कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवन नगरकी ४३ वर्षीया उषादेवी रौनियार शुक्रबार बिहानदेखि बेहोस छिन् । बेहोसीमै उनी छोरा, छोरी, जेठानी र जेठाजुको नाम लिएर बर्बराउँछिन् । उनका आँखाबाट आँसु थामिएको छैन । पति चन्देश्वरप्रसाद रौनियारको अवस्था उस्तै छ । आफूलाई केही सम्हालिएको जस्तो देखाउँछन् तर छिनमै आँखा रसाइहाल्छ । 

त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार


सदरमुकाम मलंगवाबाट काठमाडौंका लागि छुटेको ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस शुक्रबार बिहान धादिङस्थित त्रिशूलीमा खस्दा चन्देश्वरका दाइ राजनारायण, भाउजु शोभा र छोरा शौरभ बेपत्ता छन् । छोरी श्वेताको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनाको खबर सुनेपछि रौनियार परिवारमा भुइँचालो गएको छ । परिवारको अन्य सदस्य विक्षिप्त छन् ।

४० वर्षदेखि राजनारायण काठमाडौंमा व्यापार गरेर बस्दै आएका थिए । उनले भतिज शौरभ र भतिजी श्वेतालाई सँगै राखेर पढाइरहेका थिए । शौरभ काकाको घरमा बसेर मेडिकलको तयारी गरिरहेका थिए भने श्वेताले भर्खरै कक्षा १२ पास गरेकी थिइन् । उनीहरू साउनी घडी पर्व मान्न मंगलबार मात्र घर आएका थिए । बुधबारको पर्व सकाएर बिहीबार रात्रिबस चढेका थिए ।

शौरभ र श्वेता एक–दुई दिन घरै बस्ने मनस्थितिमा थिए । काका–काकी काठमाडौं फर्किने भएपछि सँगै निस्किएका थिए । सानैदेखि काठमाडौंमा पढेका शौरभ जेहेन्दार विद्यार्थी थिए । उनले मेडिकल पढेर समाजमा सेवा गर्ने सोच बनाएका थिए । ‘मेरो बच्चाहरू सानैदेखि जेहेन्दार थिए’, गहभरि आँसु पार्दै चन्देश्वरले भने, ‘छोराले मेडिकल पढेर समाज सेवा गर्छु भनेको थियो । यस्तो विपत्ति आइलाग्यो ।’ घटनापछि उनको घरमा आफन्त र गाउँलेको भीड छ ।

बसमा सवार ४२ यात्रु र ३ कर्मचारीको परिवारमा पनि रुवावासी छ । बसमा सवार यात्रु जिल्लाका विभिन्न ठाउँका छन् । दुर्घटनाको खबर सुनेलगत्तै सदरमुकाम मलंगवास्थित बस काउन्टरमा यात्रुका आफन्तको भिड लागेको थियो । मृत्यु भएका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भए पनि ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?