कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपालविरुद्ध ग्रान्ड डिजाइन छैन’

भारत आफ्नो हितका आधारमा विश्व मामिलामा संलग्न हुन थालेको छ, नेपालसँग पनि यही आधारमा सम्बन्ध अघि बढ्छ : चौथाइवाले
घनश्याम खड्का

काठमाडौँ — भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालविरुद्ध भारतले कुनै षड्यन्त्रकारी योजना (ग्रान्ड डिजाइन) नबनाएको भन्दै आफ्नो देशतर्फ शंका नगर्न आग्रह गरेका छन् ।

'नेपालविरुद्ध ग्रान्ड डिजाइन छैन’

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समन्त गोयल हालै सुटुक्क नेपाल आएर फर्केपछि उठेका तरंगलाई इंगित गर्दै उनले आफ्नो देशको त्यस्तो कुनै मनसाय नभएको बताएका हुन् । ‘भारतले नेपालविरुद्ध ठूलै ग्रान्ड डिजाइन तयार पारिरहेको छ भन्ने आशंका धेरैमा देखिरहेको छु,’ दुई देशको सम्बन्धका पाटाबारे राजधानीमा शुक्रबार बोल्दै उनले भने, ‘भारतको त्यस्तो कुनै उद्देश्य छैन । नेपाल स्वतन्त्र देश हो, उसले आफ्नो इच्छाअनुसार काम गर्न र वैदेशिक सम्बन्ध अघि बढाउन सक्छ भन्ने हेक्का हामीलाई छ ।’


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदेशिक मामिलामा सघाउँदै आएका चौथाइवालेले नेपालसँगको सम्बन्ध कुनै दुराग्रहबाट नभई दुवै देशका पारस्परिक लाभका आधारमा अघि बढ्ने बताए । भारतले छिमेकीलगायत पूरै विश्वसँगको सम्बन्धलाई राष्ट्रिय हितका दृष्टिले हेरफेर गरेको र त्यसअनुसारको बदलाब नेपालसँगको मामिलामा पनि आउने उनले दाबी गरे ।


‘नेपालको विकास र समृद्धि भारतको पनि हितमा छ, त्यसैले यहाँ कुनै अस्थिरता ल्याउने र शान्ति खलल पार्ने काम हामीबाट हुँदैन,’ उनले भने । भारतले असंलग्न परराष्ट्र नीति त्यागेको उनले बताए । ‘भारतले पहिले असंलग्न परराष्ट्र नीति अख्तियार गर्दै आएको थियो, अब त्यो त्याग गरेको छ,’ उनले भने, ‘अब आफ्नो हितका आधारमा विश्व मामिलामा संलग्न हुन थालेको छ, नेपालसँग पनि यही आधारमा सम्बन्ध अघि बढ्छ ।’


नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले अन्तर्क्रियाको सुरुवातमै मोदीको वैदेशिक भ्रमणको तयारी गर्ने मामिलामा साह्रै दक्ष भन्दै चौथाइवालेको परिचय गराएका थिए । ‘हाल भारतमा खास के भइरहेको छ भनेर जान्नुपरे उहाँको कुरा सुन्नुपर्छ,’ उनले भनेका थिए ।


पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले भारतसँगको व्यापार घाटा कम गराउनका लागि लचक हुन, बर्सेनि हुने तराईको डुबान रोक्नका लागि पहिल्यै सम्झौता भएका कर्णाली चिसापानी, कोसी उच्च बाँध, महाकाली, पञ्चेश्वरलगायत परियोजना अघि बढाउन र सीमामा हुने समस्या आपसी छलफलबाट सल्टाउन भारतलाई आग्रह गरे ।


‘परापूर्वकालदेखि नेपाल–भारत सम्बन्धको अद्वितीयता छ यद्यपि हामीबीच समस्या पनि छन्,’ उनले भने, ‘दशकौंदेखि गर्ने भनिएका परियोजनाका लागि तयार पारेका इन्जिनियरहरूले अवकाश पाइसक्दा पनि काम अघि बढेको छैन । यसलाई छिटोभन्दा छिटो सल्टाउन सके दुई देशको मित्रता नमुना हुने थियो ।’


उनले यहाँको जलसम्पदाबाट फाइदा लिन थाती रहेका बिजुली उत्पादनका परियोजनालाई अघि बढाउन आग्रह गरे । जवाफमा चौथाइवालेले नेपालको जलविद्युत्का लागि भारत ज्यादा उत्सुक नरहेको संकेत दिए । ‘भारत अब विद्युत्मा आत्मनिर्भर हुने अवस्थामा छ,’ उनले भने, ‘नेपालमा उत्पादन हुने बिजुली कहाँ बेच्ने भन्ने प्रश्न देखिएकाले लगानीको अनिश्चितता हुन गएको म देख्छु ।’


सार्कको अध्यक्ष राष्ट्र नेपालले पटक–पटक यो क्षेत्रीय संगठनलाई अघि बढाउन भारतसँग आग्रह गर्दै आएको छ । अन्तर्क्रियामा पनि नेपाली पक्षले बिमस्टेकलाई झैं सार्कलाई पनि भारतले चलायमान बनाउनुपर्ने भन्दै अवरुद्ध सम्मेलन डाक्ने क्रममा भूमिका निर्वाह गर्न चौथाइवालेलाई आग्रह गरेका थिए ।


तर उनले पाकिस्तानका कारण सार्कलाई यही हालतमा अघि बढाउन नसकिने बताए । ‘पाकिस्तानसहितको सार्क अहिलेको अवस्थामा भारतका लागि स्वीकार्य छैन,’ उनले भने, ‘पहिले पाकिस्तानले आफ्नो माटोमा आतंककारीलाई जन्मन नदिने वाचा गरोस्, अनि मात्रै सार्क अघि बढ्छ ।’

प्रकाशित : श्रावण १८, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?