कम्पनीहरुले सिधा उडान गर्न पाउने सहमति भएको उपसचिव नेपालले बताए ।


हाल चीनबाट चाइना साउर्दन, चाइना इष्ट्रन, एयर चाइना, सिचुवान एयरलाइन्स र तिब्बत एयरलायन्स तथा हङकङबाट ड्रयागन एयरसमते गरी ६ वटा एयरलायन्सले काठमाडौंका लागि उडान भर्दै आएका छन् । सबैभन्दा धेरै उडान गर्नेमा चाइना साउर्दन रहेको छ । यस्ले ग्वांङझाउ–काठमाडौं–ग्वांङझाउ सातामा २१ वटा उडान गर्छ । चाइना इर्स्टनले कुनमिङ–काठमाडौं–कुनमिङ सातामा १४ वटा उडान गर्छ । एयर चाइनाले सातामा सात वटा उडान छेन्दु–काठमाडौं–छेन्दु गर्छ भने ल्हासा–काठमाडौं–ल्हासा तीनवटा गर्छ । सीचुवान एयरलाइन्सले छेन्दुबाट ल्हासा हुँदै काठमाडौं र यही रुटमा फिर्ता हुने गरी सातामा ४ वटा उडान गर्छ । त्यस्तै तिब्बत एयरले छेन्दु–काठमाडौं–छेन्दु सातामा दुइटा उडान गर्छ ।


नेपाल र चीनबीच २०५५ साउनमा पहिलोपटक हवाई सेवा सम्झौता भएको थियो । यसैलाई पुनरावलोकन गर्न पर्यटन मन्त्रालयका सहसचिव आचार्यसहित उपसचिव प्रमोद नेपाल, प्राधिकरणका निर्देशक गोपाल चन्द्र थापा, कानुन मन्त्रालयका उपसचिव अरुणा जोशी र नेपाल वायुसेवा निगमका संस्थागत विभागका निर्देशक कृष्णगोपाल जोशीलाई सरकारले चीन पठाएको थियो । पुनरावलोकन सम्झौतामा चीनका तर्फबाट सिभिल एभिएसन एडमिनिस्ट्रेशन अफ चाइनाकी डेपुटी डाइरेक्टर जनरल बाई विनलीले हस्ताक्षर गरेकी छन् ।

प्रकाशित : श्रावण १०, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?