कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस र राजपाद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी, बैठक स्थगित

ऋषिराम पौड्याल

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले सर्लाही घटनामा संसदीय छानबिनलगायत माग राखी बुधबार फेरि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै सांसदहरू रोस्ट्रम घेर्न गएका थिए । उनीहरूलाई मर्यादापालकले रोकेपछि झन्डै एक घण्टा नाराबाजी गरे । 

कांग्रेस र राजपाद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी, बैठक स्थगित

सभामुखले सांसदलाई आआफ्नो आसनमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरेका थिए । तर, सांसदहरूले त्यसलाई बेवास्ता गर्दै सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्नुपर्ने, निर्मला काण्डका दोषीमाथि कारबाही हुनुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, मानव अधिकारको हनन बन्द गर्नुपर्नेलगायत नारा लगाइरहे । दुवै दलले यिनै माग राखेर असार २४ देखि संसद् अवरोध गर्दै आएका छन् ।


बाढीपहिरोपीडितको राहत र उद्धारका लागि भन्दै केही दिन संसद् चल्न दिए पनि सोमबारदेखि फेरि अवरुद्ध गरेका हुन् । बैठकअघि सभामुखले नेताहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन ।


असार ५ गते नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरी कारबाहीमा मृत्यु भएको थियो । प्रतिपक्षले दोहोरो भिडन्त नभई प्रहरीले समातेर गोली हानेको भन्दै संसदीय छानबिन माग गरेको हो । त्यसैगरी असार १५ गते अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर ईश्वर नगरपालिका १३ का सरोजनारायण सिंहको मृत्यु भएको थियो ।


नदीबाट अवैध तरिकाले ढुंगा, गिट्टी झिक्दा बनाइएको खाल्डोमा पुरिएर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयले विरोधमा राजमार्ग बन्द गरेका थिए । यी सबै घटनामा मानव अधिकार हनन भएकाले छानबिन गर्नुपर्ने विपक्षीको माग छ । राजपाले टीकापुरलगायत तराई मधेस आन्दोलनका घटना छानबिन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएको छ ।


सभामुखले असार २४ मा संसदीय समिति गठन गर्न आफू सकारात्मक रहेको बताएका थिए । तर, सभामुख सरकारको पक्षमा लागेर पछि हटेको विपक्षीको आरोप छ । सांसदहरूले नारा लगाउने क्रममा सभामुख ‘सत्तामुख’ भनेका थिए । महराले सभामुखविरुद्ध संसद्मा बोल्न नपाइने रुलिङ गरेपछि मात्र उनीहरूले उक्त नारा रोकेका थिए ।


बैठक अवरोधलाई सत्तापक्षले संसदीय मर्यादाअनुरूप नभएको भन्दै आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले भने सरकारले संसदीय सर्वोच्चता बेवास्ता गरेको र संसदीय समिति बनाउन नचाहेको आरोप लगाएको छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पटकपटक छलफल भए पनि विवाद नटुंगिएकामा आश्चर्य व्यक्त गरे ।


सञ्चारकर्मीसँग उनले समस्या समाधान गर्न सभामुखले कुरा गरिरहेको बताए । ‘यो कुरा प्रधानमन्त्रीलाई पनि राम्ररी जानकारी छ । संसद्को राज्य व्यवस्था समितिले हेरेको कुमार पौडेलको मृत्युको विषयमा कसरी संसदीय समिति बनाउने ?’ उनले प्रश्न गरे । उनले पौडेल हत्याको विषय दलहरूले स्थानीयस्तरमै समाधान गरिसकेको बताए ।


कांग्रेस सांसद गगनकुमार थापाले संसद् अवरुद्ध नहोस् भन्ने चाहे पनि सभामुखले स्वतन्त्र भएर काम गर्न सक्ने हुन् कि होइन न् भन्ने प्रश्न उठेको बताए । सभामुख आफैंले समिति बनाउने वचन दिएको स्मरण गराउँदै थापाले भने, ‘उहाँले सरकारलाई सोधेपछि सबै कुरा रोकियो ।’


सभामुख संसद्को अभिभावक बन्न नसकेको र सरकारको छायाका रूपमा काम गरेको उनको आरोप छ । राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेको आरोप लगाए । सरकार निरंकुशतातर्फ उन्मुख भएको भन्दै माग पूरा नभएसम्म विरोध जारी रहने उनले बताए ।

प्रकाशित : श्रावण १५, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?