कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले गत मंगलबार सिफारिस समिति गठन गरेका हुन् । समितिमा प्राध्यापक डा. विनिल अर्याल र डिल्लीराज शर्मा सदस्य छन् । अर्याल त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुृख र शर्मा व्यवस्थापन संकायका डिन हुन् । त्रिवि ऐन २०४९ को दफा १५ मा विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न निष्पक्ष र स्वतन्त्र सेवा आयोग रहने व्यवस्था छ ।


सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र प्रकाशकीय प्रमुख परशुराम कोइरालासहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा छ । कर्मचारी छनोटमा अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।


उनीहरू निलम्बित भएपछि झन्डै एक महिनादेखि सेवा आयोग पदाधिकारीविहीन छ । अध्यक्ष शर्माको ३ वर्षे कार्यकाल गत साउन ५ गते सकिएको हो । निलम्बित सदस्य पोखरेलको अवधि २०७७ कात्तिकसम्म छ । आयोगका अर्का प्रतिनिधि लोकसेवा आयोग सदस्य बह्मदेव रायको म्याद पनि झन्डै डेढ वर्ष बाँकी छ ।


सरकारले सिफारिस समितिबिना नै विश्वविद्यालयहरूमा आफूअनुकूल पदाधिकारी नियुक्त गर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो । सिफारिस समितिले अध्यक्ष र सदस्य बन्न सम्भावित उम्मेदवारको नाम कुलपतिलाई बुझाउने शिक्षा मन्त्रालयले जनाएको छ ।


ऐनको प्रावधानअनुसार सिफारिस गरिएकामध्येबाट कुलपतिले नियुक्ति गर्नेछन् । आयोग पदाधिकारीविहीन हुँदा करिब ६ सय उपप्राध्यापक भर्नाको परीक्षा अनिश्चित बनेको छ । अख्तियारले मुद्दा दायर गरेका बाहेकका खुलातर्फ प्रतिस्पर्धाको नतिजा पनि अन्योलमा छ । भदौ ४ देखि सञ्चालन हुने उपप्राध्यापकको प्रतिस्पर्धात्मक परीक्षा हुने/नहुने अनिश्चित रहेको कर्मचारी बताउँछन् । परीक्षार्थीले विवादित पदाधिकारीले सुरु गरेको परीक्षाको प्रक्रिया रद्द गरी पुनः नयाँ प्रक्रिया थाल्नुपर्ने बताएका छन् ।


उपकुलपति र अध्यक्ष बन्न लबिइङ

भदौदेखि त्रिविसहित नेपाल संस्कृत, कृषि तथा वन विज्ञान, सुदूरपश्चिम, पूर्वाञ्चल, मध्यपश्चिम र पोखरा विश्वविद्यालयका उपकुलपतिको कार्यकाल पनि सकिँदै छ ।


त्रिविसहित अन्य विश्वविद्यालयका उपकुलपति, सेवा आयोगलगायतका पदाधिकारीमा नियुक्ति लिनका लागि आकांक्षीको लबिइङ सुरु भइसकेको छ । ‘पाए त्रिविको उपकुलपति, नभए सेवा आयोगको अध्यक्ष बन्ने, यी दुवै नपाए अन्य विश्वविद्यालयको उपकुलपति लिन दौडधुप सुरु भएको छ,’ शिक्षामन्त्री निकट स्रोतले भन्यो ।


राजनीतिक नेतृत्वसम्म लबिइङ थाल्नेमा अधिकांश सत्तारूढ दल नेकपा निकटका प्राध्यापक छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबीच एकीकरण भइसकेको छैन । यी संगठनका पदाधिकारीले पूर्वएमाले र पूर्वमाओवादी निकटबीच रिक्त हुने पदाधिकारी आपसमा भागबन्डा हुनुपर्ने तर्कसमेत गर्न थालेका छन् ।

त्रिवि उपकुलपतिको दाबी गर्नेमा गणेशमान गुरुङ, यादव लामिछाने, उपेन्द्र कोइराला, चन्द्रमणि पौडेललगायत छन् । सेवा आयोगको अध्यक्षका लागि पेशल दाहाल, रमेश भट्टराईलगायतको दाबेदारी छ । भट्टराई मिलेसम्म त्रिवि उपकुलपति नभए अन्य विश्वविद्यालयमा समेत उपकुलपति बन्ने मनस्थितिमा छन् ।


स्रोतका अनुसार रामकृष्ण तिवारी, विजय सिलवाल, अरुण सायमीले पनि यीमध्ये कुनै विश्वविद्यालयमा उपकुलपति बन्न लबिइङ थालेका छन् । त्रिवि रेक्टर सुधा त्रिपाठी र रजिस्ट्रार डिल्लीराम उप्रेतीले पनि यसै वर्ष कार्यकाल सकिनुअघि नै नयाँ नियुक्ति लिन यही मौकामा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।


उपकुलपति नियुक्तिका लागि पनि सिफारिस समिति चयन गर्ने प्रावधान ऐनमा छ । त्यसका लागि भने कुलपति कार्यालयले कुनै प्रक्रिया थालेको छैन । उपकुलपतिलगायत विश्वविद्यालयको पदाधिकारी नियुक्त हुन चाहनेले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत उच्च तहका नेताहरूसँग लबिइङ गरिरहेका छन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?