कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी घुमफिर ३० मिनेट ! किन टिक्दैनन् पर्यटक ?

माधव ढुंगाना

भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनीमा प्रत्येक दिन बिहानदेखि साँझसम्म चहलपहल हुन्छ । दिनहुँ सयौं घुम्न आउँछन् । एकैछिन डुलेर फर्किन्छन् । मायादेवी मन्दिर दर्शन गरेर आसपासका केही बिहार छिरेपछि उनीहरूले बाटो तताउँछन् । यहाँ आउने पर्यटकको बसाइ अवधि निराशाजनक छ । आएकामध्ये ५ प्रतिशतले रात बिताउने गरेको पाइएको छ । 

लुम्बिनी घुमफिर ३० मिनेट ! किन टिक्दैनन् पर्यटक ?

यहाँ घुम्न आउने स्वदेशी/विदेशी पर्यटकको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा १६ लाखभन्दा धेरै आएका थिए । त्यसअघि ०१७ मा १५ लाख ३४ हजार र ०१६ मा १२ लाख ८५ हजार पर्यटक आएका थिए । यो तथ्यांक मायादेवी मन्दिर प्रवेश गर्नेको मात्र हो ।


लुम्बिनी विकास कोषको तीन वर्ग माइल क्षेत्रभित्र बुद्धसँग सम्बन्धित पुरातात्त्विक स्थल छन् । केन्द्रीय नहरको दायाँबायाँ विभिन्न मुलुकका बिहार छन् । छरिएर रहेकाले सबै बिहारमा पुग्न निजी सवारी साधन रिजर्भ गर्नुपर्छ । पैदल घुम्न समय लाग्छ । जसले गर्दा मायादेवी मन्दिर घुमेपछि पर्यटक फर्किन थाल्छन् । कोषको क्षेत्रबाहिर पर्यटकीय गतिविधि छैन । होटलमा बसेर दिन बिताउनु पर्छ ।


छिमेकी जिल्लामा रहेका पुरातात्त्विक स्थल घुम्नका लागि यातायातका साधन छैनन् । प्रत्येक वर्ष जोडतोडले कुरा उठ्ने बुद्ध सर्किट निर्माणमा चासो छैन । टुर प्याकेजको अभाव छ । समय नकटेपछि पर्यटक फर्किने गरेको व्यवसायीले बताए । ‘यहाँ आएका पर्यटकलाई कहाँ लैजाने ? कता घुमाउने ? उनीहरूलाई भुलाउने कार्यक्रम नै छैन,’ सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘पर्यटक आउँछन् । मायादेवी मन्दिर घुमेर फर्किन्छन् ।’ विदेशी पर्यटकको तुलनामा स्वदेशी धेरै समय नटिक्ने उनले बताए ।


विदेशी पर्यटकले बुद्ध र उनको जीवनी बुझ्न समय लगाउँछन् । योगा र ध्यानको महत्त्वबारे जानकारी लिन्छन् । अवसर मिलेसम्म ध्यान, योगा गर्छन् । स्वदेशीले यसबारेमा कम चासो दिन्छन् । ‘नेपाली पर्यटक यहाँबाट चाँडो निस्केर २/४ किलो चिनी र अन्य सामान खरिद गर्न भारतको सुनौली जान हतारिन्छन्,’ उनले भने, ‘मायादेवी मन्दिर, अशोक स्तम्भ, केन्द्रीय नहर र केही देशका मन्दिरबाहेक पर्यटक आकर्षण गर्ने स्थल तथा कार्यक्रम लुम्बिनीमा छैन ।’


यहाँबाट कपिलवस्तु, रूपन्देहीको देवदह, पश्चिम नवलपरासीको रामग्रामलगायत बुद्ध सर्किटमा पर्ने स्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधार तयार छैन । ती स्थलको प्रचारप्रसार हुन सकेको छैन । कोष मातहतको केस्ट नेपालले गत वर्ष गरेको सर्वेक्षण अनुसार लुम्बिनीमा आएका कुल पर्यटकमध्ये ५ प्रतिशत पनि टिक्दैनन् ।


यहाँ अडिनेको बसाइ अवधि सरदर डेढ दिन छ । युनेस्कोअन्तर्गत जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट)ले ६ वर्षअघि गरेको ‘भिजिटर सर्भे एन्ड अब्जरभेसन’का अनुसार लुम्बिनीमा अधिकांश पर्यटकको बसाइ अवधि ३० मिनेटभन्दा कम पाइएको थियो । उक्त संस्थाले सन् २०१३ को जनवरीमा लुम्बिनीमा आएका कुल २ सय ९३ पर्यटकको समूहमा सर्भे गर्दा ३० मिनेटभन्दा कम बस्ने पर्यटकको संख्या ७२.६ प्रतिशत, एक घन्टाभन्दा कम अडिने २१.८ र एक घन्टाभन्दा बढी समय बिताउने पर्यटक ५.५ प्रतिशत रहेको सार्वजनिक गरेको थियो ।


‘अहिले पनि बसाइ अवधि लम्बिन सकेको छैन,’ कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव सरोज भट्टराईले भने, ‘निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले यहाँ पर्यटक भुलाउने कार्यक्रम ल्याउन जरुरी छ ।’ अहिले लुम्बिनी क्षेत्रमा गुरुयोजनाले निर्दिष्ट गरेका संरचनाबाहेक अन्य बनाउन नपाइने भएकाले बाहिरी क्षेत्रमा नयाँ गतिविधि संचालन गर्नुपर्ने उनले बताए । यहाँ अधिकांश पर्यटक भारतीय ट्राभल्स एजेन्सीले तयार गरेको प्याकेज कार्यक्रम अनुसार स्थल मार्गबाट आउने गरेका छन् ।


ट्राभल कम्पनीले पर्यटकलाई बिहान ल्याएर लुम्बिनी घुमाएर त्यसै दिन फर्काउने गरेका छन् । भारतीय ट्राभल व्यवसायीले कुशीनगर, बोधगया, सारनाथ हुँदै अन्तिममा लुम्बिनी घुमाएर फर्काउने गरेका हुन् । उनीहरूले लुम्बिनीलाई बुद्ध जन्मस्थल भन्दा पनि रुटमा पारेर प्रचार गरिरहेका छन् । आगामी दिनमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीले लुम्बिनीबाट भ्रमण प्याकेजको सुरुआत गर्न जरुरी रहेको सदस्य सचिव भट्टराईले बताए । ‘आगामी दिनमा बसाइ अवधि बढ्ने सम्भावना भने छ,’ उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका साथै बुद्ध सर्किटमा रहेका अन्य स्थलमा सहजै पुग्ने भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, ती पूरा भएपछि अवधि लम्बिन्छ ।’


बुद्ध सर्किटमा पर्ने स्थलको विकासका लागि जग्गा अधिग्रहणदेखि गुरुयोजना निर्माणका लागि सरकारले राष्ट्रिय नीति ल्याउन जरुरी भएको उनले बताए । लुम्बिनीको वातावरण प्रायः गर्मी हुने भएकाले विभिन्न स्थानमा पानीका जलाशय र पानीका फोहरा राखेर चिस्याउने योजनातर्फ कोषले सोचेको उनले जनाए ।


बुद्ध र सम्राट अशोकको जीवनीमा आधारित नाटक तथा दृश्य, नेपाली संस्कृति, रातमा प्रकाशसहित बुद्धमय सांगीतिक कार्यक्रम, लुम्बिनीको झन्डै २ किमि लामो नहरको दुवै किनारमा प्रत्येक दिन साँझ विशेष बुद्ध ध्वनि र प्रकाशसहितको आकर्षक पूजा, बुद्ध सर्किट स्थलको प्रचार–प्रसारसहित पूर्वाधारको विकास गरिएमा लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइ अवधि लम्बिने पर्यटन व्यवसायीहरूले बताए ।


होटल संघ नेपालका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी आएका पर्यटकलाई भुलाउने स्थल प्रशस्त भएर पनि स्तरीय यातायातका साधनको अभाव रहेको बताए । साथै, ती स्थलका बारेमा प्रचारको कमी, नेपाली ट्राभल एजेन्सीले प्याकेज टुर नगराउनु एवं स्तरीय पूर्वाधारको कमी भएको उनले बताए ।


योजना असफल

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने भन्दै सरकारी स्तरबाट बेलाबेलामा कार्यक्रम र अभियान संचालन नभएका होइनन् । यसअघि संचालन भएका ती कार्यक्रम प्रभावकारी बन्न नसकेका हुन् । कार्यक्रमका नाममा करोडौं रुपैया खर्चेर विदेश भ्रमण गर्ने, राजनीतिक कार्यकर्तालाई पोस्ने, रिझाउने र लुम्बिनीको नाममा बजेट विनियोजन गराएर सिध्याउने काम धेरै भएको स्थानीयको आरोप छ ।


सन् २०१२ मा पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकार र पर्यटन बोर्डले लुम्बिनी भ्रमण वर्ष आयोजना गरे । भ्रमण वर्ष अवधिमा पर्यटन प्रवर्द्धन हुने खालका योजना र कार्यक्रम समावेश गरिएनन् । चीन र भारतका ख्यातिप्राप्त सिने कलाकार ल्याउने भनेर प्रचार गरियो । उक्त अवधिमा कुनै कलाकार देखिएनन् । पर्यटन प्रवर्द्धन हुने कार्यक्रमको सट्टा उद्घाटन र समापन समारोहका नाममा मंचमा आसन ग्रहण र भाषण गरेर औपचारिकतामै बजेट खर्च गरिएको थियो ।


त्यसबेला ठूला–ठूला होटलमा भोज आयोजना गरियो । प्रचारप्रसार, कर्मचारी तथा अतिथिलाई ल्याउने/पुर्‍याउने र भत्तामा बजेट सिध्याइयो । लुम्बिनीबाट १२ किमि उत्तर ८४ बिघा क्षेत्रफलमा फैलिएको गैंडहवा र ३८ किमि पश्चिम १ सय ५५ हेक्टरमा फैलिएको जगदीशपुर ताल रहेका छन् । तिनको प्रचारप्रसार र संरक्षणमा ध्यान गएको छैन ।


कोष परिसरमा भारत सरकारबाट उपहार स्वरूप १ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भनिएको ‘लाइट एन्ड साउन्ड सो’ र ‘उ थान्त अडिटोरियम हल’ अलपत्र परेका छन् । दुवै योजना निर्माण गर्न भारतीय दूतावासमार्फत ड्राफ्ट तयार भएर लुम्बिनी विकास कोषसँग नीतिगत सहमति भएको थियो । यी योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा सुरु हुने आशा थियो । त्यसबेला मोदीको भ्रमण भएन । योजना पनि कागजमै सीमित रहे ।


१८ औं सार्क शिखर सम्मेलनका बेला मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएपछि मायादेवी मन्दिर परिसरमा बुद्धको जीवनी दर्शाउने गरेर लाइट एन्ड साउन्ड सो निर्माण योजना भारतीय पक्षले अगाडि सारेको थियो । डिजाइनसहित करिब ५० करोड रुपैयाँ लागतको यो योजना मोदीले उपहारस्वरूप लुम्बिनीलाई दिने तय भएको थियो । यसको प्रारम्भिक डिजाइन तयार पार्न भारतीय चलचित्र क्षेत्रका पुराना निर्देशक श्याम बेनेगल लुम्बिनी आई स्थलगत अध्ययन गरेका थिए ।


मोदीको लुम्बिनी भ्रमण स्थगित भएसँगै यो योजना पनि अलमलियो । लुम्बिनीको योजनाबद्ध विकासका लागि गुरुयोजना तयार पार्न महत्त्वपूर्ण भूमिका निभाएका संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्तका नाममा निर्माण गर्न लागिएको अडिटोरियम हलको योजनालाई पनि भारत सरकारले केही वर्षअघि निर्माण गर्न सम्झौता भएको थियो । करिब ४५ करोड रुपैयाँ लागतको यो योजना पनि सम्झौतापछि अघि बढेन ।


भ्रमण वर्षप्रति गुनासो

प्रदेश सरकारले यस वर्ष मनाइरहेको लुम्बिनी भ्रमण वर्षप्रति स्थानीय सरोकारवाला असन्तुष्ट देखिएका छन् । आफूहरूसित छलफल नै नगरी कार्यक्रम लादिएको उनीहरूको आरोप छ । भ्रमण वर्षका धेरै कार्यक्रम सतही र औपचारिक छन् । लुम्बिनी क्षेत्र र स्थानीयका लागि कुनै कार्यक्रम छैनन् ।


भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले प्रदेश सरकारले आयोजना गरेको भ्रमण वर्षका बारेमा कुनै जानकारी नभएको र स्थानीयसँग समन्वय नगरिएको बताए । ‘यस वर्ष पनि हामीले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि त्रिपिटक वाचन आयोजना गर्न लागेका छौं । सरकारी स्तरबाट आयोजना गरिएको लुम्बिनी भ्रमण वर्षको क्यालेन्डरमा पनि यो कार्यक्रम समावेश छ,’ उनले भने, ‘यसबारेमा कुनै समन्वय र छलफल गरिएन ।’


भ्रमण वर्षबारे सहकार्य नगरिएपछि स्थानीय पर्यटन व्यवसायी आक्रोशित छन् । ‘सरकारले लुम्बिनी भ्रमण वर्षको डम्फु आफ्नै तालले बजाइरहेको छ, हामी आफ्नै तालमा बाँसुरी बजाइरहेका छौं,’ पर्यटन व्यवसायी लीलामणि शर्माले भने, ‘डम्फु र बाँसुरीलाई सँगै मिलाएर बजाउने प्रयास प्रदेश सरकाले गरेन ।’


भ्रमण वर्षले व्यवसायीलाई उत्साहित बनाए पनि स्थानीयुसँग समन्वय गरेको भए अपनत्वको भावना विकास हुने उनले बताए । कुनै पनि कार्यक्रम तथा अभियान स्थानीयले अपनत्व नलिएसम्म सफल हुन गार्‍हो हुने उनले बताए । जुन ठाउँका लागि सरकारी स्तरबाट कार्यक्रमको आयोजना गरिएको हो, त्यही ठाउँकै बासिन्दालाई उपेक्षित गरिंदा यसले सरकारी अभियान र स्थानीयबीच विश्वासको ठूलो खाडल बन्न पुगेको उनले बताए ।

प्रकाशित : श्रावण १३, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?