कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूरा भयो कमलरीको आफ्नै घरको सपना

दुर्गालाल केसी

दाङ — ‘हाम्रो सानो घर होला, फराकिलो मन होला’ । आनन्द कार्की र स्नेहा पन्तले गाएको यो गीतले भनेझैं सुनिता चौधरीको मन पनि आइतबारदेखि फराकिलो भएको छ । मुक्त कमलरी विकास मञ्चको अध्यक्ष भएदेखि उनको सपना थियो, आफ्नै साझा घर बनाउने ।

पूरा भयो कमलरीको आफ्नै घरको सपना

दुःख गरी बचाएको पैसाले घडेरी किन्दा कुनै दिन यसमा आफ्नै घर देख्ने रहर पलाएको थियो । एक वर्षअघि घरको जग हाल्दा आर्थिक अभावको चिन्ता थियो । त्यसकारण उनीहरूले घर निर्माणमा सहयोग गर्न सार्वजनिक आह्वान गरे । सहयोग गर्नेको नाम शिलालेखमा राख्ने घोषणा गरे ।


सामान्य घर बनाउने सपना देखेका मुक्त कमलरीले एक वर्षमा सोचेभन्दा ठूलो र राम्रो घर बनाउन पाए । पूर्वकमलरी तथा नेकपा सचेतक शान्ता चौधरीले भवनको शिलान्यास गर्दा घर पूरा गर्ने उपायबारे सोच्न थालिन् । काठमाडौं पुगेपछि सम्भावित बजेटको खोजी गरिन् । अन्ततः बजेटको शीर्षक फेला पारिन् र पर्याप्त रकम उपलब्ध गराइदिइन् । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमबाट प्राप्त ८० लाख रुपैयाँमा मुक्त कमलरीले आफ्नो श्रमदान र नगद थपी ९७ लाख २७ हजार ७१ रुपैयाँमा तीनतले भवन तयार पारेको निर्माण समिति सचिव सुशीला चौधरीले बताइन् ।


दाङको घोराहीमा निर्मित मुक्त कमलरी विकास मञ्चको भवन । तस्बिर: दुर्गालाल/कान्तिपुर

घोराही उपमहानगरपालिका–१७, चौघेरामा निर्माण भएको भवनको आइतबार धुमधामका साथ उद्घाटन गर्दा मुक्त कमलरीका अनुहारमा निकै खुसी छाएको थियो । हरेकका अनुहारमा मुस्कान थियो । आशा र उत्साह पलाएको थियो । उनीहरूले नाचगान गरेर खुसी साटे । ‘यो हाम्रो साझा घर भएको छ । अब यसलाई स्रोत केन्द्रका रूपमा विकास गरेर अघि बढ्छौं,’ मञ्चकी अध्यक्ष सुनिताले भनिन्, ‘यो घरलाई बहुउपयोगी बनाउँछौं । सबै मुक्त कमलरीले विभिन्न सिर्जनशील काम गरेर आम्दानी गर्नेछौँ । आम्दानीबाट दुःखी, असहाय महिला र बालबालिकालाई सहयोग गर्छौं ।’


लामो आन्दोलन र संघर्षपछि मुक्त कमलरीलाई धेरै उपलब्धि प्राप्त भएको नेकपा सचेतक शान्ताले बताइन् । ‘मुक्त कमलरीको भवन ठडयाउने रहर थियो, आज यो पूरा भएको छ । हाम्रो पनि बास छ भन्ने भएको छ । सबैको संरक्षणको थलो बनेको छ,’ उनले भनिन्, ‘सरकारले हाम्रा लागि गर्‍यो । अब हामीले हाम्रा लागि गर्ने समय आएको छ । हाम्रासामु धेरै अवसर छन् । त्यसको उपयोग गर्दै आत्मनिर्भर बन्नुपर्छ ।’


कानुनी रूपमा कमलरी प्रथा अन्त्य भएकाले अब व्यावहारिक रूपमा पनि यसको कडा कार्यान्वयन हुन आवश्यक रहेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘अब कतै पनि कमलरी भेटिनु हुँदैन । कानुनले दिएको अधिकार उपयोग गर्ने बेला आएको छ,’ उनले भने, ‘भवनको अत्यधिक उपयोग गरौं । हामीले श्रम गर्न जानेका छौं । यसलाई आय आर्जनसँग जोडेर काम गरौं ।’


भवन सञ्चालन कार्यविधि निर्माण गरेर काम थालेको मञ्चकी उपाध्यक्ष दिलकुमारी चौधरीले बताइन् । भवनमा विभिन्न आवासीय तालिम सञ्चालन गरेर आत्मनिर्भरका उपाय खोजिने उनले बताइन् । ‘माथिल्लो तलालाई कार्यालयका रूपमा प्रयोग गर्छौं । पहिलो र दोस्रो तला स्रोत केन्द्रका रूपमा उपयोग हुनेछ,’ उनले भनिन्, ‘आवासको व्यवस्था पनि यहीं हुनेछ । आम्दानीको ५० प्रतिशत भवन व्यवस्थापनमा खर्च हुन्छ । ५० प्रतिशतबाट एक कोष बनाई अप्ठ्यारोमा परेकालाई सहयोग गर्छौं ।’


दाङको घोराहीमा घर बनेको खुसीयालीमा नाचगान गर्दै मुक्त कमलरी । तस्बिर: दुर्गालाल/कान्तिपुर

भवन निर्माण हुँदा कमलरी मुक्ति अभियानको एउटा अभियान पूरा भएको महसुस भएको मञ्चकी संस्थापक अध्यक्ष मन्जिता चौधरीले बताइन् । ‘आफ्नै घरमा बसेर कमलरी सशक्तीकरणका काम गर्ने सपना थियो, त्यो आज पूरा भएको छ,’ उनले भनिन्, ‘अझै धेरै सपना छन् । ती सबै पूरा गर्न हामी एकजुट भएर लाग्नुपर्छ ।’


आफ्नो जमिन नहुनुको पीडा बोकिरहेका कमलरी बालिकाहरूले मुक्त भएपछि आर्थिक स्तर सुधारमा जोड दिएका छन् । यसका लागि पश्चिम तराईका पाँच जिल्लामा ४३ सहकारी स्थापना भएको र यसमा ९ करोड ५० लाख रकम परिचालन भएको कमलरी मुक्ति अभियानमा क्रियाशील नेपाल युथ फाउन्डेसनका कार्यकारी निर्देशक राजु धमलाले बताए । ‘कुनै बेला आर्थिक अभावमा कमलरी बस्नुपर्थ्यो । अहिले सबै आय आर्जनमा लागेका छन्,’ उनले भने, ‘धेरैले व्यावसायिक तालिम लिएर आफ्नो उद्यम गरिरहेका छन् । सहकारीबाट ऋण लिएर व्यवसाय गर्नेहरू पनि धेरै छन् ।’ नयाँ भवनलाई कमलरी मुक्ति र कुरीति अन्त्यको शक्तिकेन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उनले बताए ।


विभिन्न कार्यक्रमको खर्च बचाउँदै, नास्ता खर्च संकलन गर्दै, विभिन्न संघसंस्थालाई सहयोग माग्दै र सहकारीबाट घुम्ती कोष परिचालन गर्दै मुक्त कमलरीले आफ्नो घर बनाउने काम थालेका थिए । १ सय ७४ वर्गमिटर जग्गा खरिद गरेर भवन निर्माण थालिएको थियो । मञ्चमा हाल ९ हजार ६ सय ६१ सदस्य छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा मन्चका शाखा छन् ।


सबै जिल्लामा मुक्त कमलरी एकजुट भएर कमलरी मुक्तिका साथै नयाँ जीवनका सम्भावनाबारे नियमित छलफल र गतिविधि गर्ने गरेका छन् । नियमित बैठक, सीपमूलक तालिम र जागरण अभियान संचालनका लागि भवन आवश्यक परेको मुक्त कमलरी विष्णु चौधरीले बताइन् ।

प्रकाशित : श्रावण २६, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?