कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनेकौँ शीर्षकमा कर उठाउँछन् स्थानीय तह

सेवा सुविधाभन्दा करमै जोड
माधव अर्याल

निस्दी, पाल्पा — वर्षायाममा मात्र होइन, अरुण र निस्दी खोलाको डर यहाँ सधैं छ । ग्रामीण कच्ची सडक अहिले बन्द छन् । गाउँपालिका केन्द्र मित्याल पुगेर फर्किन सकस छ । बाँकामलाङका बासिन्दालाई बास नै बस्नुपर्ने हुन्छ । केन्द्रीय प्रसारण लाइनको बिजुली छैन । अझै पनि सयौं घरपरिवार टुकीको भरमा बस्नुपर्ने बाध्यता छ । पानीका धारा घरघरमा पुगेका छैनन् । विद्यालयको सहज पहुँच छैन । सबै हिसाबले दुःख झेल्दै आएका निस्दी गाउँपालिका बासिन्दालाई गाउँपालिकाले करको भने थुप्रो लगाएको छ । 

अनेकौँ शीर्षकमा कर उठाउँछन् स्थानीय तह

स्थानीय तह गठन भएपछि घरदैलोमै सुविधा पाउने आश गरेकाहरू अहिले कर तिर्दै हैरान छन् । गाउँपालिको पहिलो वर्ष करको दर थोरै निर्धारण गरेको थियो । दोस्रो वर्ष भने त्यसमा अत्यधिक वृद्धि गरेको छ । ‘केही वर्ष बढाउन नपरोस् भनेर धेरै दिन लगाएर करको दर निर्धारण गरेका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले भने, ‘२८ दिन लगाएर गत वर्ष नै करका सबै क्षेत्रका दर निर्धारण गरेका छौं ।’ स्थानीयलाई अझै दुई–तीन वर्ष करको दर नबढाए हुने गरी निर्धारण गरेको उनले बताए ।


गाउँपालिकाका अनुसार दैनिक सिफारिसबाट नै बढी राजस्व संकलन हुने गरेको छ । अघिल्लो वर्षको लक्ष्यभन्दा बढी नै राजस्व उठेको छ । प्रमुख प्रशासकीय अधिकृत बस्यालका अनुसार २० लाख ७० हजार लक्ष्य लिएकामा २२ लाख रुपैयाँभन्दा बढी उठेको छ । त्यसैले यस वर्ष २५ लाख ७० हजार आन्तरिक आम्दानीको लक्ष्य लिएको उनले बताए । ‘दैनिक सिफारिसबाट नै राजस्व राम्रो संकलन भएको छ,’ उनले भने, ‘दुर्गम भएकाले अन्य आम्दानी खासै छैन ।’ निवेदन दस्तुर १० रुपैयाँ लिने गरेको छ । नाता प्रमाणित, जन्ममिति प्रमाणित, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित, बसाइँसराइ, मृत्यु, व्यक्तिगत विवरण, हकवाला वा हकदार प्रमाणितको २ सय रुपैयाँ तोकिएको छ ।


अंग्रेजी माध्यममा सिफारिस र प्रमाणित गर्नुपर्दा भने ५ सय रुपैयाँ लिने गरेको छ । संरक्षक प्रमाणित, संस्थागत र व्यक्तिगत संरक्षण सिफारिस, नागरिकता लिन, बहाकरको लेखाजोखा, मोही लगत कट्टीको सिफारिस, चौकिल्ला प्रमाणित, कागज मन्जुरीनामा, मिलापत्रको कागजात गराउने निवेदनको पनि २ सय रुपैयाँ तोकेको छ । वैदेशिक अध्ययन तथा रोजगार सिफारिसका लागि १ हजार तोकिएको छ । निःशुल्क, सःशुल्क स्वास्थ्य उपचार, घरबाटो प्रमाणित, नाम वा जन्ममिति संशोधन, जग्गाधनी पुर्जा हराएको, कित्ताकाट, जग्गादर्ता, आर्थिक अवस्था बलियो, दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिसमा पनि २ सय रुपैयाँ लिने गरेको छ । जीवित रहेको सिफारिस गर्दा ३ सय रुपैयाँ लाग्छ ।


आर्थिक ऐन, २०७६ अनुसार नामसारी गर्ने सिफारिस गर्दा भने ५ सय रुपैयाँ लाग्छ । फरक जन्ममिति संशोधन, जग्गा मूल्यांकन, अदालतको कोट फि मिनाहा, नाबालक परिचयपत्र, चौपायासम्बन्धी, व्यवसाय दर्ता, विद्यालय ठाउँसारी, विवरण खुलाई पठाउने कार्यका लागि सिफारिस गर्दा पनि २ सय लाग्छ । पेन्सन सिफारिस वैदेशिक मुलुकका लागि ५ सय र नेपालका लागि ३ सय लिने गरेको छ । वैवाहिक अंगीकृत नागरिकता सिफारिसको १ हजार, साधारण, मुचुल्का सिफारिसको पनि २ सय लाग्ने आर्थिक ऐनमा उल्लेख छ । ‘सबैभन्दा धेरै सिफारिसका लागि आउने भनेकै यिनै शीर्षक हुन्,’ प्रमुख प्रशासकीय अधिृकत बस्यालले भने, ‘यो बाहेक भनेका अत्यन्तै न्यून हुन् ।’


उद्योग खोल्ने सिफारिसमा पनि करको दर महँगो छ । विभिन्न ३४ उद्योगका लागि करको दर निर्धारण गरिएको छ । चाउचाउ, बिस्कुट, चप्पल, सलाई उद्योग खोल्न सिफारिस लिन १ हजार ५ सय तोकिएको छ । प्लाई, काष्ठ, प्लास्टिक, गार्मेन्ट उद्योगका लागि ३ हजार छ । सःमिलसहितको काष्ठ उद्योग, डिस्टिलरी, इटा, टायल, चुरोट, बिडी, बेदबासद फर्निचर उद्योग, गलैंचा उद्योगका लागि भने ५ हजार तोकेको छ । तामा, आल्मुनियकजस्ता धातु, पशु आहार, भुजिया, पाउरोटी, ग्यारेज खोल्न १ हजार रुपैयाँ सिफारिस दस्तुर लाग्छ । कपडा, बरफस, कपडा रिफइन उद्योगका लागि ६ सय रुपैयाँ सिफारिसका लागि लाग्छ ।


दैनिक/साप्ताहिक हाट बजारमा प्रतिदिन जिउँदो खसी बोका, राँगा, सुँगुर बेच्नेलाई प्रतिगोटा २० रुपैयाँ राखेको छ । हाँस र परेवा बिक्री गर्दा पनि १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । मुरली, बाँसुरी, गुलेली, थैली, जुम्रा/उडुस मार्ने औषधि बिक्री गर्दा ५ रुपैयाँका दरले बिक्रीबापतको राजस्व गाउँपालिकालाई तिर्नुपर्छ ।


खेल तमासा देखाउने, प्रचारप्रसार गरी व्यवसाय गर्ने, फलामको समान, भाँडाकुँडा, फोटो, मर्मत, किराना, खुद्रा पसलको पनि करको दर तोकिएको छ । अहिलेसम्म निस्दी गाउँपालिकामा हाटबजार चलेको छैन । सडकको छेउमा विभिन्न पसल गर्नेलाई बहालबिटारी कर तोकेको छ । तर, यस वर्ष १५ हजार मात्र आम्दानी हुने अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत बस्यालले बताए । यसमा जुनसुकै पसल राखे पनि सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । विज्ञापन करमार्फत ११ प्रकारका दायरा रहेको छ । जडीबुटी कवाडी र जीवजन्तु (प्रतिबन्धित बाहेक)का कर तोकिएको छ । टिमुरको दुई, दालचिनीकोको बोक्रा एक, तेजपातको ५० पैसा, चिउरी बियाँ, अम्रिसो ५० पैसा प्रतिकेजी कर तोकेको छ । कुरिलो, हर्रोबर्रो, सुठीको एक, अदुवा काँचो र बेसारको ५० पैसा, खयर प्रतिक्यू फिट दुई रुपैयाँ कर तोकेको छ ।


दलहन र कवाडी सामानको प्रतिकेजी ५० पैसा, वनकस बावियोको प्रतिक्विन्टल १० रुपैयाँ तोकेको छ । प्रचलित कानुनले नगरेको मृत जीवजन्तुको हाड, सिंग, प्वाख, छालाजस्ता बस्तुको २ सय तोकेको छ । आर्थिक ऐन अनुसार व्यवसाय करका लागि ५ लाखसम्मलाई ‘घ’, ५ देखि १२ लाखसम्मलाई ‘ग’, १२ देखि २० लाखसम्म ‘ख’ र २० लाखभन्दा माथिकालाई ‘क’ वर्ग तोकेर करको दर निर्धारण गरिएको छ । यसमा होटल, लज, रेस्टुरेन्ट, मदिरा पसल, मिठाई पसल, कपडा, फेन्सी, ऊनी धागो, जुत्ताचप्पल, निर्माण सामग्री, खाद्यान्न, भाँडा, स्टेसनरीलगायत पसल छन् । यहीअन्तर्गत इन्टरनेट, इलेक्ट्रोनिक, साइकल बिक्री, सवारी मोटर पार्टस, ड्राइभिङ इन्स्टिच्युट, ग्रिल, कवाडी सामानको थोक बिक्रेता, टेन्ट, पाउरोटी, सहकारी संस्थालगायत ७१ प्रकारमा करको दर तोकेको छ ।


प्रमुख प्रशासकीय अधिकृत बस्यालका अनुसार सम्पत्ति कर भने स्वःघोषणा गरेर यस वर्षदेखि उठाउने निर्णय भएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले कार्यपालिकाको बैठकले अघिल्लो वर्ष निर्धारण गरेको करको दरलाई परिवर्तन नगरेको बताए । ‘आर्थिक ऐनअनुसार नै वर्षभरि कर लिइनेछ । यस वर्ष अहिलेसम्म पूर्वाधार उपभोग शुल्कका लागि टेन्डर खोलिएको छैन,’ उनले भने, ‘अन्य स्थानीय तहले जे गर्छन्, हामीले पनि सोही अनुसार गर्नेछौं ।’

प्रकाशित : श्रावण १४, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?