कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० युवा प्रतिभालाई सम्मान

रासस

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा  विभिन्न युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘राष्ट्रिय  युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत १० जना युवालाई सम्मान गरेका हुन् । 

१० युवा प्रतिभालाई सम्मान

सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ तेह्रथुमका गणेशविक्रम सिंह आले र जुम्लाका यज्ञप्रसाद देवकोटा रहेका छन् । दुवै जनालाई जनही ५० हजार नगद राशीसहित सम्मान गरिएको हो । नेपालमा नै बम डिस्पोजल गर्ने रोबर्ट निर्माण गरेको र विभिन्न किसिमका ड्रोन निर्माण तथा अनुसन्धान गरेको भन्दै उनीहरुलाई सो सम्मान गरिएको हो । आले र देवकोटाले बनाएको डिस्पोजल गर्ने रोबर्ट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले प्रयोग गर्दै आएको छ ।


यसैगरी विज्ञान प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत दाङका मार्शल रोका र कैलालीका सुमन पौडेललाई पनि जनही एक लाख नगद राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । रोकालाई सल्लाको खोटोबाट इन्धन उत्पादन, स्वचालित पानी तान्ने मेशिन निर्माण र कुखुराको मलबाट उत्पन्न गन्ध कम गर्ने रसायन उत्पादन तथा पौडेलले चालक निदाउँदा आफैँ ब्रेक लाग्ने यन्त्र निर्माण र कैलालीमा निजी पहलमा विज्ञान संग्रहालय स्थापना गरेको भन्दै उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।


यस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई प्रतिघण्टा १० मिनेटका दरले लोकसेवा आयोगको परीक्षामा समय थप गर्न पहल गरेकाले नेत्रहीन युवा संघ नेपाललाई शिक्षातर्फको १ लाख राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । यसैगरी इप्सा नेपाल, काठमाडौँलाई रोजगारी उद्यमशीलता सम्मान प्रदान गरिएको छ । एक लाख नगदसहित अपांगता भएका व्यक्ति एवं एकल महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार र स्वरोजगार प्रदान गरेको भन्दै सो सम्मान गरिएको हो ।


यसैगरी स्वजन रघुवंशी, ललितपुरलाई कलासंस्कृति सम्मानबाट सम्मानित गरिएको छ । कार्तिक नाचलगायत प्राचीन सांस्कृतिक नाचको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको तथा ८ वटा विधामा एकल नृत्य प्रस्तुत गरेको भन्दै उनलाई रु एक लाख नगदसहित सम्मान गरिएको हो ।


त्यस्तै अल्लोको सामग्री उत्पादन र ६ भन्दा बढी मुलुकमा निर्यात गरेको भन्दै उद्यमशीलता सम्मानबाट ललितपुरकी माला थापा मगर सम्मानित भएकी छन् । टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेको भन्दै बर्दियाका टोपलाल विकलाई कृषि सम्मान, रक्तदान कार्यक्रम निरन्तर सञ्चालन र किशोरीका लागि आत्मरक्षाका तालिम दिएको भन्दै पर्साका राजनकुमार श्रीवास्तव सम्मान प्रदान गरिएको छ । २ हजारभन्दा बढी युवालाई निःशुल्क तथा सःशुल्क ब्युटिसियन तालिम प्रदान गरी स्वरोजगार बनाएकी नवलपुरकी एकल महिला उद्यमी सृजना सोतीपनि सम्मानित भएकी छन् ।

प्रकाशित : श्रावण २७, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?