निगमको सञ्चालन घाटा ९ करोड

सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋण ४० अर्ब १३ करोड रूपैयाँ पुगेको छ ।
सुरज कुँवर

काठमाडौँ — सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानि) ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ । 

आर्थिक वर्ष ०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष ०७३/०७४ मा भने निगमले २४ करोड २६ लाख रुपैयाँसञ्चालन नाफा गरेको थियो ।

आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले ०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड नाघ्ने जनाएको छ । निगमले ०७४/७५ मा यात्रु सेवाको व्यापार (टिकट) बाट मात्रै ४ अर्ब ७० करोड आम्दानी गरेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा १४ करोड बढी थियो ।

यात्रु, कार्गो, एक्स्ट्रा ब्यागेज, चार्टर उडान, बिमा, इन्टरलाइन कमिसन, एयरक्राफ्ट ह्यान्डलिङलगायत हवाईजहाज सेवासँग सम्बन्धित सञ्चालनबाट मात्रै निगमले १० अर्ब ७८ करोड आम्दानी गरेको थियो । यो रकममा निगमले काठमाडौंमा २ दर्जनभन्दा बढी स्वदेशी/विदेशी एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ (भूमीस्थ सेवा व्यापार) सेवासहितको आम्दानी समेटिएको छ । ग्राउन्ड ह्यान्डलिङतर्फ निगमले ४ अर्ब ५ करोड आम्दानी गरेको थियो ।

ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानी घटाउने हो भने निगमको सञ्चालन घाटा मात्रै कम्तीमा ४ अर्ब १४ करोड पुग्छ । ‘ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीले भरथेग गरेको छ, सरकारले निगमको एकाधिकार तोडेर सेवामा प्रतिस्पर्धा गराउने नीति लिए निगम बन्द हुन्छ,’ निगमका एक निर्देशकले भने । चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमले ०७४ साउन १ देखि ०७५ असार ३२ सम्म अन्तर्राष्ट्रिय हवाई सेवातर्फ टिकटसहितको ६ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

आन्तरिक उडानका लागि ९ वटा विमान भएको निगमले घरेलु मैदानमा भने ३७ करोड ७५ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीको दाँजोमा आन्तरिक उडानतर्फको आम्दानी ६ प्रतिशत मात्रै हो । आन्तरिकतर्फको आम्दानी घटदै गएको निगमको अर्थ विभागको भनाइ छ । २६ वटा सेक्टरमा उडान अनुमति लिएको निगमले सबै सेक्टरमा नियमित उडान गर्दैन । आन्तरिक उडानका लागि नौवटा जहाज भए पनि नियमित उडानमा ४ वटाहाराहारी मात्रै हुने गरेका छन् ।

निगमले एक वर्षमा पाइलटहरूको तलब, भत्ता, तालिम, अनुमतिपत्र नवीकरण, रात्रि उडान सञ्चालनलगायतमा ३ अर्ब ९८ करोड रुपैयाँ खर्चिएको छ । हाल निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि ९२ जनाको हाराहारी पाइलट र १ सय६८ हाराहारी क्याबिन क्रु छन् ।

इन्जिनियरिङतर्फ जहाज मर्मतसम्भार लगायतमा ९६ करोड ९६ लाख खर्च छ । यसमा इन्जिनियर तथा प्राविधिकको १७ करोड तबलबाहेक जहाज मर्मत तथा स्पेयर्स पार्ट्सलगायत खर्च मात्रै ७९ करोड६५ लाख पुगेको छ ।

यो अघिल्लो आवको तुलनामा २८ करोड बढी हो । २४ अर्ब ऋण लगानीमा गत वर्ष मात्रै ल्याइएका दुई वाइडबडीको खर्च र आम्दानी यो हिसाबमा समेटिएको छैन ।निगमले चालु आवसम्म सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋणको आकार ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसको ०७५/०७६ को प्रक्षेपित सञ्चित घाटा ५ अर्ब २१करोड नाघिसकेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वनस्पतिको बीउ बैंक

गोविन्द पोखरेल

काठमाडौँ — गोदावरीमा बीउ बैंक (सिड बैंक) स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । वनस्पति विभागको सहयोगमा राष्ट्रिय वनस्पति उद्यानले वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न र प्रकृतिबाट वनस्पतिहरू लोप हुन नदिन सिड बैंक बनाउँदै छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि कार्यालयले खाद्य सुरक्षा र रैथाने बाली संरक्षण गर्न सिड बैंक स्थापना गरेका छन् । मुलुकका वनस्पति संरक्षणका लागि भने पहिलोपटक सिड बैंक स्थापना गर्न लागिएको हो । त्यसका लागि अहिले पूर्वाधार निर्माणका काम धमाधम भइरहेको उद्यान प्रमुख दीपक लामिछानेले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा सिड बैंकका लागि चाहिने तापक्रम नियन्त्रण यन्त्र जडान गरिएको छ । चालु आवमा आद्रता नियन्त्रण गर्ने यन्त्र जडान हुँदै छ । आद्रता र तापक्रम यन्त्र जडान भएपछि सिड बैंक पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

उद्यान कार्यालय परिसरमा विभिन्न ४ सय प्रजातिका वनस्पतिका बीउ सुरक्षित गरिएको छ । खास भौगोलिक क्षेत्रमा पाइने प्रजाति (इन्डेमिक) प्रजातिका वनस्पतिका बीउलाई अस्थायी रूपमा फ्रिजमा राखेर संरक्षण गरिँदै छ ।

के हो सिड बैंक ?
सिड बैंक एक प्रकारको पर स्थानीय संरक्षण विधि (एक्स सीटु कन्जर्भेसन) हो । वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न यो प्रभावकारी हुन्छ । यसले दुर्लभ, लोपोन्मुख, रैथाने र बहुउपयोगी वनस्पतिको संरक्षणमा सघाउँछ ।

वनस्पतिको जिन संरक्षण र मानवीय कारणबाट वनस्पति लोप सक्ने खतराबाट जोगिन सिड बैंकको आवश्यक हुने केन्द्रीय वनस्पति विज्ञान क्याम्पसका उपप्राध्यापक नारायण घिमिरेले बताए । जलवायु परिवर्तनका कारण वनस्पतिको प्राकृतिक बासस्थान मासिने खतरा हुने र त्यसबाट बच्न पनि सिड बैंक चाहिने उनको भनाइ छ । वनस्पतिहरूका बीउ संरक्षण गरी राखिने भएकाले वनस्पति/बिरुवा लोप भए पनि पुनरुत्पादन गर्न यसले सघाउने उनको भनाइ छ ।

रैथाने वनस्पतिमा रोग प्रतिरोधात्मक क्षमता पनि हुने र उनीहरूमा खडेरीसँग लड्ने क्षमता पनि भएकाले सिड बैंक आवश्यक रहने त्रिवि केन्द्रीय वातवरण विज्ञानका उपप्राध्यापक एवं जैविक विविधता विज्ञ मनकुमार धमलाले बताए । जलवायु परिवर्तनका कारण वनस्पति लोप हुने खतरबाट बच्न पनि सिड बैंकउपयोगी हुने उनको भनाइ छ । यो आनुवंशिक विविधता तथा आनुवंशिकी क्षेत्रकाअनुसन्धातालाई पनि उपयोगी मानिन्छ ।

यसरी संकलन गरिँदै छ बीउ
उद्यानले बीउ संकलन थालिसकेको छ । पहिलो चरणमा उद्यान परिसरमा रहेका विभिन्न प्रजातिका वनस्पतिको बीउ संकलन गरेर अस्थायी रूपमा राखिएको छ । दोस्रो चरणअन्तर्गत नेपालका रैथाने र लोप हुन सक्ने वनस्पतिका बीउ संकलन गरिनेछ । यसका लागि उद्यानले तीन–तीन महिनामा कर्मचारी खटाउनेछ ।

कर्मचारीले मुलुकका विभिन्न क्षेत्रबाट वनस्पतिका बीउ संकलन गर्ने कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । कृषि क्षेत्रमा पनि रैथाने बाली जोगाउन बीउ सुरक्षित राख्न पनि सिड बैंक स्थापना गरिन्छ । यसलाई बीउहरूको ‘लाइब्रेरी’ का रूपमा पनि लिइन्छ ।

यसरी सुरक्षित राखिन्छ बीउ
संकलित बीउलाई सुक्खा बनाइन्छ । चिसो अवस्थामै राख्दा त्यसमा फंगस (ढुसी) लाग्ने भएकाले सुक्खा बनाउने गरिएको लामिछानेले बताए । यसरी संकलित बीउ ५० देखि सय वर्षसम्म सुरक्षित राख्न सकिनेउनको भनाइ छ ।

भण्डारण कक्षको तापक्रम माइनस १८ देखि २० डिग्री सेल्सियस र ३५ देखि ४५ प्रतिशत सापेक्षिक आद्रता (रिलेटिभ ह्युमिडिटी) हुँदा बीउ धेरै वर्षसम्म जोगाउन सकिन्छ । साथै ४ देखि १० डिग्री सेल्सियस तापक्रम र आद्रता ३५ देखि ४५ प्रतिशत कायम भए २० वर्षसम्म बीउ संरक्षण गर्न सकिने उनी बताउँछन् । उद्यानले निर्माण गरिरहेको सिड बैंक भने मध्यम किसिमको हो ।

यसले बीउलाई निश्चित वातावरण दिन्छ । र, लामो समयसम्म प्राकृतिक अवस्थामा राख्न सघाउँछ । यस्ता बीउको पुनरुत्पादन क्षमता जस्ताको तस्तै रहने विज्ञहरूको भनाइ छ । उद्यानमा ४ सय प्रजातिका वनस्पतिका बीउ राखिएको छ । तिनलाई फ्रिजमा निश्चित तापक्रममा राखेर संरक्षण गरिएको छ ।

सिड बैंकमार्फत कम्तीमा १ हजार प्रजातिका वनस्पतिका बीउ राख्ने उद्यानको लक्ष्य छ । त्यसमा शोभनीय (अर्नामेन्टल), रैथाने, लोप हुन सक्ने, लोपोन्मुख, खतरामा रहेका, अति महत्त्वपूर्ण वनस्पति र जडीबुटीका बीउ रहनेछन् । उद्यानले पहिलो चरणमा लोप हुने अवस्थामा पुगेका र नेपालमा मात्र पाइने वनस्पतिका बीउसंकलन गरिरहेको छ ।
सिड बैंकको पूर्वाधारअन्तर्गत अहिले नयाँ भवनमा ‘टेम्प्रेचर कन्ट्रोल’ का काम भइरहेको छ । तापक्रम र सापेक्षित आर्द्रता देखाउने थर्मो (हाइग्रोमिटर जडान गर्ने काम पनि सकिएको छ । भण्डारण कक्षको वातावरणअनुकूल बनेपछि यहाँ स्थायी रूपमा बीउ राखिने लामिछानेले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT