कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिर्नुपर्नेलाई किर्ते गरेर उल्टै ऋण

ललिता निवासको सरकारी जग्गा व्यक्तिलाई दर्ता गर्ने प्रमुख योजनाकार भनी सरकारी प्रतिवेदनमा किटिएका शोभाकान्त ढकालले भान्जी बुहारीले जग्गा किन्न सहीछाप गरिदिएको खाली कागजमा उल्टै आफूलाई अढाई करोड दिनुपर्ने उल्लेख गरी नक्कली तमसुक बनाएको फेला
कृष्ण ज्ञवाली

काठमाडौँ — पैसा सापटी लिएको व्यक्तिले तिर्नुपर्नेका नाममा उल्टै ऋण देखाइदियो भने के होला ? यहाँ १६ लाख रुपैयाँ ऋण लिएका व्यक्तिले तिर्नुपर्ने व्यक्तिकै नाममा साढे २ करोडको नक्कली तमसुक खडा गरिदिएको भेटिएको छ । त्यही किर्ते कागजातलाई ‘सक्कली’ ठहर्‍याएर अदालतले पीडितलाई मुद्दामा हराइदिएको छ । यी सबै खेलका प्रमुख पात्र हुन्– आफूलाई डाक्टर भन्ने शोभाकान्त ढकाल । 

तिर्नुपर्नेलाई किर्ते गरेर उल्टै ऋण

बालुवाटार जग्गा प्रकरणका प्रमुख योजनाकार मानिएका ढकालले नातामा भान्जी बुहारी पर्ने शान्ता खनालसँग पटकपटक गरी १६ लाख रुपैयाँ लिएको भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको छ ।


‘जग्गा किनिदिने भनेर सुरुमा १० लाख अनि थप २ लाख र भाइको दुई लाख भारुसमेत गरेर १६ लाख रुपैयाँ मामा (शोभाकान्त) ले लगेको भेटियो,’ सीआईबीका एक अनुसन्धान अधिकृतले कान्तिपुरसित भने, ‘जग्गा पनि दिएनन् । रकम फिर्ता त टाढाको कुरा, पछि उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक बनाएर पीडितलाई दु:ख दिने गरेको भेटियो ।’ कम्तीमा आधा दर्जन न्यायाधीशलाई ‘औंलामा नचाएका’ शोभाकान्त जुनसुकै तहका अदालतमा

आफूअनुकूल फैसला गराउन सक्थे । जिल्ला र उच्च अदालतबाट समेत किर्ते तमसुकलाई सक्कली प्रमाणित गराइदिएको खुलेको छ ।


शोभाकान्तले शान्तासँग रकम सापटी लिएर जग्गा कारोबार गर्थे । कतिपय ठाउँमा जग्गा किनिदिएर सहयोग पनि गरेका थिए । यो २०५०–०५५ साल सेरोफेरोको कुरा हो । जागिरका सिलसिलामा बारम्बार नेपालबाहिर जानुपर्ने भएकाले शान्ता जग्गा किन्नेलगायत प्रयोजनका लागि सादा नेपाली कागजमा हस्ताक्षर गरेर छाडिदिन्थिन् । ‘विश्वास गरेर दिएको त्यही कागजको दुरुपयोग भयो,’ उनले कान्तिपुरसित भनिन्, ‘जग्गा पास गर्न दिएको कागजमा नक्कली तमसुक बनाएर मामाले गर्नै नहुने काम गर्नुभयो ।’


ललिता निवासको एक रोपनी जग्गा दिने भनी नदिएपछि शान्ताले १० वर्षअघि २०५० सालतिर दिएको १६ लाख र त्यसको ब्याजसमेतको रकम फिर्ता मागिन् । ऋण फिर्ता गर्न अस्वीकार गरेका शोभाकान्तले देवरलाई प्रयोग गरेर २०६४ सालमा अंश मुद्दा हाल्न लगाएको शान्ताको आरोप छ । त्यो मुद्दाले शान्ता र उनका पति डा. चन्द्रकान्त खनाललाई वर्षौं दु:ख दियो । जब उनीहरूले अंश मुद्दा जिते अनि फर्जी तमसुक प्रयोग गरेर शोभाकान्तले फेरि अर्को लेनदेनको मुद्दा दायर गरे । सर्वोच्च अदालत उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त उक्त मुद्दाको मिसिल हेर्दा २०६० माघ २८ गते एउटा लिखत तयार भएको भेटिन्छ । जसअनुसार शोभाकान्तकी पत्नी उमा ढकाल्नीसँग शान्ताले २ करोड ५० लाख रुपैयाँ लिएकी छन् । यसमा शान्ताका साथै उनीसँग यसअघि नै अंश मुद्दा लडेका कारण सम्बन्ध बिग्रिएका देवर नारायणले समेत ऋण लिएको उल्लेख छ ।


‘मुद्दाका कारण यसै पनि हाम्रो सम्बन्ध सुमधुर थिएन अनि यस्तो अवस्थामा हामी मिलेर ऋण लियौं होला त ?’ उनले भनिन् । तमसुकमा पाँच वर्षभित्र ब्याजसहित ऋण चुक्ता नगरे विभिन्न कित्ता जग्गा उमाका नाममा दिन मञ्जुर रहेको उल्लेख गरिएको छ । उक्त तमसुकमा लेखक तथा ऋणी बनेका नारायणप्रसाद खनाल नै साक्षीका रूपमा छन् । शोभाकान्तका पार्टनर भनेर चिनिने रामकुमार सुवेदीका साला बालगोपाल घिमिरे पनि साक्षी छन् । बालगोपालले बकपत्रका क्रममा लेनदेन हुँदा दुवै पक्षलाई काठमाडौं, वनस्थलीको ढुंगेधारास्थित घरमा अर्को कोठामा कुराकानी गरेको सुनेको बताएका छन् । जबकि त्यस दिन चन्द्रकान्त र शान्ताको परिवारले अर्को जग्गाको लिखत पास गर्न मालपोतमा बिताएको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखबाट खुल्छ ।


वरिष्ठ अधिवक्ता तथा लिखत परीक्षण विशेषज्ञ पद्मराज काफ्लेका अनुसार सहीछाप परेको तर बेहोरा नलेखिएको खाली कागजलाई लिफा भनिन्छ । कुनै निश्चित प्रयोजनले सहीछाप गरी लिनेदिने कामका लागि यस्तो कागजात प्रयोग गरिन्छ । उनको पुस्तक ‘लिखत परीक्षण विज्ञान’ मा जुन कामका लागि लिफा दिइएको हो, त्यसभन्दा फरक बेहोराको लिखत लेखियो भने किर्ते हुने उल्लेख छ ।


‘साधारणतया वारिसनामाका निमित्त भनी लिफा दिने/लिने चलन छ,’ पुस्तकमा भनिएको छ, ‘कपाली तमसुक वा भर्पाईजस्ता लिखत लिफामा लेखिएको ठहरे किर्ते हुन्छ ।’ शान्ताले दाबी गरेको खाली कागजको पछाडिसमेत ‘यो खाली कागज मञ्जुरीनामाका लागि मात्रै सहीछाप गरी छाडिदिएकी छु’ भन्ने उल्लेख छ । त्यसैमा शोभाकान्तले पछि नक्कली तमसुक बनाएर लेनदेन मुद्दा दायर गरे । तत्कालीन जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले २०६८ फागुन २९ गते मुद्दा फैसला गर्दै नक्कली तमसुकलाई सद्दे ठहर गरिदिए । मुद्दा जिल्ला तहमा विचाराधीन भएकै अवस्थामा आफूलाई ‘कानून व्यवसायी’ भनी चिनाउने एक व्यक्ति घरमा आएर केही खर्च गरे ‘अप्ठेरो नपर्ने’ प्रलोभन दिएको शान्ता बताउँछिन् ।


उनका अनुसार ती व्यक्तिले मुद्दामा उल्लिखित साढे दुई करोड रुपैयाँको दस प्रतिशतका दरले २५ लाख रुपैयाँ सुरुमै खर्च गर्नुपर्ने सुझाव दिएका थिए । तर त्यसलाई अस्वीकार गरी चन्द्रकान्त र शान्ताले मुद्दा हारे । तत्कालीन पुनरावेदन अदालतका दुई न्यायाधीश शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले पनि २०७२ पुस १९ गते जिल्लाकै निर्णय सदर गरिदिए । सर्वोच्च अदालत पुगेको उक्त मुद्दामा गत असार २५ गते दुई पक्षलाई झिकाउने आदेश भएको छ । सर्वोच्चमा पेस भएको अडियो रेकर्डको संवाद सुन्दा शोभाकान्तले आफूले ऋण दिएको स्विकारेका छैनन् । बरु आफूले तिर्न बाँकी रहेको लेनदेन मिलाउन प्रस्ताव गरेका छन् । ‘तपाईं कसको कुरा सुनेर मुद्दा हाल्नुभो । २ करोड ५० लाखको झूटो मुद्दा किन हाल्नुभो ?,’ भान्जी बुहारी शान्ताको आक्रोशमाथि जवाफ दिदै शोभाकान्तले भनेका छन्, ‘भान्जी मलाई मुद्दा मिलाउन मन छ । दुवैका प्वाइन्ट मिलाऊँ । कुरा गरौं ।’ उनले अडियो टेपमा बारम्बार आफूले तिनुपर्ने रकममा डेढ करोड, एक करोड, असी लाख हुँदै ५० लाख रुपैयाँ दिएर मिलाउने कुरा गरेका छन् ।


कुराकानीकै क्रममा शोभाकान्तले आफूले सापटी लिएको रकम मुद्दा मिलाउन खर्चेको जवाफ दिएका छन् । ‘राणाहरूले गरेको मुद्दा सर्वोच्चमा पुग्यो, अख्तियारमा गयो । सबैसँग मुद्दा लड्दा कम हैरान त थेन नि । मैले तपाईंको पैसा ल्याएर उतै बुझाएको हो । पैसा बुझाउने मान्छे जिउँदै छ, सोधे हुन्छ,’ उनले न्यायाधीशको नाम उल्लेख नगरी भनेका छन्, ‘ए भान्जी, यो पैसा मैले चलाएको त होइन नि । यो पैसा त गएको पो हो त । पैसा मुद्दामा गएको छ ।

तपाईंको मात्रै होइन, हाम्रो कति पैसा गएको छ ।’ देशभरका न्यायाधीश आफूले चिनेको भन्दै उनले अदालतमा परेका मुद्दामामिलामा कुनै डर नभएको भनी पीडित पक्षलाई धम्क्याएका समेत थिए ।

प्रकाशित : श्रावण १९, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?