कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उपमहानगरमा आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ हिनामिना गरेको अभियोगमा सुवेदीसँगै उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायब सुब्बा अब्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनीषकुमार मिश्रविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उपमहानगरका कर्मचारीले सत्या इन्टरप्राइजेजका मिश्रसँगको मिलेमतोमा सामान खरिद गरी अनियमितता गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।


अख्तियारका अनुसार कर्मचारीहरूले एउटै व्यक्तिलाई तीनवटा फर्मका नाममा टेन्डर हाल्न लगाएर सत्याको दर स्वीकृत गरेका थिए । प्रतिस्पर्धालाई सीमित बनाउन टेन्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा बढी मूल्यमा आवश्यकताभन्दा धेरै विद्युतीय सामग्री खरिद गरेको समेत अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ । अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका इन्जिनियर बसी अख्तर मोहम्मदविरुद्ध समेत मंगलबार नै मुद्दा दायर गरेको छ । मोहम्मदले सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले सोमबार सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) सहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तरोन्नति योजनामा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।


अख्तियारका अनुसार गिरीले उक्त योजनामा १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए । अख्तियारले गिरीलाई जेल सजाय र भ्रष्टाचार रकम बराबर जरिवाना गर्न मागदाबी गरेको छ ।


अख्तियारले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घूस लिएको अभियोगमा पक्राउ गरेको छ । गुप्ताले जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेसन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घूस लिएको अख्तियारले उल्लेख गरेको छ ।


मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरी पनि घूससहित पक्राउ परेका छन् । ठाकुर र राजवंशीलाई जग्गाको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ४ हजार रुपैयाँ घूससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।

प्रकाशित : श्रावण १५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?