कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी खोल्न २ साता लाग्ने

गत वर्ष खसेको पहिरोले बडिगाड खोला थुनिएर बनेको तुरतुरे ताल फुटेपछि २ सय मिटर राजमार्ग बगाएको छ
प्रकाश बराल

बागलुङ — गत आइतबार बडिगाड खोलाले बगाएको मध्यपहाडी लोकमार्ग तत्काल खुलाउन नसकिने भएको छ । राजमार्ग खुलाउने विकल्पको खोजी भइरहेको र सामान्य परिस्थिति भएमा १५ दिनमा खुलाउन सकिने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । पहरो फोड्न सके १५ दिनमा एकतर्फी सडक खुलाउन सकिने प्राविधिकले बताएको उनले जानकारी दिए । 

मध्यपहाडी खोल्न २ साता लाग्ने

गत वर्ष खसेको पहिरोले थुनिएको बडिगाड खोलाले बनाएको तुरतुरे ताल फुटेपछि यहाँको २ सय मिटर राजमार्ग बगाएको हो । त्यहाँ पहरा फोड्नुपरेको अवस्था छ । लोकमार्गको बागलुङका अधिकांश स्थान निर्माणाधीन छ । गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ ।


सदरमुकाम, राजधानी र बुटवलदेखि आएका दर्जनौं सवारीसाधन भीमगिठे बजारमै रोकिएपछि यात्रु पैदलयात्रा गर्न बाध्य छन् । दुई साताअघि नै यहाँको सडकको दुई ठाउँमा पहिरो खसेको थियो ।


‘सामान्य मर्मत गर्न सकिन्छ कि भनेर आएका थियौं, सबै बगाएपछि अन्योलमा परियो,’ मध्यपहाडी लोकमार्ग आयोजनाको बागलुङ खण्ड हेर्ने इन्जिनियर किरण श्रेष्ठले भने, ‘जतिसक्यो छिटो डाइभर्सन बनाउन खोजेका छौं ।’ ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको समन्वयमा छोटो र छिटो मार्ग खुलाउन दुवैतर्फबाट एस्काभेटर प्रयोग गर्न थालेको उनले सुनाए ।


पहरो भएकाले सोचेजस्तो काम नभएको जनप्रतिनिधिले बताए । ‘जनतालाई राहत दिनका लागि तत्कालै पहल भएको छ, तर पहरा भएकाले सास्ती छ,’ बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘विकल्पको बाटो बनाउन आयोजना मान्दैन ।’ आयोजनाले हालकै ट्र्याक आसपासमा मात्र खन्ने भनेको उनले बताए ।


विकल्पको बाटो दिँदा ३ किमि नयाँ ट्र्याक खोलेर सडक जोड्न सकिने पाइजा बताउँछन् । इन्जिनियर श्रेष्ठले भने पाइजाले देखाएको ट्र्याक खोल्दा राजमार्गको अन्य खण्ड पनि जोखिम हुने बताए । ‘त्यो ट्र्याक खोल्दा जिप मात्र चलाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘पहिरो खसेर थप जोखिम निम्तन्छ ।’ तत्काल ट्र्याक खोल्न नसके तीनवटै तहमा दैनिक उपभोग्य सामग्री र खाद्यान्नको समस्या पर्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।


अहिले पैदलयात्रीले दुई घण्टा घुमाउरो बाटो यात्रा गरिरहेका छन् । गत वर्ष खसेको पहिरो झन्डै ५ सय मिटर लामो खण्ड अझै जोखिममै परेको छ । गत वर्ष पनि यहाँ एक महिनासम्म राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?