कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवा निकालेको खाल्डोमा डुबेर २ युवकको मृत्यु भएपछि स्थानीयद्वारा स्काभेटरमा आगजनी

हरिहरसिंह राठौर

दरियालखोला(धादिङ) — बालुवा निकालेको खाल्डोमा डुबेर स्थानीय २ जना युवकको मृत्यु भएपछि स्थानीयवासीले स्काभेटर जलाएका छन् । गजुरी-६ दरियाल खोलामा बालुवा व्यापारीहरुले बालुवा झिक्दा खनेका गहिरो खाल्डोमा डुबेर गजुरी ७ भस्मेडाँडाका २१ वर्षीय भिम तामाङ र २३ वर्षीय सुमन स्याङताङको मृत्यु भएको थियो । 

बालुवा निकालेको खाल्डोमा डुबेर २ युवकको मृत्यु भएपछि स्थानीयद्वारा स्काभेटरमा आगजनी

दरियाल खोलामा थुन्सेमा बालुवा बोकेर गुजारा गर्ने स्थानीय ३ जना मजदुरहरु शनिबार बिहान खोला छेकेर स्काभेटरले खनेको खाल्डोमा डुबेका थिए । उनीहरुसँगै डुब्न थालेका २१ वर्षीय विक्रम स्याङताङलाई किनारमा बसेका भतिजा स्तिाराम तामाङले लौरी दिएर तान्न सफल भएका थिए । ‘मैले काका विक्रमलाई तान्दा तान्दै भिम र सुमन डुबिसकेछन्’ सीतारामले भने ।


यस अघि नै ३ जना विद्यार्थीहरु र एक हल गोरु खाल्डोबाट उद्धार गरिसकेका स्थानीयहरुले यस्तै दुर्घटनाको आशंकामा खोलामा डोजर/स्काभेटर लगायतका उपकरणहरु पस्न नदिन प्रशाासन घेराउ पनि गरेका थिए । ‘प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएर पनि बालुवा झिक्न खोलामा डोजर लगायतका उपकरणहरु पस्न छोडेका थिएनन् । नतिजा यस्तो दर्दनाक देखियो’ स्थानीय स्यामेडाँडाकी विमला चेपाङले भनिन् ।


शनिबार बिहान घटना लगत्तै गजुरीस्थित प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको नेतृत्वमा प्रहरीले रोक्दा रौक्दै आक्रोशित आफन्तजनहरुले बगरमा राखिएका ३ वटा स्काभेटरमा आगजनी गरेका हुन् । आगजनी गरिएका उपरकणहरुको नम्बर छैन । स्थानीयवासीका अनुसार आगजनी गरिएका मेसिनहरु टंक पाण्डे, महेश रिजाल र अन्य स्थानीय निकायका पदाधिकारीहरुको हो ।


अपरान्ह २ बजे मृतकको शव खाल्डोबाट निकालिएको थियो । प्रहरीले मुचुल्का गरेपनि हस्ताक्षर कसैले पनि गर्न मानेनन् । स्थानीयवासी र मृतकका आफन्तजनहरुले ठेक्का लगाउने गाउँपालिका अध्यक्ष, खोला दोहन रोक्न नसक्ने स्थानीय प्रशासन र प्रहरी घटनास्थलमै आएर अध्ययन नगरेसम्म शव पनि उठाउन नदिने र मृतकमा परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, खोलानालाको दोहन रोक्नुपर्ने लगायतका माग राखेका छन् ।


प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारसहितको टोली समस्या समाधान गर्न गजुरीस्थित ईलाका प्रहरी कार्यालयमा बसेको छ । मृतकका आफन्तजनहरुलाई प्रहरी चौकीमै बोलाएर समस्या समाधान गर्न खोजेपनि आफन्तहरुले शव पनि उठाउन नदिने र घटनास्थलमै वार्ता हुनुपर्ने माग राखेका छन् ।


त्रिशूली नदी र स्थानीय खोलाका खाल्डामा परेर विगतका ५ वर्षमा डोजर चालक, स्कुले विद्यार्थी, गर्मीयाममा नुहाउने युवाहरु, त्रिशूली किनारमा पिकनिक आएका विद्यार्थीहरु समेत गरी ४९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?