कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

सुदीप कैनी

काठमाडौँ — कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् ।

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गतवर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए ।

कक्षा १२ मा उच्च जीपीए (३.६१–४.००) ल्याउने विद्यार्थीको संख्या भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष नियमिततर्फका २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार १ सय ६९ जना मात्र थियो ।

यस पटक ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ छ । ३१ हजार ६२ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना छन् । यो मध्यमस्तरको जीपीए हो । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको संख्या १९ हजार ५ सय ८५ छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् । बोर्डले ९ वटा समूहमा ग्रेडअनुसार नतिजा सार्वजनिक गरेको हो ।

४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहे पनि समग्रमा नतिजा सुधारोन्मुख रहेको परीक्षा नियन्त्रक शर्माले दाबी गरे । ‘गत वर्ष पनि कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थी थिएनन्,’ उनले भने । कम जीपीएबाट माथिल्लो जीपीए ल्याउने परीक्षार्थीको संख्या उच्च रहेको उनको भनाइ छ । गत वर्ष पनि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या नै अधिक थियो ।

ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ जना विद्यार्थीले परीक्षा लेखेका थिए । उनीहरूले केही विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिएकाले नतिजामा तथ्यांक समावेश गरिएको छैन । आंशिकतर्फ ४१ दशमलव ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ५७ हजार १ सय ७० परीक्षार्थीले आंशिकतर्फ परीक्षा दिएकामा २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका हुन् ।

अघिल्लो वर्ष आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका थिए । साधारण धारतर्फका सबै संकाय विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संस्कृत र प्राविधिक धारतर्फको नतिजा एकैसाथ प्रकाशित गरिएको हो । ‘यस वर्षको नतिजा केही सुधारोन्मुख देखिएको छ, उल्लेख्य सुधार भने हुन सकेको छैन,’ अर्यालले भने, ‘तुलनात्मक समीक्षा गर्न बाँकी नै छ ।’

मुलुकभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । मनाङ जिल्लाबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट सबैभन्दा बढी एक लाख ३४ हजार एक सय १५ जनाले परीक्षा दिएका थिए । परीक्षा सकिएको ७५ औं दिनमा बोर्डले सबै विषय र संकायको परीक्षाफल एकै दिन प्रकाशित गरेको हो । विगतमा संकायअनुसार छुट्टाछुट्टै दिन परीक्षाफल प्रकाशित गरिन्थ्यो । २०७५ सालको परीक्षाको नतिजा ८१ दिनमा सार्वजनिक गरिएको थियो । बोर्डले २०७४ देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्दै आएको छ ।

सोमबारको नतिजाअनुसार ग्रेडवृद्धि परीक्षा दिन पाउने मापदण्ड र समयतालिका छिट्टै टुंगो लगाएर सार्वजनिक गरिने बोर्डले जनाएको छ । नियमिततर्फ ३३, ग्रेडवृद्धितर्फ ९ र आंशिकका १२ गरी कुल ५४ परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक फेरिए

एसर्ईईको ग्रेडवृद्धि/पूरक परीक्षा आउन २१ दिन बाँकी रहेका बेला परीक्षा नियन्त्रक फेरबदल गरिएको छ । परीक्षा नियन्त्रक सहसचिव विष्णुप्रसाद अधिकारीलाई शिक्षा मन्त्रालय तानेर उपसचिव रामराजा खकुरेललाई जिम्मेवारी दिइएको हो ।

बोर्डअन्तर्गत परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले एसईईको व्यवस्थापन गर्दै आएको छ । बोर्डकै कक्षा ११ र १२ को परीक्षा हेर्न उपसचिवस्तरका कृष्ण शर्मा जिम्मेवारीमा छन् । एसईई परीक्षाका लागि भने सहसचिवस्तरका कर्मचारी खटाएको भन्दै अधिकारीलगायत शिक्षा सेवाका कर्मचारी असन्तुष्ट थिए ।

नियन्त्रक अधिकारीले त्यही विषयमा असन्तुष्टि राख्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसामु आफूलाई जिम्मेवारीबाट मुक्त गर्न आग्रह गरेका थिए । मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले अधिकारीलाई मन्त्रालय डाकेर शिक्षक सेवा आयोगमा कार्यरत खकुरेललाई जिम्मेवारी दिन बोर्डलाई आग्रह गरिएको जानकारी दिए ।

साविकको उच्च माध्यमिक शिक्षा परिषद्लाई बोर्ड बनाएर परीक्षा नियन्त्रण कार्यालयलाई समेत गाभिएको थियो । परिषद् र कार्यालयका कर्मचारीबीच तालमेल नमिल्दा बेलाबेला विवाद हुँदै आएको छ । भदौ १ गतेदेखि एसईईको ग्रेडवृद्धि/पूरक परीक्षा हुँदै छ । यस पटक ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त गरेका जति पनि विषयमा पूरक परीक्षा दिने व्यवस्था गरिएको छ । यसअघि ‘सी वा सी’ भन्दा थोरै ग्रेड ल्याएका दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिने प्रावधान थियो ।

प्रकाशित : श्रावण १४, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?