कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेष आवश्यकता शिक्षा पूर्वाञ्चलमा पनि

कोरियाली विश्वविद्यालयको सहकार्यमा त्रिविमा विशेष आवश्यकता शिक्षामा एमफिल चलाउने तयारी 
गणेश राई

काठमाडौँ — दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले पूर्वाञ्चल विश्वविद्यालयसित सहकार्य गरेर ‘विशेष आवश्यकता शिक्षा’ (एसएनई) कार्यक्रम चलाउने भएको छ । कोरियाली युनिभर्सिटीको सहकार्यमा यसअघि नै त्रिभुवन विश्वविद्यालय (त्रिवि) यो कार्यक्रम चलिरहेको छ भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तयारी हुँदै छ ।  

विशेष आवश्यकता शिक्षा पूर्वाञ्चलमा पनि

संविधानले अपांगता भएका नागरिकको शिक्षा राज्यको दायित्वभित्र पर्ने उल्लेख गरेको छ । जसअनुसार १० किसिमका अपांगता भएका नागरिकलाई अपांगताको प्रकृतिअनुसार दिइने शिक्षा विशेष शिक्षा हो । शिक्षा मन्त्रालयले अपांगताको फरकपन तथा उनीहरूको मनोविज्ञान बुझेर व्यावहारिक रूपमा शिक्षण व्यवहार गर्ने जनशक्ति उत्पादनका निम्ति ‘विशेष आवश्यकता शिक्षा’ (समावेशी शिक्षा) भनेको छ । मन्त्रालयको स्वीकृतिमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत एसएनई कार्यक्रम लागू छ ।


मन्त्रालयले उक्त विषयमा शिक्षण जनशक्ति उत्पादनका निम्ति त्रिविलाई कोरियाली सहकार्यको अनुमति दिएको हो । विश्वविद्यालय परियोजना लुपिकका निर्देशक प्रोफेसर दाय योङ जङले एसएनईका लागि पूर्वाञ्चल विश्वविद्यालयसित सहकार्यको तयारी गरेको जानकारी दिए । ‘नेपालमा विशेष आवश्यकता शिक्षाको दिगो विकासका निम्ति कोरियन सरकारका तर्फबाट सहकार्य गर्न तयार छौं,’ उनले भने । उनले लुपिक परियोजना–२ का रूपमा सहकार्य गर्ने नीति रहेको बताए । ‘कोरियाले विशेष आवश्यकता शिक्षाका आर्थिकमात्र नभई स्रोत, सन्दर्भ सामग्रीसमेत उपलब्ध गराउनेछ,’ उनले भने ।


त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत बहुअपांगता शिक्षासम्बन्धी स्नातक (बीएड) र स्नातकोत्तर (एमएड) तहमा पठनपाठन चलिरहेको छ । सरकारले उक्त विषयमा स्नातक र स्नातकोत्तर हासिल गर्नेलाई ‘विशेष शिक्षा शिक्षक’ का रूपमा खटाउने नीति लिएको छ ।


उक्त विषयमा त्रिविका पाँच जना उपप्राध्यापकले कोरियाकै छाङओन नेसनल युनिभर्सिटीबाट भर्खरै विद्यावारिधि गरेको शिक्षाशास्त्र संकायका डिन कृष्णप्रसाद गौतमले जानकारी दिए । ‘विशेष आवश्यकता शिक्षामा पर्याप्त जनशक्ति रहेकाले यसलाई त्रिविमा तत्कालै एमफिल कक्षा चलाउन सकिने निष्कर्षमा पुगेका छौं,’ डिन गौतमले भने, ‘विषयविज्ञ समूहले विशेष आवश्यकता शिक्षा विषयको एमफिलको पाठ्यक्रमको खाका निर्माण भएको छ । पाठ्यक्रमलाई फ्याकल्टी बोर्डले पास गर्न बाँकी छ ।’


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहमा एसएनई सञ्चालन तयारी गरेको उपकुलपति भूषण श्रेष्ठले बताइन् । छाङओन नेसनल युनिभर्सिटी र नेपालका तीन विश्वविद्यालयबीच थप सहकार्यका निम्ति काठमाडौंमा एकदिने कार्यशालासमेत भएको छ ।


शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ७५ हजारभन्दा बढी अपांगता भएका बालबालिका विद्यालय भर्ना भएर पढेका छन् । देशभरिमा अपांगता भएका बालबालिकालाई पढाउने ३४ विद्यालय छन् । तर विषयगत रूपमा स्थायी शिक्षक दरबन्दी सिर्जना हुन सकेको छैन । शिक्षा मन्त्रालयले विशेष शिक्षा पढेकालाई ‘विशेष शिक्षक लाइसेन्स’ व्यवस्था गर्न पहल अघि बढाएको जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?