कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘न्यायको आस मरेको छैन’

ज्योति कटुवाल

दैलेख — छोरा डेकेन्द्रराज थापाको स्मृतिमा सोमबार घरनजिकै भइरहेको कार्यक्रम बाल्कोनीबाट हेर्दा गंगामाया एकाएक भावुक बनिन् । सँगै छोराको हत्यारालाई सरकारले पक्राउ गरेर कारबाही गर्न नसकेको गुनासो पनि गरिन् । ‘हत्या गर्नेमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउँथ्यो,’ उनले भनिन्, ‘न्याय पाउने आशा मरेको छैन ।’

‘न्यायको आस मरेको छैन’

सरकारसँग ठोस प्रमाण र सबुत हुँदा पनि हत्यारा पक्राउ गर्न बेवास्ता गरिरहेको उनको आरोप छ । उनले न्यायका लागि लामो समयदेखि भौतारिरहेको बताइन् । छोराका हत्यारामाथि कारबाही भएको देख्ने ठूलो धोको रहेको उनले सुनाइन् ।


पत्रकार डेकेन्द्रका कान्छा भाइ यज्ञराजले जिल्ला अदालतले २०७१ मंसिर २१ गते हत्यारा पक्राउको फैसला गरे पनि प्रहरीले चासो नदेखाएको गुनासो गरे । हत्यामा संलग्न भनिएका ४ जना फरार रहेको भनिए पनि स्थानीय प्रशासनले खोजीमा बेवास्ता गरिरहेको उनको आरोप छ । ‘हत्यारामाथि राजनीतिक संरक्षण हुँदा हामी थप पीडामा परेका छौं, पटकपटक प्रहरी/प्रशासनलाई हत्याराको घर देखाउँदासमेत बेवास्ता गरियो,’ उनले भने, ‘हामीलाई न्याय चाहियो अरू केही चाहिएन ।’ जिल्लामा आउने सबै सुरक्षा अधिकारीले सुरुमा हत्यारा पक्राउ गर्ने बचन दिए पनि पछि माथिको आदेश नभएको भन्दै पन्छिने गरेको उनी बताउँछन् ।


तत्कालीन माओवादी कार्यकर्ताद्वारा हत्या भएलगत्तै आन्दोलन छेडेका स्थानीय पत्रकारसमेत सुस्ताएको परिवारको गुनासो छ । तर हत्यारालाई कानुनी कठघरामा नभ्याएसम्म न्यायको लडाइँ जारी राख्ने स्थानीय सञ्चारकर्मी बताउँछन् । सञ्चारकर्मी विष्णु शर्माले न्यायालयले फरार सूचीमा राखेका व्यक्ति खुलेआम हिँड्डुल गर्दासमेत स्थानीय प्रशासनले पक्राउ गर्न नसकेको आरोप लगाए । ‘किन ती व्यक्तिको खोजीमा सरकारको ध्यान गएन ?’ उनले भने, ‘डेकेन्द्रका हत्यारा पक्राउ गर्न सरकार गम्भीर नभए फेरि आन्दोलित हुन तयार छौं ।’


नेपाल पत्रकार महासंघ, दैलेखका अध्यक्ष चक्र केसीले उनको न्यायका लागि निरन्तर खबरदारी गरिरहेको बताए । ‘सरकारलाई ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भने, ‘हत्याको डेढ दशक बितिसक्दा पनि सरकार गम्भीर देखिएको छैन ।’


१५ वर्षअघि नौमुलेको द्वारीमा तत्कालीन माओवादी कार्यकर्ताले पत्रकार डेकेन्द्रराजलाई जिउँदै खाल्डोमा गाडेका थिए । २०६१ साउन २७ गते तत्कालीन माओवादीले विज्ञप्तिमार्फत हत्याको पुष्टि गरेको थियो । तत्कालीन माओवादीले बजारमा सञ्चालित खानेपानीको पाइपलाइन काटेपछि छलफल गर्न गएका बेला डेकेन्द्रराजले ज्यान गुमाएका थिए । २०६५ सालमा उनको शव उत्खनन गरिएको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?